+
+

वर्ष २०७९ का ७ अभिनेता : चरित्रमा प्राण भर्नेदेखि स्टारपावरको संकटसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १९:००

काठमाडौं । वर्ष २०७९ अभिनयको हिसाबले सम्झनलायक रह्यो । केही यस्ता अभिनेता जसले बक्स अफिसदेखि कलात्मक पक्षमा आफूलाई केन्द्रमा राख्न सके ।

निजी कारण होस् या व्यावसायिक, सिंगो वर्ष यी अभिनेताको वरपर घुम्यो । केही अभिनेता विवादमा मुछिए भने केहीले बक्स अफिसमा उधुम कमाइ गरे ।

केही अभिनेता बक्स अफिसमा पूर्णतः असफल रहे भने केही व्यावसायिकभन्दा व्यक्तिगत कारणले चर्चामा रहे ।

यहाँ वर्ष २०७९ का केही अभिनेताको चर्चा गरिन्छ, जसले वर्षभरि नै दर्शक र फ्यानको ध्यान आकर्षित गर्न सके । यस वर्ष चर्चामा रहेका केही अभिनेताबारे यहाँ उल्लेख गरिन्छ ।

दयाहाङ राई

अभिनेता दयाहाङ राई अभिनित ‘कबड्डी ४ : द फाइनल म्याच’, ‘दुई नम्बरी’, ‘के घर के डेरा’ र ‘फूलबारी’ यस वर्ष रिलिज भएका हिट फिल्महरु हुन् । यी चारै फिल्मको कुल ग्रस जोड्दा ४५ करोड रुपैयाँ हाराहारीमा हुन आउँछ । दयाहाङ यी चारै फिल्मको शीर्षमध्येको भूमिकामा थिए । स्वभाविक रुपमा दयाहाङ यस वर्षको घरेलु बक्स अफिसका ‘पोस्टरब्वाय’ बने ।

यी तीन फिल्ममा उनको अभिनय शैलीलाई लिएर बहस गर्ने ठाउँहरु हुँदाहुँदै पनि दयाहाङको स्टारडम निर्माणमा यी तीन फिल्मले भूमिका खेले । अन्तर्राष्ट्रिय बजारमा पनि दयाहाङको स्टारडमको विस्तार भयो । यसबाहेक टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’मार्फत उनले समाजलाई प्रश्न गरे । अन्तर्राष्ट्रिय फेस्टिभल लक्षित फिल्म ‘गाउँ आएको बाटो’ उनले यसै वर्ष सके । बक्स अफिस, कला र सामाजिक एक्टिभिज्मको कोणबाट दयाहाङ यस वर्ष चर्चामा रहे ।

दीपकराज गिरी

स्टारपावरको हिसाबले दीपकराज गिरी यस वर्षका चर्चित अभिनेता हुन् । फागुन १९ मा रिलिज भएको ‘छक्कापञ्जा ४’ मार्फत उनले आफ्नो स्टारडमलाई पुनर्पुष्टि गरे । छैटौं सातामा पनि नेपाल र विदेशमा दीपकको निर्माण र लेखन रहेको फिल्मको चौथो श्रृंखला चलिरहेको छ । अभिनेता मात्र नभएर फिल्म लेखक र निर्माताको रुपमा पनि उनी सक्रिय रहे । यस वर्ष अन्तर्राष्ट्रिय बजार विस्तारमा पनि उनको योगदान छ । ‘छक्कापञ्जा ४’ मा उनले अभिनय गरेको राजा पात्र यस वर्ष हिट चरित्र बन्यो ।

विपिन कार्की

विपिन कार्की अभिनित ‘के घर के डेरा’ र ‘फूलबारी’ यस वर्ष चलेका फिल्महरु हुन् । के घर के डेरामा उनको अभिनयको निकै प्रशंसा भएको थियो । फूलबारीमा उनले ६० वर्षे अवकाशप्राप्त सरकारी शिक्षकको भूमिका निर्वाह गरेका थिए । उनले अभिनय गरेका चरित्रहरु समाजसँग सिधै जोडिन सके । पात्रका हिसाबले विपिन यस वर्ष सम्झनयोग्य अभिनेता हुन् । अदालतले नरोकेको भए ‘प्रसाद २’ उनको अर्को प्रतीक्षित फिल्म थियो जसमा उनको शीर्ष भूमिका छ । बलिउड फिल्म ‘एनिमल’ गर्ने भनेर उनले अन्तिम अवस्थामा छाड्नुपर्‍यो । प्रसाद २ को विवादले विपिनलाई चर्चामा ल्यायो । उनी यतिबेला ‘भष्मे डन’मा व्यस्त छन् ।

