+
+

आत्मसम्मानको खोजी गर्दै काठमाडौंमा तेस्रो राष्ट्रिय दलित सम्मेलन सुरू

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते १५:५७

८ वैशाख, काठमाडौं । ‘आत्मसम्मानको खोजी : दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक तेस्रो राष्ट्रिय दलित सम्मेलन सुरू भएको छ ।

सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै नेकपा माओवादी नेता दलजित श्रीपाईली २१औ शताब्दीमा आइपुग्दासम्म पनि दलितले भने मौलिक हक अन्तर्गत रहेको सम्मानपूर्वक बाँच्न पाउने हकको लागि आन्दोलन गर्नुपर्ने, लड्नुपर्ने विडम्बना रहेको बताए ।

उनले भने, ‘हामी २१औं शताब्दीमा छौं,तर हामी दलितले भने मौलिक हक अन्र्तगतको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको लागि नै आन्दोलन गर्नुपर्ने, माग राख्नुपर्ने बिडम्बना छ ।’

यसले पनि दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिले सशक्त भूमिका निर्वाह गर्नुपर्ने, संघर्ष गर्नुपर्ने देखाएको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीकी नेता निरा जैरुले युवा संघ, किसान संघ, विभिन्न पेशागत संघसंगठनको नेतृत्वमा दलित समुदायबाट पनि पुग्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘दलित समुदायले उत्पीडीत समुदायको संघ संगठनमा मात्रै नेतृत्व गर्ने हो भने समाज अन्र्तघुलन हुन हुँदैन । राजनीतिक दल, युवा संघ, किसान संघ, विभिन्न पेशागत संघसंगठनको नेतृत्व गर्नुपर्छ ।’ छिमेकी मुलुक भारतले द्रौपदी मुर्मु राष्ट्रपति पाउँदा नेपालले पनि दलित राष्ट्रपति पाउनुपर्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेसका नेता मीन बहादुर विश्वकर्माले दलितहरुले सदन आन्दोलन मार्फत आत्मसम्मानको खोजी गर्नुपर्ने बताए ।

उनले भने,  ‘हिजो हामीले आत्मसम्मानको खोजी गर्दै सडक आन्दोलन गर्‍यौ। त्यसले आज हामीलाई सदनमा पुर्‍याएको छ। अहिले सदन आन्दोलन गर्ने बेला हो । सदनबाट हामीले हाम्रो हक, अधिकारको लागि आवाज उठाउनुपर्छ ।’ दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिले सदनबाट दरिलो आवाज उठाउनुपर्ने उनको भनाइ थियो ।

दलित शब्दलाई राष्ट्रिय, अन्तर्राष्ट्रियकरण गर्नको लागि मात्रै पनि शब्दको अर्थसहित धेरै संघर्ष, बहस गर्नुपरेको र दलित शब्दको अर्थ कार्यान्वयनको लागि अब दलित जनप्रतिनिधिले सदनबाट प्रभावकारी भूमिका खेल्नुपर्ने उनले बताए ।

सहभागी वक्ताहरुले दलित अधिकार सुनिश्चितता भए आत्मसम्मानको खोजी पनि पूरा हुने भएकोले सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । दलित अधिकार सुनिश्चिता र दलित आन्दोलनलाई अझ संगठिन र सशक्त बनाउनको लागि विभिन्न विषयमा छलफल तथा अन्र्तकृया हुने आयोजक समता फाउन्डेसनले जनाएको छ ।

नेपालको संघीय प्रणालीमा सिमान्तकृत समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व तथा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नको लागि दलित जनप्रतिनिधिहरुको ज्ञान, सीप र अनुभवलाई संगठित गर्दै सामाजिक न्याय र समतामूलक समाज निर्माणमा उनीहरुको भूमिकालाई सशक्त बनाउने लक्ष्यका साथ सम्मेलन गर्दै आएको समता फाउन्डेसनका अध्यक्ष मदनप्रसाद परियारले बताए ।

शुक्रबारदेखि शुरु भएको सम्मेलनमा सातै प्रदेशबाट राष्ट्रिय सभा, प्रतिनिधि सभा र स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधि सहभागी भएका छन् । सम्मेलन आइतबारसम्म हुने आयोजक संस्था समता फाउन्डेसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?