+
+

‘गरिबलाई के चुनाव लाग्छ र ! शहरतिर लागेको होला’

चितवनको ‘कर्णाली’ भनिने इच्छाकामनामा आमचुनावमा जस्तो चहलपहल छैन । ‘अस्ति भर्खर भोट हालेको भएर पनि होला, गाउँमा त्यति उत्साह छैन’, स्थानीय कृष्णबहादुर लामाले भने, ‘हुन त गरिबलाई के चुनाव लाग्छ र ! शहरतिर लागेको होला !’

गौरव पोखरेल सुवास पण्डित गौरव पोखरेल, सुवास पण्डित
२०८० वैशाख ७ गते २१:४२

७ वैशाख, भरतपुर (चितवन) । इच्छाकामना गाउँपालिका–४, सिमलधापका ५६ वर्षीय कृष्णबहादुर लामालाई तीन दिनपछि हुन लागेको उपचुनावको वास्ता छैन ।

नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन– २ मा १० वैशाखमा उपचुनाव हुँदैछ । पुनः नेपाली नागरिकता लिएका लामिछानेसहित सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेबाट रामप्रसाद न्यौपाने उपचुनावमा उम्मेदवार छन् ।

तर, लामाका अनुसार गाउँमा कांग्रेस उम्मेदवारबाहेक अरु भोट माग्न आएका छैनन् । ‘उम्मेदवार नै नआएपनि पार्टीका यहीँका मान्छेहरु आएर भोट मागिरहेका छन्, रवि चाहिँ भोलि (बिहीबार) बिहान आउँदैछन्’, उनी भन्छन् ।

चितवनको ‘कर्णाली’ भनिने इच्छाकामनामा उनले आमचुनावमा जस्तो चहलपहल देखेका छैनन् । ‘अस्ति भर्खर भोट हालेको भएर पनि होला, गाउँमा त्यति उत्साह छैन’, उनी थप्छन्, ‘हुन त गरिबलाई के चुनाव लाग्छ र ! शहरतिर लागेको होला !’

उनकी बुहारी प्रिती लामा त यसपालि भोटै नहाल्ने अडानमा छिन् । ‘दुई पटक हालिसकेँ, फेरि कति हाल्ने हो ?’, उनी भन्छिन्, ‘मान्छे भोट हाल्दा–हाल्दा वाक्क दिक्क भइसके ।’ यसपालि युवाबाहेक अरु भोट हाल्न कमै जालान् भन्ने उनलाई लागेको छ ।

यहाँबाट मतदान केन्द्र जान पनि टाढा छ । ‘बच्चा लिएर जानुपर्छ, दिनभरि घाममा बस्दा त झन् मर्नु हुन्छ’, लामाले थपिन् ।

अहिले चितवनको तापक्रम ४० डिग्री सेल्सियस छ । गर्मी अझ उकालो लाग्दो क्रममा छ ।

सिमलधापकी ४४ वर्षीया सुनिता तामाङले गत ४ मंसिरको आम चुनावमा भोट हाल्न जाने बेला दलका प्रतिनिधिहरुले असाध्यै कर गरेर लगेको तर फर्किँदा त्यत्तिकै छाडिदिएको बताउँछिन् ।

‘जाने बेला कम्ती गर्दैन, गाडीमा हालेर लान्छ । फर्किँदा हिँड्दै आउनुपर्छ’, उनले अनलाइनखबरसँग दुःख सुनाइन्, ‘भोट पाएपछि न घर फर्काइदिने हो । न विकास गर्ने हो, न केही गर्ने हो ।’

सिमलधापबाट भरतपुर जोड्ने सडक अहिले पनि कच्ची छ । बजार जानका लागि एउटा मात्र बस चल्छ । ‘बिहान साढे ८ बजे जान्छ, १० बजे फर्किएपछि ११ बजे फेरि बजार जान्छ’, तामाङ भन्छिन्, ‘त्यही दिनमा ६ पटक ओहोरदोहोर गर्छ ।’

सुनिताका अनुसार धुलाम्ये सडकका कारण बजार पुग्न नपाउँदै लगाएको लुगा सेतै भइसक्छ । ‘पहिले पनि चुनावमा सडक पिच गर्दिन्छु भनेका थिए, तर जितेर गएपछि कोही फर्किएर आएनन्’, सुनिताको गुनासो छ ।

गाउँबाट नजिकै रहेको उपस्वास्थ्य चौकी पुग्न डेढ घन्टा लाग्छ । ‘पिपलटारमा मेडिकल थियो, नजिकै पथ्र्यो’, उनी भन्छिन्, ‘त्यो पनि नचलेर अहिले उठिसक्यो ।’

न खानेपानी न सिँचाइ

बुधबार अपराह्न सिमलधाप पुग्दा ३६ वर्षीय सूर्यबहादुर चेपाङ रुख काटेर मुढा ओसार्दै थिए । उनलाई पनि उपचुनावको मतलब छैन ।

‘हामी जस्तालाई के चुनाव र ? काम गरिरहेको छु’, चेपाङले सुनाए, ‘भोट पनि कति चोटी दिने हो, अस्ति भर्खर पनि हालेको हो । कति जिताउने, कति मन्त्री बनाउने ?’

