+
+

हामी सडकमा गर्जियौं भने स्यालहरु लखेटिन्छन् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १९:३४

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका हरेक सकारात्मक काममा प्रहार भइरहेको बताएका छन् । बहिर्गमित लडाकूलाई २ लाख रुपैयाँ दिने निर्णयमा पनि स्यालहुइयाँ मच्चाउन खोजिएको भन्दै यसलाई छुट दिन नसकिने बताए ।

माओवादीसम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघको महाधिवेशनको उद्घाटन गर्दै प्रचण्डले परिवर्तनका उपलब्धिहरुलाई नकारात्मक रुपमा प्रचार गर्ने काम भइरहेको टिप्पणी गरे ।

शहीदहरुलाई शहीदका रुपमा सम्मान गरिनुपर्छ भन्दा प्रहार भएको र अयोग्य लडाकूहरुलाई २ लाख रुपैयाँ दिने निर्णयमा पनि स्यालहुइयाँ मच्चाउन खोजिएको उनले बताए । उनले भने, ‘मैले आफ्नै आविष्कारबाट निर्णय गरेको होइन, अर्कै सरकारले निर्णय गरेको एउटा परिस्थितिमा सर्वोच्च अदालतले बहिर्गमित लडाकूलाई २ लाख रुपैयाँ दिनू भनेपछि त्यही फैसला कार्यान्वयन गर्न खोज्दा स्यालहुइयाँ मच्चाउन खोजिएको छ ।’

नकारात्मक वातावरण बनाएर सम्पूर्ण त्यागलाई अपमानित गर्ने र उल्ट्याउने षड्यन्त्र अझ अगाडि जानसक्ने उनले बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी नजाग्दा, हामी नगर्जिंदा स्यालहरु कराउन थालेका छन्, स्यालहरुले रजाइँ गर्ने जस्तो गर्न थालेका छन् । त्यसलाई छुट दिन सकिंदैन ।’

आफ्नो कतै कमजोरी भएर आत्मसमीक्षा गरेर करेक्सन गर्नुपर्ने भए पनि जनयुद्ध र जनआन्दोलनमार्फत प्राप्त राजनीतिक उपलब्धिमाथि नै हुने प्रहार स्वीकार्य नहुने प्रचण्डले बताए । उनले अगाडि भने, ‘मैले जनयुद्ध भनिरहेको छैन, भूमिगत जाने कुरा गरिरहेको छैन । हामी सडकबाट गर्जियौं भने मात्र पनि स्यालहरु लखेटिन सक्छन् ।’

अब छिट्टै पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भन्दै उनले परिवर्तन उल्ट्याउन खोज्ने प्रवृत्ति स्वीकार्य नहुने बताए । ‘जरुरी पर्छ भने फेरि एकचोटि त्याग र संघर्षको कीर्तिमान बनाउन तत्पर छौं, तर यो स्यालहुइयाँ सहन तत्पर छैनौं भन्ने घोषणा गर्नुपर्नेछ’, उनले भने ।

प्रधानमन्त्री भएपछि आफूले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेको प्रधानमन्त्री प्रचण्डले बताए । श्रमिकहरुको हक अधिकारका लागि काम गरेको र सामाजिक सुरक्षा कोषबारे ऐतिहासिक निर्णय गरेको उनले दाबी गरे ।

गाउँगाउँमा पुस्तक पुर्‍याएको भए पनि कसैले यसबारे नबोलेको, बरु सबभन्दा भ्रष्टहरुले नै भ्रष्टाचार विरुद्ध बोलेको देख्दा अचम्म लाग्ने गरेको उनले बताए । सरकारले भ्रष्टाचारविरुद्ध कडा वक्तव्य दिएपछि ‘सामन्तका छाउरा’हरु बाहिर आएको भन्दै उनले अगाडि भने, ‘अझ पूर्वबाट रे । मैले फागुन १ गते जनयुद्ध दिवसका दिन बिदा दिएर त्यसको जवाफ दिएँ ।’

उनले चुनावी घोषणाअनुसार भ्रष्टाचारको छानबिनका लागि आयोग बनाउने समेत बताए । ‘हामीले निर्वाचन घोषणापत्रमा एउटा आयोग बनाएर २०४८ यताका सबै भ्रष्टहरुको छानबिन गर्ने भनेका छौं । छिट्टै त्यो आयोग बनाउने मेरो पहल हुनेछ’, प्रधानमन्त्री प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?