+
+
खुलापत्र :

स्वर्णिम दाइ, अझै ढिलो भइसकेको छैन, तर …

घुसखोरी, भ्रष्टाचार वा आर्थिक अपचलनको उपचार कसैलाई सडकमा घिसार्ने वा कसैको बलि दिने कि भ्रष्टाचार नियन्त्रणका लागि संविधानले व्यवस्था गरेका संस्थाहरूलाई प्रभावकारी बनाउने? पार्टीले सधैंभर भावनाको राजनीति गर्ने हो कि मानिसको जीवन–मरणका सवालमा विमर्श गर्ने?

जीवन क्षेत्री जीवन क्षेत्री
२०७९ चैत २९ गते १८:२७

आदरणीय स्वर्णिम दाइ,

हालै तपाईं नेपाली कांग्रेस छाडेर रास्वपा जाँदा त्यो व्यापक बहसको विषय बन्यो। शायद त्यसबारेमा आफ्नो बलियो विचार नहुने नेपाली असाध्य कम थिए। म तिनैमध्ये एक थिएँ र त्यो विषयमा कसैले सोध्दा मैले भनेको थिएँ : त्यो उहाँको छनोटको कुरा हो।

रास्वपाभित्रको ढाकाकुमार श्रेष्ठ प्रकरणपछि भने तपाईंलाई सम्बोधन गरेर खुलापत्र लेख्नैपर्छ भन्ने लाग्यो र यो प्रयास गर्दैछु।

सिंगो नेपाली समाज अहिले औडाहा र छटपटीको अवस्थामा छ। मैले बुझेसम्म दशवर्षे सशस्त्र युद्ध सकिएयता देशको यति ठूलो जनसंख्या एकैसाथ यस्तो छटपटीमा रहेको शायद यो पहिलो अनुभव हो। अवरुद्ध अर्थतन्त्र त त्यो छटपटीको जरामा छ नै, राजनीतिको गतिहीनताले त्यो समस्यालाई झनै गहिरो बनाएको छ।

परिणामतः मानिसले आफ्ना सपनामाथि खतरा मडारिइरहेको आभास पाएका छन्— आजभन्दा भोलि राम्रो हुन्छ भन्ने सपना। आफ्नोभन्दा सन्तानको जीवन सुविस्तापूर्ण हुन्छ भन्ने सपना। त्यसैले मानिसको मन असन्तुष्ट, अस्थिर र चञ्चल छ।

यो अवस्थाबाट निस्कने मैले देखेका दुई बाटा छन्। एक, कुनै चमत्कारी मसिहा आएर जादुको छडी चलाएझैं सारा समस्या स्वाहा पारिदिन्छ। र समाजमा सबैले सुख र खुशीसाथ बाँकी जीवनयापन गर्छन्।

दुई, लोकतन्त्रलाई नाममा सीमित पारेर राज्यकोषको दोहन मात्रै गरेका राजनीतिज्ञहरू ब्युँझन्छन्ः यो त सर्वनाशको बाटो पो हो, त्यसैले अब सच्चिनुपर्छ।

अर्थतन्त्रलाई चलायमान बनाउने, भ्रष्टाचार र स्रोतको अपचलनलाई न्यूनीकरण गर्दै जाने, संस्थाहरूलाई सबल र जवाफदेही बनाउने अनि तिनको दलीयकरणमा ब्रेक लगाउने काम गर्छन्।

जीवन क्षेत्री

मेरो विश्वास छ, अहिलेको संकटबाट समाज निस्कने एउटा मात्रै व्यावहारिक बाटो दोस्रो हो। त्यसैले पछिल्लो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुँदै गर्दा मैले आशा गरेको थिएँ, ऊ आफू मात्रै त्यो बाटो हिंड्ने छैन, पुराना पार्टीहरूलाई पनि त्यतै घचेट्नेछ र सबै विस्तारै सही बाटो पक्रन बाध्य हुँदै जानेछन्।

त्यो प्रयोजनका लागि रास्वपाले लिने बाटो कस्तो हो भनेर सबै नागरिकले बुझ्ने अवस्था बनोस् भनेरै मैले एउटा लामो लेखमार्फत सोधेको थिएँ— ‘राष्ट्रिय स्वतन्त्र पार्टीको डिएनएमा के छ ?’

