+
+

वरिष्ठ साहित्यकार काइँलालाई एक लाख राशिको पुरस्कार

रासस रासस
२०८० वैशाख १६ गते १७:२१

१६ वैशाख, काठमाडौं । नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरे ।

सो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । कार्यक्रममा उपप्रधानमन्त्री खड्काले मुलुकको राजनीतिक परिवर्तनमा स्रष्टा, साहित्यकारको अतुलनीय योगदान रहेको बताए । ‘राजनीतिक नेतृत्वले खुट्टा कमाइरहेका बेला स्रष्टा साहित्यकारका तर्फबाट परिवर्तनका लागि महत्वपूर्ण योगदान रह्यो’, उनले भने । अधिनायकवादी सोच परास्त गर्न साहित्यकार काइँलाले गरेको योगदान बिर्सन नसकिने उनको भनाइ छ ।

मुलुकमा देखिएको बेथितिको अन्त्य, अर्थतन्त्रलाई माथि उठाउनुपर्ने चुनौती समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको जनाउँदै उनले देश र जनतालाई आशा जगाउने गरी काम गर्नुपर्ने बताए । ‘देश र जनतालाई आशा जगाउने गरी मुलुक चलाउन सकेनौं भने धेरै ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई साकार पार्न कुनै पनि त्रुटि हुँदैन’, उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राजनीतिक परिवर्तनका लागि लेखेर लड्ने व्यक्तित्वका रुपमा काइँला रहेको र उनले स्रष्टाका तर्फबाट लोकतान्त्रिक आन्दोलनमा नेतृत्व गरेको स्मरण गरे । उनले लेखकमा सत्ता र शक्तिका लागि लेख्ने र जनताका लागि लेख्ने दुईखाले प्रवृत्ति देखिएको बताए । लेखकले राजनीतिक परिवर्तनलाई थप सशक्त बनाएको प्रमाणित भइसकेको भन्दै मन्त्री किरातीले लेखकले जनमत निर्माण गर्नुपर्ने बताउनुभयो ।

सम्मानपछि काइँलाले लेखक दिवसकाे अवसर पारेर लेखकलाई पुरस्कृत गर्न सुरु गरिनु सराहनीय काम रहेको बताए । लेखक सदा प्रतिपक्ष हुनुपर्नेमा जोड दिंदै उनले प्रजातन्त्रका लागि लेखकको अत्यन्त ठूलो भूमिका रहेको धारणा राखे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?