+

एसीसी प्रिमियर कप : ओमान सेमिफाइनलमा

२०८० वैशाख  १३ गते १७:२८ २०८० वैशाख १३ गते १७:२८
एसीसी प्रिमियर कप : ओमान सेमिफाइनलमा

१३ वैशाख, काठमाडौं । समूहको आफ्नो अन्तिम खेलमा साउदी अरबलाई ७२ रनले पराजित गर्दै ओमान एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबारको जितपछि ओमानले समूह ‘ए’बाट ६ अंकसहित अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यो समूहबाट नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

ओमानले अंकतालिकामा एक खेल कम खेलेको नेपाललाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । समूह विजेता बन्नका लागि नेपालले बिहीबार कतारलाई पराजित गर्नुपर्नेछ ।

टस हारेर पहिला ब्याटिङ गरेको ओमानले पाँच ब्याटरको अर्धशतक सहयोगमा ६ विकेट गुमाएर ३६६ रनको विशाल योगफल खडा गरेको थियो ।

ओमानका शीर्षक्रमका पाँच ब्याटरले अर्धशतक पूरा गरे । ओपनरद्वय कश्यप प्रजापती र जतिन्दरसिंहले १२५ रनको साझेदारी गरेपछि ओमानले बलियो सुरुवात गरेको थियो ।

कश्यपले ५३ बलमा ५१ रन बनाउँदा जतिन्दरले ७९ बलमा ११ चौका र २ छक्कासहित ८८ रनको शानदार पारी खेले । तेस्रो नम्बरमा आएका सोएब खान ७० बलमा ८ चौका र २ छक्कासहित ६८ रन बनाएर ३७.५ ओभरमा आउट हुँदा ओमान २३८–३ को अवस्थामा थियो ।

त्यसपछि कप्तान जिसन मक्सुद र मोहम्मद नदिमले चौथो विकेटका लागि ७३ रनको साझेदारी गरे ।

मक्सुदले ४९ बलमा ५४ रन बनाए भने नदिम ३८ बलमा ६ चौका र ४ छक्कासहित ७१ रनमा अविजित रहे । बलिङतर्फ साउदीका अतिफ उर रहमानले ३ तथा अब्दुल वाहिदले २ विकेट लिए ।

जवाफमा साउदीले शानदार सुरुवात गरेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओमानमाथि डरविहीन ब्याटिङ गरेको साउदी इनिङ्सको आधाभन्दा बढी समय सहज स्थितिमा थियो । ओपनर वाकर अल हुसेन ३ रनमै आउट भए पनि अर्का ओपनर अब्दुल वाहिदले साद खानसँग मिलेर दोस्रो विकेटका लागि १७७ रनको शानदार साझेदारी गरेका थिए ।

३०औं ओभरमा क्रिजमा सेट भइसकेका दुवै ब्याटर जय ओडेड्राको बलमा आउट भएपछि साउदीको दबाव सुरु भएको हो ।

२९.२ ओभरमा ओडेड्राले सादलाई ७८ रनको स्कोरमा बोल्ड गरे । उनले ८० बलमा १० चौका र १ छक्का प्रहार गरे ।

बलियो टिमविरुद्ध शतकको नजिक रहेका अब्दुल वाहिद त्यसको दुई बलपछि विकेटकिपर नसिम खुसीबाट क्याचआउट हुँदा साउदीलाई जितका लागि अझै १८२ रन आवश्यक थियो ।

समूहको अघिल्लो खेलमा १२४ रनको शतकीय पारी खेलेका वाहिदले ओमानविरुद्ध शतक प्रहार गर्न पाँच रनले चुके । ८६ बल खेलेका उनले १४ चौका र १ छक्का प्रहार गरेका थिए ।

विशाल लक्ष्य पछ्याएको साउदीका लागि त्यसपछिका ब्याटरले लामो साझेदारी गर्न सकेनन् ।

कप्तान हिसाम शेखले ३२ बलमा ३६ तथा अन्त्यतिर अब्दुल वाहिदले १५ बलमा २ चौका र २ छक्कासहित ब्२५ रन जोडे पनि जितका लागि पर्याप्त रहेन ।

ओमानका विलाल खानले ४ विकेट लिए । ओडेड्राले २ तथा कप्तान जिसन मक्सुदले २ विकेट लिए ।

समूह चरणको अन्तिम दुई खेलअन्तर्गत बिहीबार त्रिवि मैदानमा नेपाल र कतार तथा मूलपानी मैदानमा समूह बीका हङकङ र कुवेतबीच खेल हुनेछ ।

नेपाल र कतारबीचको खेलले समूह एको विजेता टुंगो लगाउनेछ भने हङकङ र कुवेतबीचको विजेता सेमिफाइनलमा पुग्नेछ । सो खेल जितेमा हङकङ समूह बीको विजेता बन्नेछ ।

एसीसी प्रिमियर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय