+
+

५ वर्षभित्र चन्द्रमामा घर बनाउने चीनको लक्ष्य, चन्द्रमाको माटोबाटै इँटा तयार गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते ११:०७

काठमाडौं । चन्द्रमामा आगामी केही वर्षमा भवनहरु बन्न थाल्नेछन् । विश्वशक्ति राष्ट्र चीनले छिटै नै त्यहाँ आफ्नो आधार शिविर बनाउन चाहेको छ र निर्माणको योजना बनाउने तयारी सुरु गरिसकेको छ ।

आगामी ५ वर्षभित्रमा चन्द्रमाको माटो नै प्रयोग गरेर लुनार बेस अर्थात् चन्द्र आधार शिविर बनाउने योजना चीनको छ ।

चिनियाँ सञ्चार माध्यमका अनुसार १ सयभन्दा धेरै चिनियाँ वैज्ञानिक, शोधकर्ता तथा अन्तरीक्ष कन्ट्रयाक्टरहरुको सहभागितामा हालै चीनको वुहानमा एक सम्मेलनको आयोजना भयो । त्यसमा आगामी अन्तरीक्ष मिसनहरुका बारेमा जानकारी दिइएको थियो । साथै चन्द्रमामा भौतिक पूर्वाधार खडा गर्ने तरिकाहरुका बारेमा पनि चर्चा भयो ।

चाइनिज एकेडेमी अफ इन्जिनियरिंगका विशेषज्ञ डिंग लियुनका अनुसार वैज्ञानिकहरुको एक टोलीले चन्द्रमाको माटोबाट इँटा बनाउनका लागि चाइनिज सुपर मेसन्स नामको एक रोबोटको डिजाइन गरिरहेको चांगजियांग डेलीले जनाएको छ ।

तथापि यति छोटो समयमा उक्त लक्ष्य प्राप्त गर्न कठीन हुनेछ । चन्द्रमामा पानी नहुनु, गुरुत्वाकर्षण कम हुन, चन्द्रमामा पटक पटक भूकम्प आउनु तथा भयानक कस्मिक विकीरण हुनु प्रमुख चुनौति हुनेछन् । तर लामो समयसम्म चन्द्रमामा अन्वेषण गर्नका लागि चन्द्रमामा वस्ती हुनु आवश्यक रहेको र भविष्यमा यसको अनुभूति हुने डिंग बताउँछन् ।

डिंगका अनुसार चन्द्रमाको माटोबाट इँटा बनाउन रोबोट सन् २०२८ सम्ममा चीनको चांगी ८ मिसनका क्रममा लञ्च गरिनेछ । पहिलो इँटा चन्द्रमाको इँटाबाट चन्द्रमामै बनाइने उनको भनाइ छ ।

साथै सन् २०२५ सम्ममा चन्द्रमाको सबैभन्दा दुर्गम क्षेत्रबाट माटोको पहिलो नमूना संकलन गरेर ल्याउने योजना पनि चीनले बनाएको छ । स्मरण रहोस् चीनले सन् २०२० मै चन्द्रमाको सबैभन्दा नजिकको क्षेत्रबाट माटोको नमूना संकलन गरेको थियो ।

चीनले सन् २०२६ मा चांगी ७ मिसन लञ्च गर्ने योजना बनाएको छ । उक्त यान चन्द्रमाको दक्षिणी ध्रुवस्थित एटकेन बेसिनमा अवतरण गर्नेछ र क्रेटरहरुमा पानीको उपस्थितिका बारेमा अनुसन्धान गर्नेछ ।

– एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?