+
+

‘सहायक श्रीमान्’ले जापानमा जित्यो एक करोड ३० लाख राशीको पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १७:४१

काठमाडौं । बहुपतिप्रथाबारेको डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान’ (को-हजबेन्ड)ले जापानमा एक करोड ३० लाख रुपैंया राशीको पुरस्कार जितेको छ । गणेश पाण्डे निर्देशित फिल्मले जापानको क्युशु सहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिभलमा एक लाख अमेरिकी डलर बराबरको रकम जितेको हो ।

मेहोदो महोत्सवमा १२२ देशका ३ हजार ५३३ वटा फिल्म प्रतिस्पर्धामा थिए । अन्तिम प्रतिस्पर्धामा को-हजबेण्डले यो पुरस्कार जितेको हो । १० दिने महोत्सवको अन्तिम दिन भएको अवार्ड समारोहलाई निर्देशक पाण्डेले भर्चुअल सम्बोधन गरेका थिए ।

‘यो अवार्डलाई मैले करिअरको अहिलेसम्मकै ठूलो उपलब्धि ठानेको छु । नेपाली डकुमेन्ट्रीले एक लाख डलरको कोष जित्नु आफैंमा गर्वको कुरा हो । यो मेरो मात्र नभई नेपाल र नेपालीको लागि पनि खुसीको खबर हो,’ उनले भने । निर्देशक पाण्डेलाई आगामी डकुमेन्ट्री परियोजनाका लागि यो अवार्ड दिइएको हो । ‘यो रकमले अर्को नयाँ डकुमेन्ट्री फिल्म दर्शकलाई पस्किन मलाई मद्दत मिल्नेछ,’ उनले भने ।

यसैबीच, यो फिल्मले क्यानडाको नर्थबे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि पुरस्कार प्राप्त गरेको छ । पाण्डे निर्देशित अघिल्लो डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ यसअघि विश्वव्यापी चर्चित भएको थियो, जसले भूकम्पमा बाँच्न सफल पात्रको कथा भन्छ । फिल्मले काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा समेत एक हजार डलरको पुरस्कार जितेको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । नेपालका केही हिमाली जिल्लामा प्रचलित घरमा जति दाजुभाइ छन्, सबैले एउटै श्रीमती बिहे गर्ने अनौठो चलनका विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । निर्देशक पाण्डेले चार वर्षको छायांकन र अनुसन्धानबाट को–हजबेण्ड निर्माण गरेका हुन् ।

फिल्मकी निर्मात्री शारदा गैरे हुन् । प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुन् । यसैगरी ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र पुकार तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका छन् । संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?