+
+

मुख्यमन्त्री पाण्डेका सारथी  : पहिलो पटक मन्त्रिपरिषदमा दुई महिला

अमृत सुवेदी अमृत सुवेदी
२०८० वैशाख १५ गते १८:५०
सुशीला सिम्खडा, सुरेन्द्रराज पाण्डे र सरस्वती अर्याल ।तस्वीर : प्रविन मगर

१५ वैशाख, पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषदमा दुई महिलालाई सारथी रोजेका छन् । नेपाली कांग्रेसबाट सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला शि‌म्खडा मन्त्री बनेकी छन् ।

यसअघि हरेक प्रदेश सरकारमा प्रश्न नउठोस् भनेर भाग पुर्‍याइदिए जसरी हरेक प्रदेश सरकारमा एक जना महिला मन्त्री नियुक्त गर्ने गरिएको थियो । पृथ्वीसुब्बा नेतृत्वको सरकारमा नरमाया पुन स्वास्थ्य तथा सामाजिक विकासमन्त्री थिइन् ।

कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको कांग्रेस सरकारका १२ मन्त्रीमा स्वास्थ्यमन्त्री मधुमाया अधिकारी एक्लो महिला थिइन् । चुनावपछि बनेको खगराज अधिकारी नेतृत्वको एमाले सरकारमा पनि एक मात्र महिला सीता सुन्दास अर्थमन्त्री थिइन् ।

राज्यका सबै अंगमा संविधानले नै कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरे पनि प्रदेश सरकारमा कहिल्यै त्यसरी सहभागिता भएन । महिलालाई एउटा मन्त्री दिएर प्रश्न गर्ने टार्ने मात्र गरिएको प्रदेशसभा सदस्यहरुको गुनासो थियो ।

कांग्रेस–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका पाण्डेले सुरुमै दुई जना महिला मन्त्री नियुक्त गरेका छन् ।

तर, महिला मन्त्री भए पनि समावेशी भने हुन सकेन । २ जना महिलालाई सारथीका रुपमा नियुक्त गरे पनि जनजाति, दलितले अझै अवसर नपाएको तर मन्त्रिपरिषद बिस्तार हुँदा त्यो पनि पूरा हुने पाण्डेले बताएका छन् ।

कांग्रेसमा धेरै आकांक्षीलाई उछिन्दै समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बनेकी स्याङ्जाकी सरस्वती अर्याल मन्त्री बनेकी छन् । मन्त्री बन्न काठमाडौं धाउनेहरुको लामो सूचीबाट सभापति शेरबहादुर देउवाको रोजाइमा परेकी अर्याललाई मुख्यमन्त्री पाण्डेले विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।

माओवादीबाट सिम्खडा मन्त्री बनेकी छ् । खगराज अधिकारी सरकारको भौतिक पूर्वाधारमन्त्री भएका संसदीय दलका नेता हरिबहादुर चुमान आफैं मन्त्री बन्न चाहन्थे । तर आलोपालोको सहमति अनुसार चुमान मुख्यमन्त्री हुने भएकोले अहिले सरकारमा जान नहुने मत माओवादी केन्द्रमा बलियो बन्यो ।

चुमान सरकारमा नजाँदा अर्का केन्द्रीय सदस्य सिम्खडाले मन्त्री बन्ने अवसर पाइन् । ‘हरि माननीय मुख्यमन्त्री बन्ने भएपछि तपाईं मन्त्री भन्ने त थियो, तर आजै सपथ होला भन्ने त मैले सोचेकै थिइनँ,’ सिम्खडाले भनिन्, ‘बिहान बैठक भनेर आउँदै थिएँ, चुमानजीले फोन गरेर मन्त्री हुन आउनुपर्‍यो भन्नुभयो ।’

सरस्वतीको कांग्रेसी परिवारको विरासत

विद्यार्थी राजनीतिबाट आएकी अर्याल महिला संघको कार्यवाहक अध्यक्षसम्म भएकी थिइन् । महिला संघ अध्यक्ष उमा रेग्मी सांसद बनेपछि उनले ५ वर्ष कार्यवाहक भएर चलाएकी थिइन् । सत्याग्रहका बेला उनको परिवारका ९ जना सदस्य जेल परेका थिए ।

त्यसैले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले २०६४ सालको संविधान सभा चुनावमा उनको नाम समानुपातिकमा राखेका थिए । दोस्रो संविधानसभा निर्वाचन– २०७० र आम चुनाव ०७४ मा पनि उनको नाम समानुपातिक सूचीमा परिरह्यो, सांसद भने बनिनन् । मंसिरमा भएको चुनावमा भने अर्यालको नाम प्रदेशसभातर्फ खसआर्यको पहिलो नम्बरमा थियो, त्यसैले प्रदेशसभा सदस्य बनिन् ।

अर्याल हाल देउवा समूहमा छिन् । स्याङ्जामा गोपालमान श्रेष्ठ पटकपटक चुनाव लड्दा अवसर नपाएकी अर्याललाई यसपटक गोपालमानकै जोडबलमा प्रदेश मन्त्री बनाइएको कांग्रेस नेताहरु बताउँछन् ।

देउवा समूहबाटै टकराज गुरुङ मन्त्री बन्न कसरत गरिरहेका छन् भने शेखर कोइराला–गगन थापा समूहबाट महेन्द्रध्वज जिसी मन्त्री बन्ने पक्का जस्तै छ ।

सुशीलालाई मिलेको एकपछि अर्को पद

जनमोर्चाबाट राजनीति थालेकी सिम्खडा ५२ सालबाटै माओवादी आन्दोलनमा लागेकी थिइन् । पार्टीले दिएको एकपछि अर्को जिम्मेवारी पूरा गरेकी उनी गोरखको सहइन्चार्जसम्म भइन् । २०६४ मै संविधानसभा सदस्य चुनावका लागि नाम पनि सिफारिस भयो । तर सांसद बन्ने अवसर पाइनन् । यो पटक प्रचण्ड आफैं गोरखा २ बाट सांसद चुनिएका बेला उनी प्रदेशसभा सदस्य भइन् ।

उनले सुरुमा सभामुख हुन चाहेकी थिइन् तर गोरखाकै कृष्ण धिताल सभामुख बने । एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमै मन्त्री हुन चाहन्थिन्, तर संसदीय दलका नेता चुमानको नेतृत्वमा दुई मन्त्री सरकारमा गयो । माओवादीले सिम्खडालाई दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको थियो । अहिले प्रमुख सचेतक छाडेर मन्त्री भइन् । माओवादी नेताहरुका अनुसार सिम्खडाकै नेतृत्वमा सरकारमा जाने सम्भावना बढी छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?