+
+

नयाँ स्टक एक्सचेन्जका लागि ३ कम्पनी प्रतिस्पर्धामा, कसरी हुन्छ छनोट ?

कमोडीटी बजारको २ लाइसेन्समा ४ कम्पनीको आवेदन

विजय पराजुली विजय पराजुली
२०८० वैशाख १० गते २२:०८

१० वैशाख, काठमाडौं । नयाँ धितोपत्र बजार सञ्चालक (स्टक एक्सचेन्ज) को लागि ३ वटा कम्पनीबीच प्रतिस्पर्धा हुने भएको छ । अब नेपाल धितोपत्र बोर्डले प्रस्तावित तीन कम्पनीमध्ये एकलाई छनोट गरेर नयाँ स्टक एक्सचेन्जको मान्यता दिने छ । जुन, निजी क्षेत्रबाट चल्ने देशकै पहिलो  स्टक एक्सचेन्ज हुनेछ । अहिलेसम्म सरकारी स्तरको ‘नेपाल स्टक एक्सचेन्ज’ नेप्सेले धितोपत्र बजारका सञ्चालकका काम गरिरहेको छ ।

नयाँ स्टक एक्सचेन्जको लागि आवेदन दिने अन्तिम दिन आइतबार मात्रै २ वटा कम्पनीले आवेदन दर्ता गराए । यसअघि शुक्रबार एक कम्पनीले यस्तो आवेदन दर्ता गराएको थियो ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि हिमायलन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको नामबाट आवेदनहरु परेको धितोपत्र बोर्डले जनाएको छ ।

यसैगरी २ वटा वस्तु विनिमय बजार (कमोडीटी एक्सचेन्ज) लागि ४ वटा कम्पनीबीच प्रतिस्पर्धा हुने भएको छ । आवेदन दिने अन्तिम मिति १० वैशाख २०७९ सम्म बस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनीको लाइसेन्सको लागि ४ वटा कम्पनीको आवेदन परेको धितोपत्र बोर्डले जनाएको छ ।

नेपाल मल्टी कमोडीटी एक्सचेन्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जले नेपाल धितोपत्र बोर्डमा कमोडीटी एक्सचेन्ज सञ्चालनको लाइसेन्सका लागि निवेदन दिएका हुन् ।

नेपाल धितोपत्र बोर्डले गत २ असोजमा एउटा स्टक एक्सचेन्ज र दुईवटा कमोडीटी एक्सचेन्जको लागि आवेदन माग गर्दै ४५ दिनभित्र आवेदन पेश गर्न आह्वान गरेको थियो । यस्तै धितोपत्र दलाल व्यवसायीको लाइसेन्सको लागि पनि आवेदन माग गरेको थियो । धितोपत्र दलाल व्यवसायीको लाइसेन्सको लागि आवेदन दिने अवधि ३० दिनको थियो ।

निर्धारित मितिमा धितोपत्र दलाल व्यवसायीको लाइसेन्सको लागि ४५ वटा कम्पनीको आवेदन परेको थियो । धितोपत्र व्यापारीको इजाजतपत्रका लागि नबिल सेक्युरिटिज लिमिटेड आवश्यक चुक्ता पूँजी १ अर्ब ५० करोडसहित बोर्डमा आवेदन दिएको थियो । यस्तै पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि आवश्यक चुक्ता पूँजी सहित आवेदन दिने कम्पनीको संख्या ३ वटा छ । मेगा स्टक मार्केट लिमिटेड, सेन्चुरी सेक्युरिटीज लिमिटेड र हिमालयन सेक्युरिटीज लिमिटेड गरी ३ वटाले ६० करोड रुपैयाँ चुक्ता पूँजीसहित बोर्डमा आवेदन दिएका छन् ।

बाँकी रहेका ४१ कम्पनीले भने सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि आवश्यक चुक्ता पूँजीसहित बोर्डमा आवेदन दिएको थिए । सेयर ब्रोकरको लाइसेन्सको लागि आवेदन दिने म्याद सकिएपनि स्टक र कमोडीटी एक्सचेन्जको लाइसेन्सका लागि आवेदन दिने अवधि १० दिन बाँकी छँदा सर्वोच्च अदालतले अल्पकालीन अन्तरीम आदेश दिएपछि लाइसेन्स प्रक्रिया सबै लाइसेन्स वितरण आवेदन प्रक्रियामै रोकिएको थियो । सर्वोच्च अदालतमा उक्त लाइसेन्स प्रक्रिया रोक्न माग गर्दै अधिवक्ता दीपकविक्रम मिश्रले रिट दर्ता गरेका थिए । सर्वोच्च अदालतले ४ कात्तिकमा अल्पकनालीन अन्तरिम आदेश दिंदै लाइसेन्स प्रक्रिया रोकेको थियो ।

ब्रोकरको लागि आवेदन दिने म्याद सकिएपछि सर्वोच्चको उक्त आदेशपछि कमोडीटी र स्टक एक्सचेन्जको आवेदन रोकिएको थियो । तर, गत २६ चैतमा न्यायधीशहरु अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासबाटले उक्त रिट खारेज गरेपछि बोर्डले लाइसेन्स दिने बाटो खुलेको थियो ।

बोर्डले पुनः ३० चैतमा सूचना प्रकाशित गर्दै सर्वोच्चको आदेशले स्थागित गरेको आवेदन प्रक्रिया सुरु गर्दै बाँकी रहेको १० दिन अर्थात् १० वैशाखभित्र बोर्डमा कमोडीटी र स्टक एक्सचेन्जको लाइसेन्सको लागि आवेदन दिन आह्वान गरेको थियो ।

