+
+

धनगढीको ६ लेन सडकमा २०० मिटरको दूरीमा पैदल मार्ग, दुर्घटनाको जोखिम

छैन जेब्रा क्रसिङ

जनक विष्ट जनक विष्ट
२०७९ चैत २७ गते १२:२०

२७ चैत, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेको मोहनापुल अत्तरिया ६ लेन सडकमा छोटो दूरीमा बाटो काट्नका लागि पैदल मार्ग राखिएपछि दुर्घटनाको जोखिम बढेको छ । कैलाली भन्सारदेखि गेटासम्म प्रत्येक दुई सय मिटरको दुरीमा पैदल मार्ग राखिएपछि दुर्घटनाको जोखिम बढेको हो ।

६ लेन सडकखण्डमा तीव्र गतिमा सवारीसाधन गुड्न भएका कारणले दुई सय मिटरको दूरीमा पैदल मार्ग राख्नु आफैमा वैज्ञानिक होइन तर धनगढीमा भने जोखिमलाई ध्यानमा नराखेर ठाउँ–ठाउँमा पैदल मार्ग राख्दा समस्या भइरहेको छ ।

त्यति मात्र होइन पैदल मार्ग छाडिएका ठाउँमा जेब्रा क्रसिङ नराख्दा दुर्घटनाको जोखिम थप बढेको छ । ‘यो सडकमा प्रतिघण्टा ६० किलोमिटरको गतिले सवारी साधन चलाउने मिल्नेगरी बनाइएको हो,’ धनगढी–महेन्द्रनगर खण्डमा मिनी बस चलाउने चालक सुरज बोहरा भन्छन्, ‘तर तीव्र गतिको सडकका ठाउँ–ठाउँमा पैदल मार्ग राखिएका छन् । यी ठाउँमा मानिसहरुले सडक वारपार गर्दा ठक्कर लाग्ने जोखिम छ । न जेब्रा क्रसिङ नै छ ।’

धनगढीदेखि दार्चुलाको बस चलाउँदै आएका अर्का चालक दिपक विष्ट पनि सडकमा पर्याप्त मात्रामा ट्राफिक संकेत नहुँदा समस्या भएको बताउँछन् । आफूले संघीय राजधानी काठमाडौंमा समेत बस चलाएको बताउने उनी स्पीड वेमा छोटो दुरीमा पैदल मार्ग कतै नदेखेको बताउँदै यसले थप जोखिम बढाएको सुनाए ।

‘१४ किलोमिटरको ६ लेन सडकमा २⁄२ सय मिटरको दूरीमा किन पैदल मार्ग चाहियो ? हामीले कुरा बुझ्न सकेका छैनौं,’ विष्टले भने, ‘अनि पैदल मार्ग लेखेर मात्र हुन्छ । सडकले जेब्रा क्रसिङ बनाइदिनुपर्दैन् ।’ यसै कारण रातिको समयमा ६ लेन सडकमा गाडी चलाउनु बढि जोखिमपूर्ण भएको उनी बताउँछन् ।

उपमहानगरले सडकमा आफूखुसी काम गरेको आरोप

महाकाली पुल योजना फिल्ड कार्यालय धनगढीले भने ६ लेन सडकखण्डमा धनगढी उपमहानगरपालिकाले समन्वय बिना आफूखुसी काम गरिरहेको आरोप लगाएको छ । मोहनापुल अत्तरिया ६ लेन सडक योजना कार्यालय भंग भएपछि जिम्मेवारी पाएको महाकाली पुल योजना फिल्ड कार्यालयले छोटो दूरीमा उपमहानगरपालिकाले नै पैदल मार्ग राखेको बताउँदै समन्वय बिना काम गर्दा समस्या भइरहेको जनाएको छ ।

कार्यालयका इन्जिनियर सन्तोष चन्दले ६ लेन सडकमा धनगढी उपमहानगरपालिकाले कुनै समन्वय र सहमति बिना काम गर्दै आएको र पैदल मार्ग समेत उसैले बनाएको बताए ।

‘हाई स्पीड लेनमा छाटो दूरीमा पैदल मार्ग राखिँदैन । हाम्रो डिजाइनमा पनि यो छैन । तर उपमहानगरपालिकाले हाम्रो सहमति र अनुमति बिना आफ्नो ढंगले काम गरिरहेको छ,’ चन्दले अनलाइनखबरसँग भने, ‘मुख्य चौराह बाहेक अन्य ठाउँमा जेब्रा क्रसिङ राखिएको छैन । आकाशे पुल बनाउने भन्ने हो तर प्राविधिक कारणले निर्माणमा ढिलाइ भएको छ ।’