सौगात मल्ल

सौगात मल्ल यस वर्ष सर्वाधिक फिल्म रिलिज हुने अभिनेता हुन् । उनी अभिनित ‘कबड्डी ४’ वर्षकै पहिलो ब्लकबस्टर फिल्म रह्यो । ‘दुई नम्बरी’ सौगातको दोस्रो हिट फिल्म रह्यो । त्यसपछिका उनी अभिनित फिल्महरु मन्त्र, राधा, घनचक्कर, माइकल अधिकारी र लाखेले बक्स अफिसमा कमाल गर्न सकेनन् । तर उनले गरेका चरित्रहरु यस वर्ष चर्चामा रहे । यो वर्ष प्रेमिका अभिनेत्री सृष्टि श्रेष्ठसँगको ब्रेकअपले पनि सौगात चर्चामा आए ।

प्रदीप खड्का

बक्स अफिस र चर्चा दुवैको कोणबाट प्रदीप खड्का निर्विवाद रुपमा यसवर्षका अर्का हिट अभिनेता हुन् । उनी अभिनित ‘प्रेमगीत ३’ले नेपाली बक्स अफिसमा दुई अंकको कमाइ गर्‍यो भने यसको हिन्दी संस्करणले भारतसहित विश्वभर चर्चा बटुल्यो । भारतमा चिनिने अनुहार बने प्रदीप । यति मात्र होइन, प्रेमगीत ३ को हिन्दी संस्करण अन्तर्राष्ट्रिय बजार र फिल्म चेनमा रिलिज हुने नेपाली फिल्म बन्यो । प्रेमगीत ३ रिलिजको सन्दर्भमा भुवन केसीसँगको उनको विवादले यस वर्ष चर्चा पायो । यस वर्ष रिलिज भएको प्रदीप स्टारर ‘प्रकाश’ अर्को सफल फिल्म हो । बक्स अफिस र समीक्षा दुवै कोणबाट यो फिल्म उत्कृष्ट रह्यो । प्रकाशबाटै प्रदीपले निफ फिल्म फेस्टिभलमा सर्वश्रेष्ठ अभिनेताको अवार्ड जिते ।

अनमोल केसी

वर्षको सुरुवात नै अनमोल केसीको फिल्म ‘ए मेरो हजुर ४’ रिलिजसँगै सुरु भएको थियो । ‘केजीएफ २’ को बाबजुद पनि यो फिल्मले बक्स अफिसमा सुखद कमाइ गर्‍यो । झरना थापा निर्देशित यो फिल्मले अनमोललाई राहत दियो । तर फागुन १९ मा रिलिज भएको अनमोलको ग्याङस्टर ‘२.० छड्के’ बक्स अफिसमा पूर्णतः असफल रह्यो । यसले अनमोलको करिअरमा धक्का मात्र लागेन, उनले यो प्रोजेक्टमा आफू चुकेको प्रष्टीकरण पनि दिइसकेका छन् । समग्रमा वर्ष २०७९ अनमोलको लागि स्तब्धपूर्ण रह्यो ।

अर्पण थापा

स्वभाविक रुपमा अर्पण थापा यस वर्षका हिट अभिनेता हुन् । ‘चिसो मान्छे’मा उनी शीर्षमध्येको एक भूमिकामा थिए, जहाँ उनी एक गाडी चालकको भूमिकामा देखिएका छन् । लकडाउनको कारण गाडीको किस्ता तिर्न नसकिरहेको एक लाचार एकल पुरुषको भूमिकामा उनी देखिएका छन् । उनको यो पात्र निकै मर्मस्पर्शी रह्यो । फिल्म ‘लाखे’मा उनी अर्को दमदार भूमिकामा देखिए । खलपात्र जस्तो लाग्ने उनको ‘प्रसाद २’को चरित्र उनको अर्को प्रतीक्षित फिल्म हो, जुन रिलिज भइसकेको छैन । उनका फिल्मले बक्स अफिसमा उति प्रभाव नपरे पनि चरित्रमार्फत उनले फिल्ममा योगदान दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?