+
+

‘कर्णाली राजमार्गमा इन्जिनियरिङ मापदण्ड नै पूरा भएन’

कर्णाली राजमार्गमा इन्जिनियरिङ मापदण्ड नै पुगेको छैन । सिंगल लेनको साँघुरो सडक, खाल्डाखुल्डी र मृत्युमार्गको उपनामले चिनिने यो राजमार्गका मोडहरू हेर्दा साना जीप मात्रै गुड्नुपर्ने हो । तर, यहाँ साना–ठूला जस्तासुकै गाडी पनि गुड्ने गरेका छन् ।

लीलाबहादुर भण्डारी, पूर्वप्रमुख, सडक डिभिजन कार्यालय, जुम्ला लीलाबहादुर भण्डारी, पूर्वप्रमुख, सडक डिभिजन कार्यालय, जुम्ला
२०८० वैशाख ८ गते २०:०५

कर्णाली राजमार्ग आफैंमा महत्वपूर्ण मार्ग हो । यसले नेपाली भाषाको उद्गम थलो जुम्ला हुँदै देशकै ठूलो रारा ताललाई जोड्छ । धार्मिक र पर्यटकीय रूपमा पनि निकै महत्वपूर्ण मानिएको यो राजमार्गमा दैनिक सयौं सवारी साधन गुड्छन् ।

खासमा कर्णाली विकासको आयाम पनि सडकले नै ल्याएको पाएँ र दुर्दशा पनि सडकले नै ल्याएको रहेछ । सुरुवाती चरणमै कर्णाली राजमार्ग दुई लेनको हुनुपर्ने थियो । यसमा राज्यपक्षले दूरदर्शी नजर राखेन, जसले गर्दा धेरै दुर्घटना हुने र बर्सेनि सयांैको ज्यान जाने समस्या भइरहेको छ ।

२०४२ सालमा पहिलो पटक कर्णाली राजमार्गको रेखांकन गरी सर्भे गरिएको थियो । करिब सात वर्षपछि अर्थात् २०४८ सालबाट राजमार्गका लागि ट्रयाक खोल्ने काम सुरु गरियो । सुरुमा राजमार्गको ट्रयाक खोल्न मात्रै २ करोड रुपैयाँ सरकारले बजेट विनियोजन गरेको थियो । राजमार्गको ट्रयाक खोल्न नेपाल सरकारको आर्थिक अवस्थाले नभ्याएपछि २०५६ सालमा विश्व बैंकले सडकमा हात हाल्यो ।

केही समय विश्व बैंकले सडकको ट्रयाक खोल्ने कामलाई निकै तीव्रताका साथ अघि बढाएको थियो । तर, २०५८ सालपछि सशस्त्र द्वन्द्वका कारण विश्व बैंकले निर्माणको कामलाई पूर्णता दिन सकेन । विकल्पका रूपमा विश्व बैंक र नेपाल सरकारको समन्वयमा ट्रयाक खोल्ने कामको जिम्मा नेपाली सेनालाई दिइयो ।

सेनाले छोटो समयमै ट्रयाक खोल्यो । २०६०/६१ सालमा पूर्ण ट्रयाक खोलिसकेपछि इन्जिनियरिङ मापदण्ड अनुसार राजमार्ग निर्माणको काम हुनुपर्ने थियो । बल्ल त्यसपछि मात्र राजमार्गको नामकरण गर्नुपर्ने थियो । तर, कर्णालीप्रति राज्य गम्भीर नभएकाले मापदण्डविनै कर्णाली राजमार्ग नामकरण गरी ३० चैत २०६३ बाट कर्णालीमा गाडी गुड्न थाले ।

ट्रयाक खोलेपछि तत्कालीन योजना आयोगका उपाध्यक्षसहित प्रधान सेनापति रुक्मांगद कटवालको टोली राजमार्ग हुँदै दर्जनौं गाडीमा खलंगा पुगेका थिए । अबिर जात्रा भयो, ठाउँठाउँमा गेट बनाएर स्वागत गरियो ।

