+
+

त्रिविले किन रोक्यो विद्यार्थी स्थानान्तरण ?

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषदको गत फागुन २८ गतेको बैठकले सम्बन्धन प्राप्त कलेजबाट आंगिक क्याम्पसमा र आंगिकबाट सम्बन्धन प्राप्त निजी कलेजमा हुने विद्यार्थीहरुको स्थानान्तरण रोक्ने निर्णय गरेपछि आलोचना भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १६:४६

२७ चैत, काठमाडौं । पश्चिम रुकुम खोलागाउँकी मुना विएम दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बीबीएस भर्ना भइन् । शारीरिक रुपमा अशक्त उनी आमासँगै डेरामा बसेर पढ्दै आएकी थिइन् । आमा राजनीतिमा संलग्न भएकाले रुकुम फर्किइन् । मुना उनकी फुपूसँग बसेर पढ्न थालिन् । फुपू पनि काठमाडौं बस्न थालेपछि मुना एक्लै परिन् ।

एक्लै डेरामा बसेर पढ्न नसक्ने स्थिति नभएपछि मुनालाई उनका बुवा-आमाले रुकुम नै लगे । मुनाले चौरजहारीस्थित शीतल क्याम्पसमा क्लास लिन थालिन् । भर्ना दाङको घोराहीमा र पढाइ रुकुम पश्चिमको चौरजहारीमा जारी रह्यो । जसोतसो पहिलो वर्षको परीक्षा घोराहीमै गएर दिइन् ।

बीबीएस दोस्रो वर्षमा पुगेपछि उनले चौरजहारीमा क्याम्पस स्थानान्तरणको प्रक्रिया अघि बढाइन् । तर डिनको कार्यालयले उनले क्लास लिइरहेको शीतल क्याम्पस त्रिविको सम्बन्धन प्राप्त क्याम्पस भएको भन्दै स्थानान्तरणको अनुमति दिएन । चौरजहारीमा मात्र होइन, रुकुम पश्चिमभरी नै त्रिविको आंगिक क्याम्पस नभएकाले मुनालाई सुर्खेत वा दाङ झर्नुको विकल्प छैन ।

अब दाङ-रुकुम गर्दै पढाइ जारी राख्ने कि छाड्ने भन्ने चिन्ता मुनाका अभिभावकलाई छ । चौरजहारी नगरपालिकाकी उपमेयरसमेत रहेकी मुनाकी आमा इश्वरी बिएम भन्छिन्, ‘क्याम्पस स्थानान्तरणका लागि डिन कार्यालयको बैंक खातामा बुझाइसकेको पैसा पनि फिर्ताको प्रक्रिया अघि बढेको छ । छोरीको क्याम्पस स्थानान्तरण नहुँदा अप्ठ्यारो हुने भयो ।’

किन रोकियो स्थानान्तरण ?

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषदको गत फागुन २८ गतेको बैठकले सम्बन्धन प्राप्त कलेजबाट आंगिक क्याम्पसमा र आंगिकबाट सम्बन्धन प्राप्त निजी कलेजमा हुने विद्यार्थीहरुको स्थानान्तरण रोक्ने निर्णय गरेको छ ।

फागुन २५ गते त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्को बैठकले सिफारिस गरेअनुसार यस्तो निर्णय गरिएको प्राज्ञिक परिषदले जनाएको छ । त्रिविको यो निर्णयबाट स्थानान्तरण नगरी नहुने अवस्थाका विद्यार्थीहरु मर्कामा परेका छन् ।

प्रथम र अन्तिम वर्ष/सेमेष्टरमा स्थानान्तरण गर्न नपाउने तर आंगिक क्याम्पसहरुमा ऐच्छिक विषय छनौट र प्रयोगशालाको व्यवस्थापनका कारणले प्राविधिक समस्या उत्पन्न हुने भएमा अन्तिम वर्ष/सेमेष्टरमा स्थानान्तरण गर्न पाउने वा नपाउने सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार सम्बन्धित डीनलाई छ ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष शिवलाल भुषाल भने त्यसरी स्थानान्तरण हुने व्यवस्था नभएको तर भइरहेकाले समस्या देखिएपछि लिखित रुपमा निर्णय गर्नुपरेको बताउँछन् ।

