+
+

बागलुङका ३७ वडा पहिरोको उच्च जोखिममा

रासस रासस
२०७९ चैत २८ गते १३:०६
फाइल तस्वीर

२८ चैत, बागलुङ । बागलुङ जिल्लाको दशवटा स्थानीय तहका ८५ वडामध्ये ३७ वडा पहिरोको उच्च जोखिममा र  ३१ वडा मध्यम जोखिममा परेका छन् ।

मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ जिल्ला नै पहिरोको उच्च जोखिममा पर्छ । जिल्ला विपद् व्यवस्थापन समितिले  विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिरोको प्रकोपमा पहिलो नम्बरमा परेको हो ।

पहिरोकै कारण हरेक वर्ष यहाँका नागरिकले ज्यान गुमाउनु परेको छ । जिल्लाका दस स्थानीय तहबाट संकलन गरिएको तथ्याङ्क तथा जिल्ला प्रशासन कार्यालयमा प्राकृतिक प्रकोपका लागि वितरण गरिएको राहतको विवरणअनुसार पहिरोको प्रकोपबाट अधिकांश स्थानीय तहका वडा समस्यामा परेको पाइन्छ ।

जिल्लाका कूल ८५ वडामध्ये पहिरोको प्रकोपमा ३७ वटा वडा उच्च जोखिम, ३१ वडा मध्यम जोखिम र १७ वडा निम्न जोखिमको सूचीमा छन् । मनसुनजन्य आपत्कालीन कार्ययोजना-२०७९ मा उल्लेख भएअनुसार पालिकाका मुकाम रहेका वडाहरुसमेत पहिरोको जोखिममा छन् ।

जोखिममा सामुदायिक विद्यालयसमेत समावेश छन् ।  यस वर्ष २० सामुदायिक विद्यालय भवनमा पहिरोले असर पार्नसक्ने जिल्ला विपद् व्यवस्थापन समितिको अनुमान छ ।

सबै स्थानीय तहमा व्यवस्थापन पूर्वको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन्।

मनसुन सक्रिय हुनुपहिले नै विपत् पूर्व, विपत् भएको समय र विपत्पश्चात् गर्नुपर्ने कामका बारेमा सरोकारवाला निकायसँग समन्वय र साङ्गठनिक जिम्मेवारी बाँडफाँड गरिएको उनले बताइन्।

कालीगण्डकी, बडिगाड, दरमखोला, निसीखोला, भुजीखोला, तमानखोला, ठेउलेखोला, अँधेरीखोला, दरौँदीखोला, उत्तरगङ्गालगायत खोला तथा नदी किनारका बस्तीहरु बाढीको जोखिममा छन् ।

पहिरो प्रकोपका कारणले जिल्लाभर करिब ३० हजार व्यक्तिलाई असर पर्नसक्ने अनुमान गरिएको छ। पहिरोको प्रकोपबाट घरगोठमा क्षति पुग्न सक्ने, बालबालिका, वृद्घावृद्घाहरु, गर्भवती, सुत्केरी, अपाङ्ग व्यक्ति, दलित र अति गरिबलाई बढी असर पर्ने विपत् प्र्रतिकार्य योजनामा उल्लेख छ ।

यहाँका सबै खोला किनारका तटीय क्षेत्रहरु जोखिममा छन् । कार्ययोजनाले उद्धार राहत तथा पुनःस्थापना र सचेतनाका लागि उपलब्ध साधन स्रोतको समेत तथ्याङ्क तयार गरेको छ ।

जिल्लाका अधिकांश बस्ती, सडक, भल तथा बाढीका कारण जोखिममा पर्ने स्थानीय तहको पूर्वानुमान छ । स्थानीय तहले गत वर्ष तयार गरेको बाढी पहिरो पीडितको तथ्याङ्क र यो वर्षको सम्भावित जोखिमको अवस्था हेरेर तथ्याङ्क तयार गरेको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?