तर विडम्बना के छ भने नेता र पार्टीहरूबाट बारम्बार धोकामाथि विश्वासघात पाएका मानिसहरूमा समाज त्यो दोस्रो विकल्पमा जान्छ भन्ने विश्वास छैन र त्यसलाई सुनिश्चित गर्ने धैर्य पनि देखिंदैन। त्यसैले उनीहरू एउटा मसिहाको खोजीमा छन्। र, प्रारम्भिक लक्षणहरू भन्छन्ः रास्वपा पनि विधि र थिति बसालेर सुशासन ल्याउने हैन एउटा मसिहाको भरमा सारा समस्याको समाधान गर्ने बाटोमा उद्यत छ।

मेरो विश्वास छः त्यो समाजलाई संकटबाट बाहिर ल्याउनका लागि निष्प्रभावी मात्रै हैन प्रत्युत्पादक बाटो हो। किन त ? कहिलेकाहीं अरुको गल्तीबाट पनि हामीले त्यस्तो पाठ सिक्न सक्छौं। त्यस खाले अधीरता र रातारात परिवर्तन ल्याइहाल्ने हुटहुटीले संसारका धेरै देशमा भएकै लोकतान्त्रिक संस्थाहरूलाई धरासायी बनाएर तानाशाहहरूलाई जन्म दिएको छ। अरु देशमा हुने सैन्य ‘कु’ मानिसको त्यस्तै अधीरताका कारण तत्काल लोकप्रिय समेत हुने गरेका छन्।

तर कालान्तरमा भने त्यस्ता तानाशाही व्यवस्थाले मानिसका मुख थुनेर समस्याहरूको चर्चा ठप्प पारे पनि समस्या ज्युँका त्यूँ रहने वा झनै बल्झिने र ठूलो दमन र हिंसालाई निम्तो दिने गरेका छन्। यति साधारण चर्चापछि अब फर्कौं रास्वपा र ढाकाकुमार श्रेष्ठ काण्डतिर।

स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीले उनीसित अढाइ करोड माग्यो वा मागेन? उनले मागेझैं दुर्गा प्रसाईंले दुई करोड दिए कि दिएनन्? दिएको भए ढाकाले पार्टीमा त्यो रकम बुझाए कि बुझाएनन् ?

यी कुनै पनि प्रश्नको जवाफ अहिले मसित छैन र मैले तिनमा हतारिएर जवाफ अनुमान लगाउन पनि चाहन्नँ। मैले बुझेसम्म कुनै पनि नागरिक दोषी प्रमाणित नभएसम्म निर्दोष हुन्छ।

तर जब अडियो सार्वजनिक भयो, तपाईंहरूका पार्टी अध्यक्ष रवि लामिछानेबाट मेरो अपेक्षा फरक थियो। मैले सोचेको थिएँ: उनले यसखाले लेनदेनको जरै उखेल्ने विधिको खोजी गर्लान्।

दलीयकरणले थला परेको अख्तियारलाई ब्युँताउने प्रतिज्ञा गर्लान्। संसदको सुशासन समितिमा असल साथीहरूलाई पठाएर अख्तियारलाई समेत खबरदारी गरेर आयुक्तहरूलाई जवाफदेही बनाउलान्।

यस्ता मुद्दा अन्ततः न्यायालयमा प्रवेश गर्ने हुँदा न्यायालयमाथिको दलीय हस्तक्षेप बन्द गर्ने र वास्तवमा स्वतन्त्र न्यायालय बनाउने उपाय खोज्लान्। हालसम्म स्वार्थ समूहहरूको हितमा जेजति नीतिगत भ्रष्टाचार भएको छ, त्यसलाई निर्मूल पार्ने प्रतिज्ञा गरेर आजैदेखि त्यस्ता खोटा नियम-कानुन पर्गेल्ने घोषणा गर्लान्। सांसद साथीहरूलाई त्यसका लागि गृहकार्य गर्न लगाउलान् वा गृहकार्य भइरहेको भए त्यसको प्रगति सार्वजनिक गर्लान्।

तर उनले यस विषयमा हालसम्म गरेको मुख्य सम्बोधनमा भने, ‘(अबको) सत्तरी घण्टामा सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्न सकिनँ भने मलाई यही गढीमाईमा बलि दिनुहोला। … ती मेरा वरपरका माग्ने मान्छे को रहेछन्, तिनलाई तपाईंको आँगनमा सडकमा घिसारेर ल्याउन सकिनछु भने फेरि पनि मलाई तपाईंले भनेको सजाय दिनुहोला।’

पार्टीले सधैंभर भावनाको राजनीति गर्ने हो कि मानिसको जीवन–मरणका सवालमा विमर्शसम्म भए पनि गर्ने हो? यी प्रश्नको जवाफ खोजेर नागरिकसामु प्रस्तुत गर्न अझै ढिला भइसकेको छैन तर यो अवसर सधैंभर रहिरहनेवाला चाहिं छैन।

कसैले गल्ती गर्‍यो भने उसलाई घिसार्ने, ढुंगा हान्ने, सार्वजनिक स्थलमा मृत्युदण्ड दिने अभ्यास अहिले पनि छन् विश्वमा। तर २०७२ को संविधान मार्फत हामीले संस्थागत गर्न खोजेको अभ्यास त्यस्तो हैन।