आंगिक क्याम्पसबाट आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसबाट सम्बन्धन प्राप्त क्याम्पसमा मात्रै स्थानान्तरण गर्न पाइने छ । जुनसुकै अवस्थामा पनि आंगिक क्याम्पस बाहेक अन्य क्याम्पसहरुमा एउटै जिल्लाभित्र स्थानान्तरण गर्न नपाउने व्यवस्था छ । यस व्यवस्था बाहेक अन्य ढंगले भए गरेका सबै स्थानान्तरण र नियम विपरीत स्थानान्तरण भएका क्याम्पसबाट दिइएका परीक्षाहरु स्वतः रद्द हुनेछन् ।

त्रिवि व्यवस्थापन संकायका डीन प्रा.डा.डिल्लीराज शर्माले सम्बन्धन निजीबाट आंगिक र आंगिकबाट निजी सम्बन्धनमा जान पाउने व्यवस्थाले विद्यार्थी नियमित नभएको र सेमेष्टर प्रणालीको मर्म अनुसार विद्यार्थी नियमित नहुँदा समस्या भएकाले स्थानान्तरण रोक्ने निर्णय भएको बताउँछन् ।

उनको भनाइ अनुसार यसरी त्रिवि सम्बन्धन प्राप्त निजी कलेजबाट आंगिकमा र आंगिकबाट त्रिवि सम्बन्धन प्राप्त निजी कलेजमा जान पाउने व्यवस्था थिएन । बीचमा ल्याइएको यो सुविधाका कारण विद्यार्थी नियमित नहुने समस्या भएपछि फेरि नहुने निर्णय गरिएको बताउँछन् । उनी भन्छन्, ‘विद्यार्थीहरु नपढी पनि स्थानान्तरण भए, सेमेष्टरको नम्समा रहेन । हाजिरहरु पूरा नभएर भद्रगोल भएको गुनासो आएको आधारमा निर्णय भएको हो ।’

त्रिविको निर्णयको आलोचना

तर यो निर्णय सच्याउनुपर्ने त्रिवि स्ववियु अध्यक्ष श्यामराज ओझा बताउँछन् । उनी भन्छन् ‘त्रिवि सम्बन्धन निजी कलेजमा जान नपाउने ठिकै हो तर त्यहाँबाट आंगिकमा आउन चाहे आउन पाउने हुनुपर्छ ।’ त्रिवि सुधारको लागि भनेर गरिएको निर्णयमा त्रिवि सम्बन्धन कलेज अध्ययन गरिरहेका विद्यार्थीलाई आंगिक आउन रोक्न नहुने उनको तर्क छ ।

तर पछिल्लो समय सम्बन्धन प्राप्त निजी क्याम्पसहरुमा विद्यार्थी कम हुँदै गएकोले निजी क्याम्पसको प्रभावमा परेर निजीलाई फाइदा हुने किसिमले त्रिवि प्राज्ञिक परिषदले निर्णय गरेको एक विद्यार्थी बताउँछन् । त्रिवि सम्बन्धन निजी कलेजहरुले प्राविधिक विषय धेरै शुल्क लिएर पढाइरहको र बीचमा शुल्क तिर्न नसक्ने अवस्था आयो भने त्रिविको यो निर्णयले पढाइ नै छोड्नुपर्ने अवस्था आउने उनको भनाइ छ । उनी भन्छन्, ‘अहिले त्रिवि सम्बन्धन भएपनि निजी क्षेत्रको कलेजहरुमा विद्यार्थीको संख्या एकदमै कम छ । त्यसमाथि प्राविधिक विषयका लागि शुल्क धेरै उठाउँछन् । पढ्दापढ्दै शुल्क तिर्न नसक्ने हुँदा आंगिकमा आउन सक्थे । तर यो त्रिविको यो निर्णयले त पढाइ छोड्नुको विकल्प देखिएन ।’