तर कहिल्यै सडक नदेखेका, गाडी नदेखेका कर्णालीवासीलाई के थाहा, हामीले चढेको गाडी गुड्ने सडक कति असुरक्षित छ भनेर ! त्यसपछि कर्णालीवासीले एक बोरा चामल, एक प्याकेट नुनका लागि महिनौं दिन पैदल हिंड्नुपर्ने बाध्यताबाट छुट्कारा त पाए तर, बर्सेनि आफन्त गुमाउनुको पीडा र छटपटी कर्णालीवासीमा देखिन्छ ।

००० ०००

कर्णाली राजमार्ग नामकरणको मात्रै राजमार्ग हो । यो राजमार्गले नेपाल रोड स्ट्यान्डर्ड पूरा गरेको छैन । त्यतिबेला सशस्त्र द्वन्द्वका कारण काम गर्ने स्थिति नभएपछि सेनालाई ट्रयाक खोल्ने जिम्मेवारी दिइयो । सेनाले ब्लास्ट गरेर, भीरपाखा भत्काएर ट्रयाक खोलेरै छोड्यो । त्यो बेलाको परिस्थितिलाई हेर्दा नेपाली सेनाले उत्कृष्ट काम गरेको हो । तर, ट्रयाक मात्रै खुलेको बाटोलाई सरकारले इन्जिनियरिङ मापदण्ड के–कस्तो हो भन्ने विषयमा ध्यानै नदिई कर्णाली राजमार्ग नामकरण गर्यो ।

कर्णाली राजमार्गसँगै कर्णाली करिडोरले प्रदेशको विकासमा ठूलो टेवा पुग्नेछ । तर, यी दुवै विकासका आयामका आफ्ना आन्तरिक कमजोरी छन् ।

जुम्लादेखि २३२ किलोमिटर यात्रा ६ घण्टामा पूरा हुनुपर्छ । तर, साना निजी गाडीलाई १३ घण्टा र ठूला सवारीलाई करिब दुई दिन लाग्छ । फेरि उकालो–ओरालोका कुरा पनि जोडिन्छ, उकालो–ओरालो कति हुने ? एउटा गाडीदेखि अर्को गाडीको साइड दूरी कति हुने ? राजमार्ग भनेपछि कति फराकिलो मोड हुने ? राजमार्गका लागि न्यूनतम सडकको चौडाइ १० मिटर हुनुपर्छ । पहाडको बाटोमा किन १० मिटर चाहियो भन्ने कुरा आउला, तर राजमार्ग नामकरण गरिसकेपछि मापदण्ड पूरा हुनैपर्छ, अनि मात्र राजमार्ग भन्न मिल्छ ।

संक्षेपमा भन्दा वास्तविक राजमार्ग भनेको छोटो, सुरक्षित, सजिलो र कम खर्च हुने सडक मार्ग हो । तर, ट्रयाक खोलिएको बाटोलाई राजमार्ग बनाइयो । यसमा इन्जिनियरिङ पाटोलाई ध्यान नदिंदा कर्णाली राजमार्ग मृत्युमार्गका रूपमा चरितार्थ भएको देखिन्छ ।

***

कर्णाली राजमार्गलाई विस्तार गरी दुई लेनको बनाउन आवश्यक छ । केन्द्रीकृत व्यवस्थाबाट अहिले विकेन्द्रीकृत अर्थात् संघीयता आइसक्यो । तर, यो बाटोमा खाल्डाखुल्डी पनि राम्रोसँग पुरिन सकेको अवस्था छैन । कर्णाली राजमार्गमा अहिले दुई लेन सडक निर्माण सम्भव छ । सरकारले चाहेको खण्डमा यो सडकलाई दुई लेनको बनाउन गाह्रो छैन ।

कार्यान्वयन तहबाटै दुई लेन सडक निर्माणको बहस चल्यो भन्ने पक्कै सम्भव छ । तर, तल्लोस्तरको बहसले कुनै प्रभाव पार्दैन । सयौंको ज्यान जाने गरी भएको दुर्घटनापश्चात् कर्णाली राजमार्ग स्तरवृद्धि, दुई लेनको माग नभएको पनि होइन । तर, नागरिकको गुहार र पीडा राज्यपक्षले सुनुवाइ नगरेसम्म कर्णाली राजमार्गको दुर्दशा फेरिने छैन ।

