+

‘मोटोपनको ८० प्रतिशत कारण खानपान’

२०८० वैशाख  ६ गते ११:३० २०८० वैशाख ६ गते ११:३०
‘मोटोपनको ८० प्रतिशत कारण खानपान’

काठमाडौं । मोटोपन अहिले धेरैका लागि टाउको दुखाइको विषय बनिरहेको छ । यसले शरीर भद्दा हुने मात्र होइन, रोगलाई समेत निम्त्याउँछ । त्यसैले मोटोपन घटाउन अहिले कोही जिम धाइरहेका हुन्छन् त कोही खानामा कटौती गरिरहेका हुन्छन् ।

मोटोपनका विविध कारणमध्ये अस्वस्थकर खानपान प्रमुख भएको पोषणविद् आरेम कार्की बताउँछन् । ‘प्याकेट फुड र जंकफुड प्रशस्त मात्रामा खाने तर शारीरिक गतिविधि कम गर्ने भएमा हाम्रो शरीरमा खानाबाट प्राप्त हुने क्यालोरी बोसोको रूपमा जम्मा हुन थाल्छ,’ उनी भन्छन्, ‘बोसो विशेषगरी छालामुनि र पेटमा जम्मा हुन्छ ।’

पछिल्लो समय हामी प्राकृतिक खानेकुराबाट टाढा हुँदै गइरहेका छौं । बजारमा पाइने प्रशोधित खानामा हामी बढी निर्भर हुँदै गइरहेका छौं, जसले मोटोपनको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

‘पहिले ४० वर्षभन्दा माथिका व्यक्तिमा मोटोपनको समस्या बढी देखिन्छ भनिन्थ्यो । तर पछिल्लो समय बालबालिकादेखि बुढाबुढी सबैलाई मोटोपनले सताएको छ,’ उनी भन्छन्, ‘पहिले मोटोपनसँग जोडिएका रोगहरू जस्तै मधुमेह, मुटुको समस्या पनि ४० वर्षपछि देखिन्थ्यो भने अहिले २० वर्षभन्दा कम उमेरमा पनि यो समस्या बढेको छ ।’

मोटोपन बढेको कसरी थाहा पाउने भन्ने प्रश्न धेरैको हुन्छ । त्यसको लागि सबैभन्दा सजिलो उपाय भनेको पेटको आकार हो । पेट बढ्दै गएको छ भने शरीरको भित्री अंगमा बोसो जम्मा हुँदै गइरहेको छ भनेर बुझ्नुपर्ने कार्की बताउँछन् ।

मोटोपनको कारण

मोटोपनको ८० प्रतिशत कारण भनेको खानपान नै हो । त्यसबाहेक २० प्रतिशत जस्तै व्यायामको कमी, निद्राको कमी, तनाव र रोग जस्ता अन्य कारण हुने पोषणविद् कार्की बताउँछन् ।

‘मोटोपन आफैंमा पनि एउटा रोग हो । कतिपयमा वंशाणुगत कारणले मोटोपन भएको हुन्छ,’ उनी भन्छन्, ‘कतिपयमा हाइपोथाइराडिज्मको कारणले अचानक मोटोपन बढेको हुन सक्छ । हार्मोनको असन्तुलन पनि मोटोपनको अर्को कारण हो ।’

मोटोपनले मुटुरोग, मधुमेह कोलेस्टेरोलजस्ता दीर्घरोग पनि निम्त्याउँछ । मोटोपनको समस्या भएकालाई धेरै भोक लाग्ने, जति खाए पनि नअघाएको जस्तो हुने र खानेकुराको याद आइरहने हुन्छ । जसले मोटोपन झन् बढ्दै जाने कार्की बताउँछन् ।

मोटोपन घटाउने उपाय

मोटोपनसँग जोडिएर आउने विभिन्न रोगका कारण संसारभर नै धेरैको मृत्यु भइरहेको छ । त्यसैले विभिन्न रोगबाट बच्न पनि मोटोपन घटाउन जरुरी भएको कार्की बताउँछन् ।

मोटोपन घटाउन खानाको मात्रा घटाउनुपर्छ भन्ने धेरैको धारणा हुन्छ । जति कम खायो म त्यति छिटो दुब्लाउँछु भन्ने पनि सोच्छन् । खाना घट्दैमा मोटोपन घट्दैन । खाना कम खाने तर जंकफुड प्याकेट फुड खाने हो भने मोटोपन झन् बढ्न सक्छ । त्यसैले कम खाना भन्दा पनि कस्तो खाना खाने भन्ने कुरामा ध्यान दिनुपर्ने कार्की बताउँछन् ।

‘फाइबरको मात्रा कम छ भने त्यस्तो खानेकुराले शरीरमा सुगरको मात्रा बढाउँछ, भोक धेरै लगाउँछ र खानाको लत नै बसाउँछ भने त्यस्तो खानेकुराले मोटोपन बढाउँछ,’ उनी भन्छन्, ‘त्यसमा मैदाबाट बनेका, चिनी र नुनको मात्रा बढी भएका, प्याकेट बन्द खानेकुरा पर्छन् ।’

माछा, मासु, अण्डा, सागपात, फलफूल, गेडागुडी ब्रोका नफालिएको अन्नले मोटोपन घटाउन सहयोग गर्छन् । ‘फाइबर, भिटामिन र प्रोटिनको मात्रा बढी हुने भएकाले यी खानेकुरा खाँदा छिटो भोक लाग्दैन खानाको मात्रा आफै नियन्त्रण हुन्छ, र बिस्तारै मोटोपन पनि नियन्त्रण हुन्छ,’ कार्की भन्छन् ।

मोटोपन नियन्त्रणको सबैभन्दा मुख्य उपाय खानपानमा ध्यान दिनु नै हो । यसका लागि २४ घण्टाभित्र के के खानेकुरा खाने सूची नै बनाउनुपर्छ । त्यसमा प्रसोधित खानेकुरा कति हुन्छन्, त्यो पनि सोच्नुपर्ने कार्की बताउँछन् ।

‘हामी बिहानको सुरुवात नै मैदाबाट बनेको खानेकुरा दुनोट, पफ र बिस्कुटबाट गर्छौं । खानामा भात नै बढी खान्छौं, दिउँसोको खाजामा मैदाबाट नै बनेको मःम, चाउमिन, समोसा । बेलुकाको खानामा पनि भात नै खान्छौं,’ उनी भन्छन्, ‘अब यो दिनभरिको खानाबाट यो खाना घटाएर बिहान चना अण्डा, खानामा भात थोरै तरकारी दाल धेरै, खाजामा फलफूल, बेलुकाको खानामा बोक्रा नफालिएको गहुँ, कोदो, फापरको रोटी तरकारी खान सकिन्छ ।’

सन्तुलित र प्राकृतिक खानासँगै दैनिक व्यायाम, पर्याप्त निद्रा र तनाव कम लिंदा मोटोपन नियन्त्रणमा सहयोग पुग्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

मोटोपन स्वास्थ्य
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय