+
+

अब १० करोडसम्मको वैदेशिक लगानी स्वचालित प्रणालीबाट स्वीकृत हुने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १९:०५

७ वैशाख, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेट वक्तब्यमा उल्लेखित १० करोडसम्मको वैदेशिक लगानीलाई स्वचालित प्रणालीबाट स्वीकृत गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ मा पहिलो संशोधन गर्दै यो प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

संशोधित नियमावली बिहीबार राजपत्रमा प्रकाशित भएको छ । लगानीकर्ताले लगानी भित्राउन धेरै निकायमा धाउनु पर्ने बाध्यता हटाउन सरकारले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । सरकारले विदेशी लगानी आकर्षित गर्न यो प्रणाली सहयोगी हुने अपेक्षा समेत गरेको छ ।

मन्त्रालयका सचिव तोयनारायण ज्ञवालीका अनुसार अब अटोमेटिक रुट (स्वचालित मार्ग)मार्फत शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी स्थापना गर्न सकिने भएको छ । साथै विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेको कम्पनीको तत्काल कायम रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पूँजी वृद्धि गर्न समेत अब यसै प्रणालीलाई प्रयोग गर्नेछन् ।
यस्तो प्रणाली उद्योग विभागले सञ्चालनमा ल्याएसँगै अब विदेशी लगानीका स्वीकृतिका लागि पेश गर्नुपर्ने विवरण तथा कागजात विद्युतीय प्रणालीबाटै पेश गर्न सकिने भएको छ ।

यस्तो स्वीकृति लिन चाहने विदेशी लगानीकर्ताले विभागले सञ्चालन गरेको विद्युतीय प्रणालीमा लग इन गरी सो प्रणालीले माग गरे अनुसारको विवरण तथा कागजात प्रविष्ठ गर्न सक्ने भएका छन् । सोही प्रणालीबाट कागजात तथा विवरण सच्याउन समेत सकिने भएको छ । यसरी सच्याएपछि विदेशी लगानी स्वीकृतको लागि विभागको विद्युतीय प्रणालीमा पेश गर्न सकिने नियमावलीमा उल्लेख छ ।

लगानीकर्ताबाट आएको आवेदनमा भएको इमेल ठेगानामा विभागले कन्फर्मेसन दिने भएको छ । यस्तो जानकारीसँगै विदेशी लगानीकर्ताले लगानी स्वीकृत भएको पत्र विभागको विद्युतीय प्रणालीबाट पाउने नियमावलीमा उल्लेख छ । यसरी स्वीकृत भएको जानकारी दिएपछि लगानीकर्ताको लगानी स्वतः स्वीकृत भएको मानिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?