उनका छोरा मोती चेपाङ स्थानीय स्कुलमा कक्षा ३ मा पढिरहेका छन् । विद्यालयमा कक्षा ९ सम्म मात्र पढाइ हुन्छ ।

‘चुनावका बेला स्कुल चाहिँ १२ सम्म बनाउँछु भन्थे, त्यति गरिदिए हुन्थ्यो’, उनी भन्छन्, ‘तर अहिलेसम्म केही सुनेको छैन, फेरि भोट हाल्ने बेला भइसक्यो रे ।’

स्थानीयका अनुसार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको निजी स्कुल छ । ‘पढाउन सक्नेजति बजारै लगेर राख्छन्’, चेपाङ भन्छन्, ‘हामी जस्ताले पढाउने स्कुलको हालत छ ।’

चुनावका बेला लालपुर्जा दिने आश्वासन पाएपनि अहिलेसम्म नापी नभएको उनले गुनासो गरे । स्थानीय सेतुलाल तामाङ (४०) का अनुसार गाउँमा खानेपानीको समस्या पनि उस्तै छ ।

झण्डै ३५ सय मतदाता रहेको गाउँमा ७÷८ वटा मात्र धारा छ । ‘त्यही पनि एउटा धारा खोल्यो भने अर्कोमा पानी हुँदैन, ट्यांकी मर्मत गरेकै २० वर्षजति भयो’, तामाङ भन्छन्, ‘अहिलेसम्म पानीको व्यवस्थापन भएको छैन ।’

गाउँका अधिकांश जनता कृषि पेशामा आवद्ध छन् । तर, खेतीपातीका लागि सिँचाइको व्यवस्था छैन । ‘रातो माटो छ, सिँचाइमा आकाशको विकल्प छैन’, तामाङ भन्छन्, ‘कसैले व्यवस्था गर्न पहल गरिदिएनन् ।’

उनका अनुसार खानेपानीको समस्या समाधान गर्ने आश्वासन २०५६ सालमा भएको आम चुनाव लडेका एकनाथ रानाभाटकै पालादेखि पाइरहेका छन् ।

‘कांग्रेसबाट उठेका एकनाथले दुनियाँ कुरा गरेका थिए, होला त नि भनियो, जिताइयो पनि’, उनी थप्छन्, ‘जितेपछि यहीँ कालो बोको काटेर हात मिलाएर गएका थिए । त्यसपछि फर्किएर यो बाटोमा आएनन्, अहिलेसम्म अत्तोपत्तो छैन ।’

त्यसैले कम्तीमा स्थानीय उम्मेदवारलाई वा स्थानीय कमिटी भएका पार्टीका नेतालाई भोट दिएर जिताउनुपर्ने उनको मत छ ।

‘नजिकैको भए कहिलेकाहीँ झुक्किएर भएपनि झुल्किन्थे कि’, तामाङ भन्छन्, ‘अस्ति त घन्टीमा भोट हालियो, तर एकैपटक संसदमा गएर गृहमन्त्री पड्काउने मान्छेसँग हामीले कसरी कुरा गर्न सक्नु ?’

आफूलाई अहिले स्थानीय उम्मेदवारलाई मत दिन मन रहेको उनी बताउँछन् । तर, श्रीमती र छोराछोरीको जोड घण्टीमा भोट हाल्नुपर्छ भन्नेमा छ ।

स्थानीय कर्णबहादुर विक चाहिँ यसपालि कसलाई भोट हाल्ने भनेर सरसल्लाह नभएको बताउँछन् । ‘हामी सल्लाह गरेर भोट हाल्छौं, पहिले घण्टीमा हालेको हो’, विक भन्छन्, ‘यसपालि के गर्ने सबै टोलबासीले एकैतिर दिन्छौं ।’

सिमलधापका कृष्णबहादुर लामा नेताहरु चुनावपछि फर्किएर नआउनुमा उनीहरुको मात्र दोष देख्दैनन् ।

‘भोट हाल्ने बेला आउन लाग्यो भनेपछि नेता र उनीहरुका मान्छे आउँछन्, आउनेबित्तिकै दुई जना केटाहरु सरर जान्छन्’, लामा थप्छन्, ‘उनीहरुले दुई÷चार हजार पाएपछि किन चाहियो विकास ? पैसा खाइसकियो, अब यसलाई भोट हाल्नुपर्छ भन्छन् ।’

देशमा विकास नहुनुको कारण नै यही भएको उनी बताउँछन् । कतिपयलाई चुनावका बेला मदिरा दिएर समेत फकाउने गरेको उनले सुनाए । भन्छन्, ‘यति गरेर चुनाव जितेपछि किन फर्किएर आउनु ?’

यो पनि पढ्नुस् 

५ महिनापछि चितवन २ मा देखिएको बदलाव

चितवन–२ मा कांग्रेसको घरदैलो : स्थानीय र युवा उम्मेदवारलाई भोट

आफ्नो पक्षको माहोल टिकाइ राख्ने प्रयासमा रवि

चितवनमा एमालेको घरदैलो : आफ्नै कार्यकर्ता फकाउँदै रामप्रसाद

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?