+
+

कसरी छनोट गर्ने नेल पोलिस ?

लक्ष्मी महत, सौन्दर्यविज्ञ लक्ष्मी महत, सौन्दर्यविज्ञ
२०८० वैशाख ४ गते १७:४६

सर्लक्क परेका हातका औंला र मिलेको नङले महिलाको सौन्दर्यमा थप निखारता ल्याउँछन् । त्यसैले नङलाई आकर्षक ढंगले सिंगार्न महिलाहरु थरीथरीका नेल पोलिस (नङ पालिस) लगाउने गर्छन् ।

तर नङलाई विभिन्न रंगमा सिंगार्ने क्रममा नेल पोलिसको गुणस्तरमा भने कमैको ध्यान गएको हुन्छ । नेल पोलिस गुणस्तरीय नपरे त्यसमा भएको केमिकलले स्वास्थ्यमा समस्या ल्याउने खतरा हुन्छ ।

कसरी छनोट गर्ने नेल पोलिस ?

ब्रस

जसरी मेकअपलाई राम्रो देखाउन ब्रसको भूमिका हुन्छ, त्यसरी नै नङ चिटिक्क पारेर सजाउन नेल पोलिसको ब्रसको भूमिका हुन्छ । ब्रस जति राम्रो हुन्छ, त्यति नै राम्रो पोलिस नङमा बस्छ । त्यसैले ब्रस जहिले पनि फराकिलो र बाक्लो भएको छनोट गर्नुपर्छ ।

पातलो नेल पोलिस राम्रो

कम गुणस्तरको नेल पोलिस बाक्लो हुन्छ, सुक्न धेरै समय पनि लाग्छ । त्यसैले नेल पोलिस किन्दा एकपटक लगाएर हेर्नुपर्छ । पोलिस पातलो छ भने सुक्न पनि समय कम लाग्छ र हेर्दा पनि आकर्षक देखिन्छ ।

ब्राण्डेड नेल पोलिस

सामान्यतया अधिकांश महिलालाइ नङकै लागि ब्राण्डेड नेल पोलिसमै किन धेरै पैसा खर्च गर्ने भन्ने लाग्न सक्छ । जसकारण सस्तोमा बरु थरीथरीका पोलिस किन्नेमा ध्यान जान्छ । तर कम गुणस्तरको नेल पोलिस लगाएको अर्को दिन उक्किने हुन्छ । जसकारण नङ पहेंलो देखिन्छ र छिट्टै सकिन्छ ।

त्यसैले बारम्बार पोलिस किन्नुभन्दा एकपटक लामो समयसम्म टिक्ने नेल पोलिस छनोट गर्नुपर्छ । भिटामिन सीयुक्त नेल पोलिस राम्रो मानिन्छ । नेपालमा उपलब्ध रिजभोल, मेबिलिन, रिमेल लण्डन, कलर मी ब्युटीफुल (सीएमबी), डीएमजीएम, डायना अफ लण्डन, वेट एण्ड वाइल्ड लगायत ब्राण्डका नेल पोलिस राम्रो मानिन्छ ।

रङ टिकाउ

कम गुणस्तरको नेल पोलिसको रङ एकै किसिमको रहँदैन । एकपटक लगाउदा आकर्षक र अर्को पटक प्रयोग गर्दा रङ फिक्का हुँदै जान सक्छ । तर राम्रो नेल पोलिस छ भने त्यसको रङ सकिने समयसम्म एकै किसिमको हुन्छ ।

कसरी लगाउने ?

-नेल पोलिस लगाउनुपूर्व नङलाई सफा गर्नुपर्छ । त्यसपछि नङलाई बदामको तेल वा नरिवलको तेलले राम्रोसँग मसाज गर्न सकिन्छ ।

-त्यसपछि ब्रसमा थोरै मात्रामा पोलिस लिएर हल्कासँग लगाउनुपर्छ ।

-नङलाई सुन्दर बनाउन सधैं दुईपटक लगाउनुपर्छ । लगाएको नेल पोलिस हटाउन भिटामिन ईयुक्त पोलिस रिमुभर राम्रो मानिन्छ ।

ध्यान दिनुपर्ने कुरा

-जति ठूलो कम्पनीको पोलिस भए पनि त्यसमा केमिकल र रङको मिसावट हुने भएकाले सकेसम्म दैनिक नेल पोलिस लगाउनुहुँदैन ।

-नेल पोलिस लगाएको हातले खानेकुरा खाँदा केमिकल सिधा शरीरमा प्रवेश गर्न सक्छ । जसकारण नेल पोलिस लगाएको समयमा खानेकुरा खाँदा चम्चाको प्रयोग गर्नु उपयुक्त हुन्छ  ।

(सौन्दर्यविज्ञ महतसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?