हाम्रो न्याय प्रणालीले अपराधीलाई जेल राखेर, प्रायश्चित र सुधारको मौका दिएर फेरि समाजमा फर्काउने परिकल्पना गरेको छ।

त्यसैले लाखै जनाले ताली पिट्छन् भने पनि त्यो धेरै हिसाबले गलत कुरा हो। सँगै त्यसले एउटा गम्भीर प्रश्न पनि उठाउँछः देशको न्याय प्रणालीबारे, यहाँको दण्डहीनता र भ्रष्टाचार अन्त्य गर्नेबारे रवि लामिछाने र रास्वपाको मार्गचित्र त्यही हो त ?

अन्त्यमा यो खुलापत्र किन तपाईंलाई भन्ने छोटो चर्चा गरौं। तपाईं जस्ता मानिसहरू रास्वपामा प्रवेश गर्दा त्यस्तो दलबाट स्वभावतः हामीजस्ता धेरै शुभेच्छुकहरूको अपेक्षा बढ्छ। पार्टीका एजेण्डा निर्धारणमा तपाईंको भूमिका रहला, पार्टीले भावनाको राजनीतिबाट विस्तारै भए पनि नीति र संस्था निर्माणको वास्तविक राजनीतितिर संक्रमण गर्ला भन्ने मेरो अपेक्षा थियो, छ पनि।

चितवन क्षेत्र नं. २, जहाँबाट रविजी चुनाव उठ्दैछन्, त्यहाँ अहिले नारायणी मिचेर बनिरहेको कंक्रिटको संरचनाबारे यत्रो बहस छ। नदी कसको र कस्तो भन्ने सैद्धान्तिक बहसदेखि त्यो निर्माणका पछाडि रहेको नीतिगत भ्रष्टाचारसम्ममा यत्रो विमर्श चलिरहेको छ। त्यस्तो निर्माणका कारण एकाध वर्ष वा दशकमा नदीले बाटै फेर्‍यो र खरबौंको क्षति पुर्‍यायो भने के गर्ने भन्ने प्रश्न उठेको छ।

जलवायु संकट गहिरिंदै गर्दा नारायणी जस्ता नदीहरूका मूलमा रहेका हिमनदीहरू सुक्दै छन्। हिमालमा हिउँ रित्तिंदैछ। मूलको हिउँ घट्दै जाँदा सुख्खायाममा नदी ठप्प हुने अवस्था आयो भने के गर्ने ? हिमालयबाट निस्कने तीन ठूला नदी प्रणालीहरूमध्ये इण्डस नदीमा यसअघिका वर्षमै त्यस्तो अवस्था आइसकेको छ, हिउँदमा समुद्रमा नपुग्दै नदीको पानी शून्यमा झरेको छ।

संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनका विषयमा अध्ययन गर्न बनाएको अन्तर सरकारी निकाय आईपीसीसीले पछिल्लो प्रतिवेदनमा भनेको छ, ‘विश्वव्यापी औसतभन्दा तीन गुणासम्मले तातिरहेको हिमालमा हिउँ पग्लने दर बढेकाले मात्रै अहिले सुख्खायाममा नदीको बहाव उति साह्रो नघटिसकेको हो। हिमनदीको हिउँभण्डार सकिंदै गएपछि एकाध वर्षको समयमा नदीको हिउँदे बहाव स्वाट्टै घट्न सक्नेछ।’

नदीहरूको बहावमा आउने त्यस्तो घटोत्तरीका कारण यसै तल सर्दै गरेको भूमिगत जलाधार रित्तियो भने दश वा बीस वर्षपछि तीन करोडभन्दा बढी मानिसहरूको जीवन धान्ने उपाय हामीसित के रहन्छ?

यही वर्ष सुरु हुन थालेको एल निनो नामक मौसम प्रणालीले भारतीय उपमहाद्वीपमा ठूलो खडेरी र ताप लहर ल्याउन सक्ने, बाली बर्बाद हुन सक्ने र खाद्यान्नको मूल्य आकाशिन सक्ने भनेर वैज्ञानिकहरूले अहिले चेतावनी दिइरहेका छन्। त्यो अवस्था झेल्ने हाम्रो रणनीति के हुन्छ?

