+
+

यस गर्मीयाममा कस्तो पहिरन चल्तीमा ?

सुक्निता चौलागाईं, फेसन डिजाइनर सुक्निता चौलागाईं, फेसन डिजाइनर
२०८० वैशाख १४ गते १९:१३

गर्मी मौसम सुरु हुनासाथ फेसनप्रेमीहरु हर्षित हुन्छन् । किनकि जाडोका बाक्ला र भद्दा लुगालाई थन्काएर आफूलाई मनपर्ने छरिता र फिट पहिरन लगाउन पाइन्छ । फेसन उद्योगहरुले पनि गर्मीयामलाई नै लक्षित गरेर नयाँ नयाँ पहिरन बजारमा ल्याउने गर्छन् ।

एक त चर्को घामबाट शरीरलाई शीतलता प्रदान गर्नु र अर्को आकर्षक देखिनु दुवै कुरालाई तालमेल मिलाउनुपर्ने हुन्छ । अहिलेको गर्मीयाममा विशेषगरी गत वर्षजस्तै र केही परिमार्जित पहिरन शैली चल्ने ट्रेण्ड देखिन्छ ।

बेली पाइन्ट

केही वर्षदेखि चल्तीमा रहेको बेली पाइन्टले यस वर्ष पनि निरन्तरता पाउने देखिन्छ । यो अहिले युवतीहरुको रोजाइमा परेको छ । यो पाइन्ट थाइमा ट्याप (फिटिङ) र घुडामुनि धेरै खुल्ला डिजाइनको हुन्छ । यो स्ट्रेचेबल (तन्किने) खालको भएकाले लगाउन सजिलो हुन्छ, साथै धुन पनि सहज हुन्छ ।

बेली पाइन्टलाई हिजोआव फर्मल डे«सअपमा मिक्स गरेर लगाउने चलन बढेको छ । यो पाइन्ट कडा र नरम दुवै खालको जिन्समा उपलब्ध हुन्छ । यसलाई अहिले चलेका जुनसुकै डिजाइनका सर्ट वा टिसर्टमा लगाउँदा सुहाउँछ ।

लाइक्रा स्ट्रेचेबल फर्मल पाइन्ट र टिसर्ट

बेलीपछि अहिले गर्मी मौसमको लागि सजिलै लगाउन तथा धुन सजिलो स्ट्रेचेबल लाइक्रा कपडाबाट बनेका फर्मल पाइन्ट र टिसर्ट पनि अहिले चल्तीमा छ । यसमा आफूलाई मनपर्ने रङका पाइन्ट-सर्ट छानीछानी लगाउन सकिन्छ । यो पनि अफिसियल र क्याजुअल वेयरको रुपमा लगाएको पाइन्छ । यो केटाकेटी दुवैले लगाउने गरेको पाइन्छ ।

फ्ट जिन्स

सफ्ट जिन्स पनि अहिले युवतीहरुले निकै रुचाएका छन् । किनभने नरम जिन्स लगाउन सहज हुनुका साथै यो विभिन्न रङमा उपलब्ध भएकाले पनि यो पहिरन रोजाइमा परेको हो । यसलाई फर्मल र क्याजुअल दुवै रुपमा प्रयोग गर्न सकिन्छ । अहिले चलनचल्तीमा रंगीन पाइन्ट छन् ।

स्कर्ट सदाबहार समर पहिरन

युवतीहरुका लागि स्कर्ट गर्मीयामको सदाबहार पहिरन हो भन्दा पनि हुन्छ । घुँडाभन्दा माथिसम्म आउने खालका स्कर्ट अहिले चल्तीमा छ । त्यसमा सुहाउने टिसर्ट र सर्ट लगाउन सकिन्छ । स्कर्ट अहिले कोरियन शैलीको धेरै रुचाइन्छ ।

सर्ट-टिसर्ट

ओपन नेक, क्लिभेज देखिने खालका, पफ स्लिभ (बाहुलामा पुक्क परेको) सर्ट वा टिसर्ट अहिले एकदमै चलेका छन् । यी पहिरनले पनि यस वर्षको गर्मीयाममा निरन्तरता पाउने देखिन्छ ।

यसबाहेक क्रप टप, सिल्क र प्रिन्टेट जर्जेट कपडाका सर्ट युवतीहरुको रोजाइमा परेका छन् । यी सर्ट-टिसर्ट बेली पाइन्ट, नरम जिन्स र लाइक्रा कपडाका पाइन्टमा र स्कर्टमा लगाउने गरेको पाइन्छ ।

कस्ता रंगका कपडा ?

आँखालाई शीतल दिने किसिमका अहिले चलेका रंग जस्तै, क्रिम, ल्याभेन्डर क्रिम, फिक्का पिंक, निलो, कागती जस्तो पहेंलोलगायत रंग बढी रुचाएको पाइन्छ । यसबाहेक पहेंलो, हरियो, कालो, रातो, सेतो खरानीलगायत विभिन्न रंगका सर्ट, पाइन्ट, टिसर्ट, स्कर्ट रुचाउने गरेको पाइन्छ ।

(सुक्निता चौलागाईं कोटेश्वरस्थित भ्यालेन्टिनो द बुटिककी सञ्चालिका हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?