मैले भन्दा, सरकारकै विरोध गरेजस्तो हुने तर कर्णाली राजमार्गको स्तरीयता, मापदण्ड पूरा भए/नभएको, दुर्घटना रोक्ने सवालमा अहिले पनि तीनै तहका सरकार मौन छन् । मात्र सरकारको निर्णय र चासो भए कर्णाली राजमार्ग कुनै पनि बेला दुई लेनको बन्न सक्छ । यो आवश्यकता पनि हो ।

कालीकोटको सदरमुकाम मान्म बजारदेखि सेरीघाटसम्मको पहाडमा कर्णाली राजमार्ग पुर्याइएको छ । मान्म बजारमा सहायक सडक लिन सकिन्थ्यो । सेरीघाटबाट सीधै तिला नदी तीरैतीर सडक सुचारु भए करिब ६० किलोमिटर दूरी पनि छोटो पर्ने देखिन्छ । करिब ३ घण्टा यात्रा छिटो हुन्छ ।

सिंगल लेनको साँघुरो सडक, खाल्डाखुल्डी र मृत्युमार्गको उपनामले चिनिने कर्णाली राजमार्गका मोडहरू हेर्दा साना जीप मात्रै गुड्नुपर्ने हो । तर, कर्णालीमा साना–ठूला जस्तासुकै गाडी पनि गुड्ने गरेका छन् ।

कर्णालीमा पहिलो पटक आउने हरेक पर्यटकलाई यहाँका सम्भावनाले मन ताने पनि सडकको दुरवस्था देखेर फेरि नफर्किने बाचा गर्छन्, जुन कर्णालीका लागि दुर्भाग्य हो । पूर्वाधार मजबुत नभएसम्म सम्भावनाले मात्रै अवसर दिंदैन ।

***

कर्णाली राजमार्ग जोडिएपछिका सबल पक्ष धेरै छन् । एक बोरा चामल, एक पोको नुन ल्याउन महिनौं हिंड्नुपर्ने बाध्यता अन्त्य भएको छ । यही राजमार्गकै कारण भौतिक विकासमा पनि फड्को मारेको छ कर्णालीले । थोरै भए पनि रोजगारी बढेको छ । थोरै भए पनि कर्णालीको उत्पादनले बजार पाएको छ ।

सवारी दुर्घटनाको जोखिम बढ्दै जाँदा स्तरोन्नति र मापदण्ड पूरा गर्नुपर्ने खाँचो देखिन्छ । कर्णाली राजमार्गले भलै कर्णालीवासीको दिनचर्यामा फेरबदल गरे पनि राजमार्गको दिगो विकास र भविष्य अहिले पनि बहसकै विषय छ ।

यसलाई सुधार्नुको विकल्प छैन । कर्णालीका नागरिकको जीविकोपार्जनमा सुधारका साथै कर्णालीको भौतिक पूर्वाधार, सामाजिक विकास, उत्पादन र उद्योग, पर्यटन, वातावरण र सुशासन विकासलाई अघि बढाउने एक अर्को आयाम हो– कर्णाली करिडोर ।

कर्णाली राजमार्गसँगै कर्णाली करिडोरले प्रदेशको विकासमा ठूलो टेवा पुग्नेछ । तर, यी दुवै विकासका आयामका आफ्ना आन्तरिक कमजोरी छन् । ‘जमुनाह–सुर्खेत–हिल्सा’ जोड्ने कर्णाली करिडोर कर्णाली विकासको मेरुदण्ड अर्थात् कर्णालीको लाइफलाइनका रूपमा हेरिएको छ । अहिलेको हतारले, अहिले विना इन्जिनियरिङले भोलि कर्णाली राजमार्गको जस्तै हालत त हुने होइन भन्ने प्रश्नहरू पछिल्लो समय नआएका होइनन् ।

(सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख भण्डारीसँग अनलाइनखबरका लागि यज्ञ खत्रीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?