उक्त अवधिमा ३ वटा कम्पनीले स्टक एक्सचेन्जको लाइसेन्स र ४ वटा कम्पनीले कमोडीटी एक्सचेन्जको लाइसेन्सको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।

ठूला घरानाको चासो   

गत शुक्रबार आवेदन दिएको हिमालयन स्टक एक्सचेन्जले व्यवसायिक घराना शंकर समूहको अगुवाईमा बोर्डमा आवेदन दिएको छ । शंकर ग्रुपका शंकरलाल अग्रवालसँगै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका, भवानी राणाका साथै खेतान ग्रुपका राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगड, ज्योती समूहका शौरभ ज्योती लगायतका ठूला व्यापारी र व्यावसायिक घरानाको लगानी रहेको एक्सचेन्जले लाइसेन्सका लागि बोर्डमा आवेदन दिएको थियो । यसमा रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि लगानी छ ।

यस्तै आइतबार गैरआवासीय नेपाली तथा नेपालका केही व्यवसायिक घरानाको समेत लगानीमा ‘नेशनल स्टक एक्सचेन्ज’को नामबाट अर्को आवेदन परेको हो । दीपक तिमल्सिनाको नेतृत्वमा दर्ता भएको उक्त कम्पनीमा एनआरएनहरुको लगानी रहेको छ । कम्पनीमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने तथा हालका अध्यक्ष कूल आचार्य, बद्री केसी लगायतको लगानी छ । यस्तै नेशनल स्टक एक्सचेन्जमा केडिया समूहको पनि लगानी छ । मनोज केडिया, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ लगायत व्यवसायिक घरानाको समेत लगानी छ ।

आइतबार नै बोर्डमा आवेदन दिएको अन्नपूर्ण स्टक एक्सचेन्जमा गणेश कुमार श्रेष्ठ, सुरेन्द्र राज वाग्ले, मुक्ति बोध न्यौपाने, अनिल सापकोटा, प्रकाश कुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेतिलाई सञ्चालकको रुपमा प्रस्ताव गरिएको छ ।

कहिले टुंगिन्छ लाइसेन्स प्रक्रिया ?

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल ब्रोकरको लाइसेन्स नियमावलीमा भएको व्यवस्थाअनुसार आवेदन आएको मितिले ३५ दिनभित्र बोर्डबाट निर्णय गरेर टुंगिने बताउँछन् ।

सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश आउनु अगाडि नै करिब ५/६ दिन उक्त आवेदनको फाइलमाथि काम भएको उनले बताए । सर्वोच्चको आदेशसँगै स्थागित भएको प्रक्रिया रिट खारेज भएको पत्र आएसँगै पुन सुरु भएको उनले बताए । अबको २०/२२ दिनमा ब्रोकर लाइसेन्सको प्रक्रिया बोर्डबाट निर्णय भएर टुंगिने उनले बताए ।  यसअनुसार करिब ३ हप्ताभित्रै स्टक ब्रोकरको लाइसेन्स प्राप्त गर्ने कम्पनीहरुको टुंगो लाग्ने छ ।

कमोडीटी एक्सचेन्ज र स्टक एक्सचेन्जको लाइसेन्सको लागि भने छुट्टै निर्देशिका रहेको र सोही अनुसार प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । ‘निर्देशिका ल्याएर मात्र लाइसेन्सको लागि आवेदन माग गरेको हो । निर्देशिकाले नै आवेदन दिँदा आवश्यक प्रक्रिया र कागजातहरु स्पष्ट रुपमा व्यवस्था गरेको छ,’ उनले भने, ‘आवेदन आएका कम्पनीहरुको बोर्ड व्यवस्थापनले प्रारम्भिक जाँचबुझ गर्न सक्ने व्यवस्था गरेको छ ।’

यसरी जाँचबुझ गर्दा बोर्ड व्यवस्थापनले आवश्यक देखेमा निवेदकसँग कुनै विषयमा स्पष्ट पार्न लगाउन सक्ने व्यवस्था धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९  ले गरेको छ ।

यसरी जाँचबुझ भएपछि  धितोपत्र बोर्ड व्यवस्थापनले सञ्चालक समितिमा पेश गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ । ‘यसरी पेश गर्दा निर्देेशिकाले तोके अनुसारको विस्तृत व्यवसायिक कार्य योजनाको अंकबाहेक अन्य अंक गणना गरी सोसहित बोर्ड समक्ष पेश गर्नेछ,’ निर्देशिकामा भनिएको छ, ‘प्राप्त निवेदनहरु मध्ये धितोपत्र बजार सञ्चालन गर्न संगठित संस्था स्थापना गर्न सिफारिस गर्न विस्तृत व्यवसायिक कार्य योजनाको मूल्यांकन गर्न बोर्ड सदस्यको संयोजकत्वमा एक समिति गठन गर्न सकिनेछ ।’

यसरी समिति गठन भएमा समितिले विस्तृत कार्य योजनाको मूल्यांकन पश्चात निवेदकहरुको योग्यताक्रम निर्धारण गरी बोर्ड समक्ष पेश गर्नुपर्ने व्यवस्था छ । निर्देशकाले नै जाँचबुझ तथा मूल्यांकनको आधारहरु र अंकभारको समेत व्यवस्था गरेको छ ।

उक्त समितिको सिफारिस प्राप्त भए पश्चात बोर्डले योग्यताक्रमको आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने एक निवेदकलाई धितोपत्र बजार सञ्चालन गर्न संगठित संस्था संस्थापना गर्न सिफारिस प्रदान गर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनी स्थापनाको सिफारिसको लागि पनि सोही अनुसारको प्रक्रिया हुने र त्यसैअनुसार टुंगो लगाइने बोर्ड अध्यक्ष हमालले बताए ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?