
९ वैशाख, पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेशसभा संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री को बन्ने भन्ने कुरा भोलिसम्म थाहा हुने बताएका छन् ।
शनिबार प्रदेशसभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । अब नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाउँदैछन् ।
शनिबार प्रदेशसभाको बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी नेता चुमानले कांग्रेस–माओवादीबीच मुख्यमन्त्रीमा आलोपालोको सहमति भएको र पहिलो पालोमा आफूहरुले पाउनुपर्ने बताए ।
‘शीर्ष नेताहरुको कुराकानीमा म आफूले बुझेको चाहिँ माओवादी केन्द्रले नै पहिलो पालो लोओस्, दोस्रो पालो नेपाली कांग्रेसले लेओस् भन्ने कुरा भएको हो’ उनले भने । केन्द्रमा पनि पहिलो पालोमा माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेको र पछिल्लो पालो मात्र कांग्रेसबाट प्रधानमन्त्री हुने उनले बताए ।
सरकार गठन प्रक्रियाका विषयमा केन्द्रबाट निर्देशन लिनै बाँकी रहेको पनि चुमानले बताए । ‘हामी दलहरुबीच सरसल्लाह गर्ने कुरा, हामीले निर्देशन लिन पनि लिनुपर्छ निर्देशन लिने कुरा बाँकी छ’, उनले भने, ‘प्रदेश प्रमुखले आह्वान गर्नेबित्तिकै सरकार बनाउनेतिर लाग्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4