+
+

ढाकाकुमार श्रेष्ठलाई रास्वपाले कारबाही गरेको पत्र संसद सचिवालयमा

संसदका कर्मचारी भन्छन् : दर्ताको प्रक्रियामै छ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १८:०६

३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठमाथि कारबाहीका लागि संघीय संसद सचिवालयमा पत्र पठाएको छ ।

पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरिएको भन्दै रास्वपाले संसद सचिवालयलाई श्रेष्ठको सांसद पद रिक्त हुने भनी पठाएको पत्र संसद सचिवालयमा पुगेको छ । सचिवालयका अधिकारीहरुका अनुसार उक्त पत्र दर्ता भइसकेको छैन ।

‘महासचिवलाई पत्र आएको छ तर, दर्ताको प्रक्रियामै छ’ एक अधिकारीले भने । उनका अनुसार पत्रमा उल्लेख हुनुपर्ने कागजातहरु भए÷नभएको हेरेर दर्ता गर्ने वा नगर्ने निर्णय हुनेछ ।

संसद सचिवायका प्रवक्ता एकराम गिरी पनि सांसदलाई गरिएको कारबाहीको कानुनी प्रक्रिया पूरा भए वा नभएको संसद सचिवालयले हेर्ने बताउँछन् । उनले भने, ‘राजनीतिक दल सम्बन्धी ऐन अनुसार प्रक्रिया पूरा भएको वा नभएको हेरेपछि मात्रै सांसदमाथिको कारबाही प्रक्रिया अगाडि बढ्छ ।’

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र रवि लामिछानेको कोर टिमले २ करोड रुपैयाँ माग गरेको भन्दै मेडिकल ब्यवसायी दुर्गा प्रसाईंसँग रकम मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । त्यसको जानकारी गराउन रास्वपाले संसद सचिवालयलाई पत्र लेखेको हो । उक्त पत्र अनुसार सांसद पद रिक्त भएको भनी सभामुखले सार्वजनिक गरेपछि मात्रै कारबाही प्रक्रियाले पूर्णता पाउँछ ।

संसदको अधिवेशन चालु भएको अवस्थामा सभामुखले संसदमै सांसद पदमुक्त भएको जानकारी गराउँछन् । संसद नभएको अवस्थामा सूचना टाँसेर जानकारी गराउने व्यवस्था छ ।

सांसदको पद रिक्ततासम्बन्धी व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ । नियमावलीको नियम ११५ मा भनिएको छ, ‘संविधानको धारा ८९ बमोजिम कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले सो कुराको जानकारी बैठकलाई दिनेछ ।’

त्यसपछि सांसदको पद रिक्त भएको जानकारी संसद सचिवालयको सचिवले मन्त्रिपरिषद् र निर्वाचन आयोगलाई दिने र यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने व्यवस्था नियमावलीमा छ ।

ढाका कुमार श्रेष्ठको हकमा यो प्रक्रियामा जानु अगाडि संसद सचिवालयले उनलाई पार्टीले गरेको कारबाहीको प्रक्रिया कानुन अनुसार पूरा भए/नभएको हेर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?