मेरो विचारमा हाम्रो राजनीतिको केन्द्रमा यी एजेण्डा हुनुपर्ने हो। तपाईं जत्तिको मानिस रहेको पार्टीमा चुनावको बेलामा त यस्तै विषयको बहस उत्कर्षमा पुग्नुपर्ने हो। पार्टीमा यस्ता विषयमा प्रष्टता छैन भने विज्ञहरूलाई बोलाएर छलफल र प्रशिक्षण चलाउनुपर्ने हो। चितवन क्षेत्र नं. २ को कुरा गर्नुहुन्छ भने त छेउमै बग्ने नारायणी र त्यस्ता अरु नदीहरूको संरक्षण ठूलो मुद्दा बन्नुपर्ने हो।

एउटा निर्वाचन क्षेत्रको कुरै छाडौं। वायु प्रदूषणले देशभर ज्यानमारा रूप ग्रहण गरिसकेको छ। वर्षमा आठ महिनासम्म विषाक्त हावामा सास फेर्न हामी सबै अभिशप्त भइसकेका छौं।

विश्वभर वायु प्रदूषणका कारण वर्षेनि ७० लाख मानिसको अकाल मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको आँकडा छ। वैज्ञानिकहरू भन्छन्, ‘विश्वव्यापी तापमान वृद्धि १.५ डिग्रीमा नरोकिएर २ डिग्री सेल्सियस पुग्ने हो भने वायु प्रदूषणका कारण मात्रै थप १५ करोड मानिसको अकाल मृत्यु हुनेछ।’

तपाईं हाम्रै र त्योभन्दा बढी हाम्रा सन्ततिहरूको अस्तित्वमाथि मडारिइरहेको खतराको विषयलाई छुँदै नछुने हो भने, मानिसका जीवन-मरणका विषयहरूबाट सधैंभर तर्केर हिंडिरहने हो भने त्यो राजनीतिको औचित्य के छ?

लेखक डेभिड वालेस-वेल्सले ‘द अनइन्ह्याबिटेबल अर्थ’ पुस्तकमा लेखेका छन्— ‘त्यो भनेको हिटलरको नरसंहारमा भएका हत्याहरू भन्दा पच्चीस गुणा बढी र दोस्रो विश्वयुद्धका बेला भएका सबै प्रत्यक्ष र अप्रत्यक्ष मृत्युहरूभन्दा कम्तीमा दुई गुणा हो।’

त्यो अवस्थामा दक्षिणएशिया विश्वकै वायु प्रदूषणको राजधानी बन्ने र नेपालमा प्रदूषणजन्य समस्याका कारण मृत्यु हुनेहरूको संख्या लाखौंमा पुग्ने निश्चित छ।

नेपालको राजनीतिमा नयाँ राजनीतिक पार्टीहरूको जबर्जस्त प्रवेशले यस्ता जटिल तर हाम्रो अस्तित्वसित प्रत्यक्ष जोडिएका विषयहरूलाई राजनीतिको केन्द्रमा ल्याउला भन्ने मेरो अपेक्षा थियो।

तर तपाईंहरूको पार्टीले जीवन-मरणका यस्ता सवाल सरक्क पन्छाएर बलि दिने प्रण गरेको, उत्तेजक भाषणहरू गरेको र आकर्षक टिकटक भिडियोहरू बनाएकै भरमा चुनाव जित्ने आकलन गरेको देखिन्छ। सम्भवतः आम मतदाताहरूको ध्यान त्यस्ता गम्भीर विषयहरूमा नरहेकाले पार्टीको त्यो आकलन ठिकै पनि होला।

तर, तपाईं हाम्रै र त्योभन्दा बढी हाम्रा सन्ततिहरूको अस्तित्वमाथि मडारिइरहेको खतराको विषयलाई छुँदै नछुने हो भने, मानिसका जीवन-मरणका विषयहरूबाट सधैंभर तर्केर हिंडिरहने हो भने त्यो राजनीतिको औचित्य के छ?

त्यसैले मैले यो लेखमा तपाईंसामु राख्न खोजेका प्रश्न दुइटा हुन्।

एक, घुसखोरी, भ्रष्टाचार वा आर्थिक अपचलनको उपचार कसैलाई सडकमा घिसार्ने वा कसैको बलि दिने हो कि भ्रष्टाचार नियन्त्रणका लागि संविधानले व्यवस्था गरेका संस्थाहरूलाई प्रभावकारी बनाउने?

दुई, पार्टीले सधैंभर भावनाको राजनीति गर्ने हो कि मानिसको जीवन–मरणका सवालमा विमर्शसम्म भए पनि गर्ने हो? यी प्रश्नको जवाफ खोजेर नागरिकसामु प्रस्तुत गर्न अझै ढिला भइसकेको छैन तर यो अवसर सधैंभर रहिरहनेवाला चाहिं छैन।

लेखकको बारेमा
जीवन क्षेत्री

लेखक तथा विश्लेषक जीवन क्षेत्री भरतपुरमा रहेर स्वास्थ्य सेवा गर्छन् । लेखकले साप्ताहिक रूपमा सिफारिस गर्ने सामग्रीहरू द हिमालयन गेज मा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?