+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

टोर्नेडोमा जसले आफ्नो सबैथोक गुमाए

पाँच वर्षअघिको विनाशकारी आँधी ‘टोर्नेडो’ मा आफ्नी आमा, हजुरमा आमा र दुई बहिनी गुमाएका साहेब अन्सारी र उनको परिवारको भोगाइ ।

सागर चन्द शैलेन्द्र महतो सागर चन्द, शैलेन्द्र महतो
२०८० वैशाख १४ गते १९:४४

१४ वैशाख, बारा । ‘ढ्हल घर खान्लाके बादमे पहिले अम्मि, फिर दादी, ओहके वाद दुगु बहिन मिल…’ साहेब अन्सारी हिक्क, हिक्क गर्दै थिए ।

यो कुरा हो पाँच वर्ष पुरानो । हजुरआमा, आमा र दुई बहिनीको इहलिला कसरी समाप्त भयो भनेर उनी सुनाइरहेका छन् ।

चितवनबाट सुरु भएको विनाशकारी आँधी (टोर्नेडो) ले बारा पुगेर विनाशको रुप लियो । यही आँधीले साहेब अन्सारीकी हजुरआमा मिमा खातुन, आमा सकिमा खातुन, दुई बहिनी सम्सिदा र रुख्सारलाई लग्यो । एकै झट्कामा हजुरआमा, आमा र दुई बहिनी गुमाउँदा साहेब १२ वर्षका थिए ।

बाराको फेटा गाउँपालिकाको पुरैनियाँ गाउँमा आँधीले सबैभन्दा धेरै क्षति पुर्‍यायो । गाउँका सबैजसो घर जगैदेखि उखेल्यो । रुख, विरुवा सबै उखेल्यो । घरको भौतिक संरचना मात्र होइन आँधीले अन्सारी परिवार नै उखेल्यो ।

आँधीले खण्डहर बनाएको गाउँमा अलिकता सग्लो बचेको आफन्तको घरमा बसिरहेका साहेबले सेतो कुर्था लगाएका थिए । छरछिमेक र मनकारीले सहयोग भनेर दिएको रुपैयाँ उनले मुठीमा च्यापेका थिए । हजुरआमा, आमा र दुई बहिनीलाई सम्झेर एकोहोरो टोलाइरहेका थिए साहेब ।

टोलाइरहेका साहेबलाई हेर्दै गाउँलेहरु पीडाका सुस्केरा काढिरहेका थिए, ‘सब मरगइल । अब यो बालकको के होला ?’ जवाफमा गाउँलेका आँखा भरिन्थे ।

स्थानीय मदरसामा चार कक्षा पढिरहेका साहेबका बुबा हैदर अन्सारीको किराना पसल थियो । मदरसाकै होस्टलमा बसेर पढ्थे साहेब । स्कुल सकेर अन्सारी १७ चैत ०७५ मा कलैयास्थित फुपूको घर गए । आँधीले घर भत्काएको खबर पाएपछि राति दश बजेतिर उनलाई लिएर फुपू पुरैनियाँ आइन् ।

रातको अन्धकारमा गाउँ पुगेका साहेबले आफ्नो घर देखेनन् । यत्रतत्र हावाले उडाएका घरका टुक्रा देखे । तिनै टुक्राबीच च्यापिएकी हजुआमा, आमा, दुई बहिनी र बुबालाई देखे उनले । आँधीको बेगसँगै हजुआमा, आमा, दुई बहिनीको प्राण उडिसकेको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो आँधीको औसत गति ३४ किलोमिटर प्रतिघण्टा थियो । आँधीको गतिभन्दा बढ्ता थियो आँधीभित्रको हावाको गति । आँधीले ल्याउने त्यो हावाको गति करिब २ सय देखि २६५ किलोमिटर प्रतिघण्टा थियो ।

छिमेकीले भग्नावशेषमा च्यापिएकी साहेबकी हजुरआमा, आमा र दुई बहिनीलाई निकाले । ‘बुबाको मात्र सास चलेको थियो अरुको सास थिएन’, साहेब सम्झिने प्रयास गर्छन् । छेउमै बसेका छन् साहेबका बुबा हैदर अन्सारी, उनी भन्छन्, ‘म त बेहोस भइहालें । के भयो, कसरी भयो, केही थाहा नै पाइन् ।’

