+
+

जनक शिक्षाले ५९ जिल्लामा पुर्‍यायो पाठ्यपुस्तक

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १७:३२

४ वैशाख, काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ । ३ वैशाखसम्म ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ ।

सोमबार पाठ्यपुस्तक बिक्री वितरण र छपाइको विषयमा प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ ।

त्यस क्रममा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने गरी काम भइरहेको बताए । जनक शिक्षा सामग्री केन्द्रले ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तक छपाइ सकेर बिक्री गरिरहेको उनले जानकारी दिए ।

हालसम्म ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको र बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म पुस्तक पुग्ने झाले बताए । ढुवानीमा समय लाग्ने हिमाली र पहाडी दुर्गम जिल्लाहरुलाई प्राथमिकतामा राखेर पुस्तक बिक्री वितरण गरेको उनको भनाइ छ ।

दुर्गम हिमाली जिल्लाहरु हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालीकोट, मनाङ र मुस्ताङमा समेत पाठ्यपुस्तक पुगिसकेको झाले दाबी गरे । यो वर्ष नयाँ मेसिन खरिद गरेको, जनशक्ति, बजेट र कच्चा पदार्थ समयमा व्यवस्थापन गरेकाले समयमा पाठ्यपुस्तक छपाइ सम्भव भएको उनको भनाइ छ ।

‘फोर कलरको तीन वटा छपाइ मेसिन खरिद गर्न सफल भयौं । मेसिनको संख्या २ थियो ३ थप्दा ५ वटा छपाइ मेसिन भयो । ८० हजार प्रतिदिन छपाई क्षमता भएकोमा मेसिन थपिएसँगै प्रतिदिन छपाई क्षमता पनि २ लाख ४० हजार छपाई गर्ने क्षमतामा पुगेका छौं । कागज खरिदमा समस्या नहुँदा पुसपछि निरन्तर रुपमा मसिन सञ्चालन गरिरहेका छौं’ झाले भने ।

महाप्रबन्धक झाका अनुसार सोलुखुम्बु, धनकुटा, मोरङ, सुनसरी, झापा, सिरहा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया, दैलेख, सुुर्खेत, डोटी, डडेलधुरा, कञ्चनवुर र कैलाली जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक बिक्री वितरण हुन बाँकी छ ।

राष्ट्रिय वाणिज्य बैंकबाट ७५ करोड र नागरिक कोषबाट १० करोड गरी ८५ करोड ऋण लिएर पुस्तक छपाइ गरेको झाले बताए । पुस्तक बिक्री गरेर ४० करोड ऋण चुक्ता समेत गरिसकेको उनको भनाइ छ ।

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक भने यस वर्ष निजी प्रकाशकले छापेका छन् । जनक शिक्षाले समयमा पाठ्यपुस्तक छाप्न नसकेको भन्दै सरकारले १ देखि ५ सम्मको पाठ्यपुस्तक निजीलाई छाप्न दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?