उनकाअनुसार आकाशे पुल निर्माणको काम अगामी आर्थिक वर्षदेखि मात्र अघि बढ्ने भएको छ । मोहनापुलदेखि अत्तरियासम्मको १४ किलोमिटर खण्डमा ६ वटा आकाशे पुल बन्ने बताइएको छ । यति मात्र होइन धनगढी उपमहानगरपालिकाले फिल्ड कार्यालयलाई समेत जानकारी नदिएर ६ लेन सडकको बजार क्षेत्रमा राखिएका डिभाइडर समेत हटाइदिएको उनी बताउँछन् ।

‘अहिले ६ लेन सडक हाम्रो अधिकार क्षेत्रभित्र राखिएको छ । कुनै काम गर्नुपर्ने भए सुरुमा सहमती लिनुपर्ने हुन्छ तर उपमहानगरपालिकाले सौर्य बत्ती जडान, ताराबार गर्ने बेलादेखि डिभाइडर हटाउँदासम्म कुनै समन्वय गरेको अवस्था छैन,’ चन्दले भने, ‘उहाँहरुले सहमती मागेको भए कार्यालय त्यो अनुसार अघि बढ्ने थियो । उहाँहरुले एकलौटी रुपमा गरिरहनुभएको छ ।’

उपमहानगरले ठाउँ–ठाउँमा पैदल माग राखेपछि मौखिक रुपमा हटाउन भन्दै ध्यानाकर्षण गराइसकेको उनी बताउँछन् । सडकका डिभाइडर हटाइएको विषयमा त लिखित रुपमै जवाफ मागिएको थियो तर उपमहानगरले अहिलेसम्म जवाफ दिएको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि ६ लेन सडक क्षेत्रमा पैदल मार्ग राख्ने सम्बन्धमा कुनै पनि निकायले समन्वय नगरेको बताएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र जोहारीले उपमहानगरपालिका र सडक योजना कार्यालयले पैदल मार्ग राख्ने विषयमा समन्वय नगरेको बताए ।

तर उपमहानगरपालिकाले सांकेतिक चिह्न सहित पैदल मार्ग लेखेर ठाउँ–ठाउँमा प्लेट लगाएपछि व्यवस्थापनमा सहज भएको उनको भनाइ छ ।

‘यसअघि सडकले क्रस गर्न मिल्ने गरी खाली छाडिदिएको ठाउँमा गाडी नै हाल्ने गर्दा दुर्घटनाको जोखिम थियो तर उपमहानगरपालिकाले अहिले तारबार गर्दै पैदल मार्गको संकेत राखेपछि त्यो रोकिएको छ । केही सहज भएको छ,’ जोहारीले भने ।

धनगढी उपमहानगरपालिकाले भने ६ लेन सडकको बीच भागमा रोपिएका विरुवाको संरक्षणका लागि तत्काल ठाउँ–ठाउँमा पैदल मार्ग छाडिएको जनाएको छ । उपमहानगरपालिकाका इन्जिनियर द्धिजराज भट्टले ती पैदल मार्ग स्थायी नभएको बताए । ‘हामीले बोटविरुवाको संरक्षणका लागि तारबार गरेपछि मान्छेहरु त्यसलाई नाघेर सडक क्रस गर्न थाले । जसले विरुवा हुर्किन नपाउने जोखिम भयो,’ भट्टले अनलाइनखबरसँग भने, ‘त्यसैले विरुवाको संरक्षणका लागि अस्थायी रुपमा पैदल मार्ग राखिएको हो । यो स्थायी होइन । विरुवा ठूलो भएपछि हटाउछौँ ।’

भट्टले बोटविरुवा बढेपछि सडक र ट्राफिक प्रहरीसँग समन्वय गरेर आवश्यकताअनुसार पैदल मार्ग राख्ने समेत बताए । उनले ६ लेन सडकमा ठूलो खालको काम गर्दा समन्वय भइरहेपनि सडक योजना कार्यालय नहुँदा समस्या भएको बताएका छन् ।

तर धनगढीको ६ लेन सडकमा ट्राफिक संकेतहरु नहुँदा सवारी चालक र पैदल यात्रुहरुले लेनको प्रयोग गर्न जानेका छैनन् । अनेरास्ववीयु धनगढी नगर कमिटीले केही दिन अघि मुख्य चौराह, नेपाल पुलिस स्कुल र माया मेट्रो अस्पताल अगाडि जेब्रा क्रसिङ बनाएको थियो । यी बाहेकका अन्य ठाउँमा भने जेब्रा क्रसिङ राखिएको छैन । नगर कमिटी अध्यक्ष नितिश जोशीले नमूनाका रुपमा जेब्रा क्रसिङ बनाउने काम गरिएको बताउदै १४ किलोमिटर क्षेत्रमा बनाउन सक्ने स्रोत साधनको अभाव रहेको बताए ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?