आँधीले पुरैनियाँ गाउँका १० जनाको ज्यान लियो । जसमध्ये अन्सारी परिवारले चार जना गुमायो । पाँच वर्ष पहिले आँधीमा चार जना गुमाएको अन्सारी परिवारमा अहिले हजुरबुबा इजदार मियाँ अन्सारी, बुबा हैदर अन्सारी र नाती साहेब अन्सारी मात्र छन् । यो परिवारले आँधीमा आफ्नो घरका महिला सदस्य सबै गुमाएको थियो ।

आँधीको कहर नआउँदासम्म बडो आनन्दले चलेको थियो अन्सारी परिवार । आँधी आउनुभन्दा ६ महिना पहिले असोज ०७५ मा मात्रै हैदर कतारबाट फर्केका थिए । कतारबाट जोगाएर ल्याएको पैसा लगाएर उनले पक्की घर बनाएका थिए । बचेको पैसा उनले किराना पसलमा लगाएका थिए । उनी दिनभर पसलमा बस्थे । पसलकै आम्दानीको भरमा हैदरले ७ जनाको परिवार पालेका थिए ।

‘विदेशबाट दुःख गरेर ल्याएको पैसाले घर बनाएको थिएँ, पसल चलाएको थिएँ’, हैदर सम्झिन्छन्, ‘छोरालाई पढाउँछु र आफू आनन्दले पसल चलाएर बस्छु भन्ने सोचेको थिएँ ।’

आनन्दले परिवार चलाउने, छोरालाई पढाउने हैदरको सपना हुरीले उडायो । व्यवस्थितत भइसकेको अन्सारी परिवारलाई हुरीले सडकमा ल्याएर पछार्‍यो ।

आँधी आएको साँझ हैदर सहित घरमा पाँच जना थिए । ‘म जमात (धार्मिक यात्रा) मा रौतहट गएको थिएँ,’ हैदरका बुबा इजदार सम्झिन्छन्, ‘पोता (नाती साहेब) फुपूको घर गएको थियो । घरमा मेरो बुढी, बुहारी र दुई नातिनी थिए ।’

धार्मिक यात्रा अधुरै छाडेर गाउँ फर्किदा इजदारको परिवार पनि अधुरो भइसकेको थियो । ७४ वर्षे इजदारले जीवनको उत्तरार्धमा आफूभन्दा सानो उमेरका परिवारका सदस्यलाई ‘मिट्टी’ (अन्तिम संस्कार) दिए ।

बुवा हैदर र हजुरबुवा इजदारको साथमा साहेब । न्सारी परिवारमा अहिले उनीहरू मात्रै छन् ।

खण्डहर भएको पुरैनियामा पाँच वर्ष अगाडि भेट्दा इजदार परिवारका चार जना च्यापिएर मरेको आफ्नो घर अगाडि डाँको छाडेर रोइरहेका थिए । भत्केको घर देखाउँदै उनी चिच्याउँथे, ‘मेरो परिवार यहीँ छ । निकाल ।’

पाँच वर्ष पुरानो त्यो भयावह घटनाको घाउ अझै भरिएको छैन । बयोवृद्ध इजदार दिनभर घरमै हुन्छन् । बुढेसकालमा श्रीमती, बुहारी र नातिनी गुमाएका उनी मौनताको लामो सुस्केरा काढ्छन र दैव पुर्काछन्, ‘मेरो त सबै बर्बाद भयो, अल्लाह ।’

पुरानो घर भएकै ठाउँमा सरकारले अन्सारी परिवारका लागि दुई कोठे घर बनाइदिएको छ । तर, अन्सारी परिवार त्यो घरमा नभइ छेउकै अर्को घरमा बस्छ । ‘त्यही ठाउँमा हाम्रो परिवार सखाप भयो’, हैदर सुनाउँछन्, ‘त्यहाँ बस्नै मन लाग्दैन ।’

कतारमा दुई वर्ष पसिना बगाएर आर्जेको पैसा लगानी गरेर सुरु गरेको पसल हुरीले गायब बनाएपछि हैदरले नयाँ काम सुरु गरे । ‘आजभोलि लुगा सिलाउने काममा लागेको छु’, आँधीले अन्सारी परिवारलाई पेसा परिवर्तन गर्न बाध्य बनायो ।

चार कक्षा पढिरहेका साहेब अन्सारीले स्कुल छाडे । स्कुल छाडेका अन्सारी अहिले पर्साको टाँडीमा मोटरसाइकल वर्कसपमा काम गर्छन् । मोटरसाइकल मेकानिकको काम सिकिरहेका उनी तलब नलिइकनै काम गरिरहेका छन् ।

‘काम सिक्दैछु, हाफ इन्जिन बनाउन सक्छु’, उनी आफ्नो सीप सुनाउँछन् । साहेब आफूले काम गर्ने मोटरसाइकल वर्कसपमै बस्छन् । घरमा इजदार मिया र हैदर मिया मात्र बस्छन् ।