तर अर्का एक प्राध्यापक भने यो आंगिकबाट निजीमा जान रोक्नको लागि निर्णय भएको बताउँछन् । आंगिकका प्राध्यापकहरु नै निजीमा पनि प्राध्यापन गर्ने र उनीहरुको कारण निजीमा जानेको संख्या बढेपछि यो निर्णय भएको हुन सक्ने अनुमान गर्छन् । ‘मलाई लाग्छ यो निर्णय त्रिवि आंगिकबाट सम्बन्धन निजीमा नजाओस् भन्नका लागि हो ।’ उनी अगाडि थप्छन् ‘किनभने आंगिकमा पढाउने सरहरु नै निजीमा पनि पढाउनुहुन्छ । उहाँहरुको प्रभावमा परेर निजीमा गएका धेरै छन् । त्यसलाई रोक्नको लागि हो कि भन्ने मेरो बुझाइ हो ।’

ललितपुर चापागाउँस्थित जनभावना सामुदायिक क्याम्पस प्रमुख शिवराज सञ्जेल त्रिवि प्राज्ञिक परिषदले गलत निर्णय गरेको बताउँछन् । बसाइँसराइ, विवाह अथवा कामको सिलसिलामा अर्को ठाउँ अथवा जिल्लामा पुगेको स्थानमा त्रिवि प्राज्ञिक परिषदले भने जस्तो आंगिक, सामुदायिक, सम्बन्धन प्राप्त कलेज नहुन सक्ने र त्यसले विद्यार्थीको पढाइलाई नै नकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

‘सामान्यतया विद्यार्थीले कुनै पायक नपर्दा अथवा अरु कुनै समस्याले क्याम्पस स्थानान्तरण गर्ने हो । त्रिविको यो निर्णयले रोक्यो ।’ उनी भन्छन्, ‘कुनै विद्यार्थीले अर्को कुनै ठाउँमा विवाह गरेर, बसाइ सरेर जाँदा त्यो ठाउँमा आफूले पढिरहेको जस्तो आंगिक अथवा सामुदायिक क्याम्पस छैन भने के पढाइ छोड्ने ? त्यसैले यो गलत हो ।’

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष शिवलाल भुषाल भने त्यसरी स्थानान्तरण हुने व्यवस्था नभएको तर भइरहेकाले समस्या देखिएपछि लिखित रुपमा निर्णय गर्नुपरेको बताउँछन् । उनको भनाइ अनुसार आंगिकदेखि आंगिक, सामुदायिकदेखि सामुदायिक सम्बन्धनदेखि सम्बन्धन, निजीदेखि निजीमा मात्रै सार्न पाउने भएपनि आफूखुशी स्थानान्तरण भइरहेको छ । उनी भन्छन्, ‘यो व्यवस्था थिएन तर कहिँ कतै भइरहेको र यसले समस्या भइरहेको गुनासो गरेपछि लिखित रुप दिएको हो । निर्णय भएको कुरा चाँहि के हो भने पहिले जिल्लाभित्र पनि भइरहेको थियो । अब भने एकै जिल्लाभित्र स्थानान्तरण नहुने भन्ने हो ।’

विशेष परिस्थितिमा आंगिकदेखि त्रिवि सम्बन्धन निजीमा, त्रिवि सम्बन्धन निजीदेखि सामुदायिकमा र सामुदायिकदेखि आंगिकमा स्थानान्तरण अनुमति दिएपनि यसको दुरुपयोग बढ्न थालेकाले अब कडाइका साथ नदिने भएको शिक्षाध्यक्ष भुषाल बताउँछन् । ‘व्यवस्था थिएन तर कतिपय अवस्थामा यसरी स्थानान्तरणको लागि अनुमति दिइन्थ्यो । कतिपयले भर्ना गर्ने, शुल्क तिर्ने सबै सम्बन्धन निजीमा गर्ने र माथिल्लो तहका केही सुविधा लिनको लागि आंगिकमा अन्तिम परीक्षा दिने गरेको पाइयो अब त्यो सबै रोकिन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?