अन्सारी परिवारले यादको फेर समाउँदै पाँच वर्ष बिताइसक्यो र, अझै धेरै वर्ष बिताउन बाँकी छन्

‘त्यो घटनापछि यसले पढ्नै सकेन’, छोरा साहेबलाई देखाउँदै हैदर भन्छन्, ‘मैले पनि निकै समयसम्म काम गर्न सकिन ।’ आँधीपछि साहेब अन्सारीलाई पढाइदिने भन्दै स्थानीय नेता र राहतकर्मीको भीड लागेको थियो । ‘पढाइदिन्छु भन्ने मान्छेहरु त्यसपछि त हराए’, हैदरले सुनाए ।

आधा परिवार गुमाएको अन्सारी परिवार त्यो भयानक आँधी सम्झिन चाहँदैन । तर, भुल्न पनि सक्दैन । ‘मेरो सबै चिज बर्बाद भयो, मान्छे, सम्पत्ति सबै डुबायो, पसल थियो त्यो पनि लग्यो सामानसहित’, हैदर थाप्लो समाउँछन् । आमा, श्रीमती र दुई भाञ्जीको सम्झनाले हैदरको मुटु बिझाउँछ ।

घरबाहिर काममा व्यस्त भएर हैदर र साहेब सम्झनाको जालबाट मुक्ति पाउँछन् । तर, जीवनको उत्तरार्धमा परिवार गुमाएका बयोबृद्ध इजदार मियाँलाई यो सुविधा पनि छैन । दिनभर घरमै बस्ने इजदारलाई सम्झनाले नै धोका दिन्छ बेला बेला । ‘बुढो भए कति कुरा सम्झिनै सक्दिन’, काँधमा राखेको गम्छाले पसिना पुस्छन् र भाग्यलाई सराप्छन्, ‘खोटा नसिब !’

आँधी बिर्सन खोजिरहेका हैदर भरिन लागेको घाउ कोट्याएर फेरि दुःखाउन चाहदैनन् । बरु उनी भन्छन्, ‘म त बेहोस भएर अस्पतालमा थिए । मलाई धेरै सम्झना छैन ।’ तर, बेला-बेला सम्झनाको आँधी भने उनको हृदयमा चलिरहन्छ । सम्झनाको आँधीमा उड्दै उड्दै उनी विगत चियाउँछन्, ‘सबकुछ थियो अम्मा, बिबि….।’

समय बित्दै जाँदा सम्झनाका काँडा झन्, झन् तिखा हुन्छन् । सम्झनाहरुले नै बिझाउन थालेपछि बिर्सने प्रयास गरिरहेका इजदार र हैदर त आफूलाई जसो-तसो सम्हाल्छन् ।

तर, साहेब आफूलाई सम्हाल्न सक्दैनन् । आमाको नाम लिनेबित्तिकै उनी टिलपिल भएका आँखा छोप्न टाउको निहुराउँछन् ।

हजुरआमा, आमा र बहिनीको नाम लिँदै उनले पाँच वर्ष अगाडि भनेका थिए, ‘दुःख परेको बेला धेरै याद आउँछ होला । खुशी भएको बेला आमाको सम्झना आउँछ होला ।’ र, बोल्नै दकस मानिरहेका साहेब यतिखेर खुसी छन कि दुःखी ?

अन्सारी परिवारका यी पुरुषसँग अब आमा, श्रीमती, बुहारी र नातिनीका सम्झना मात्र छन् । यादको सहारामा बाँचिरहेका छन् अन्सारी परिवारका तीन पुरुष । ‘याद त आउँछ नि’, हैदरको अवाज सानो सुनिन्छ । छेउमै बसेका साहेब टाउको निहुराउँदै भन्छन्, ‘दुःख पर्दा अम्मिको याद आउँछ ।’

ढोकामा उभिएर छोरा र नातीको यादनामा सुनिरहेकाछन् इजाद । ‘त्यही याद त छ हाम्रो साहारा’, इजाद घरभित्र छिर्छन् ।

‘माझी द माउन्टेन म्यान’ सिनेमाको एक दृश्यमा अभिनेता नवाजुद्धिन सिद्धुकी भन्छन्, ‘जुग बित गया तेरी याद के सहारे ।’ अन्सारी परिवारले यादको फेर समाउँदै पाँच वर्ष बिताइसक्यो र, अझै धेरै वर्ष बिताउन बाँकी छन् ।

लेखक
सागर चन्द

शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?