+
+

सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते १६:१४

२० वैशाख, काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएपछि बुधबार उनले जिल्ला प्रहरी परिसर काठमाडौंमा आत्मसमर्पण गरेका थिए । लगत्तै उनलाई प्रहरीले जिल्ला अदालत, काठमाडौं उपस्थित गराएको थियो ।

अदालतले ठगी र संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असूली गरेको गिरोहसँग मिलेमतो देखिएपछि उनीविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी भएको थियो ।

‘पक्राउ पूर्जी जारी भएको थाहा भएपछि उहाँ जिल्ला प्रहरी परिसर, काठमाडौंमा हाजिर हुनुभएको हो’, उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी श्यामलाल ज्ञवाली भन्छन्, ‘थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।’

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरु पक्राउ परेको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयान लिने क्रममा रामबहादुर थापा ‘बादल’ र कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला उनीहरुले कर्मचारी प्रशासन र सचिवालयलाई ‘मिलाएर’ नेपाली युवालाई शरणार्थी बनाउने प्रयास गरेको खुलेको थियो ।

शरणार्थी दर्ता प्रक्रियामा छुटेकाहरुबारे अध्ययन र थप प्रमाण जुटाउन भन्दै २९ असार २०७६ मा केपी शर्मा ओली नेतृत्वको सरकारले गृह मन्त्रालयका तत्कालिन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदल गठन भएबाटै अनुसूची फारममा नाम थप गरेर शरणार्थी बनाउन एउटा गिरोह लागि परेको थियो ।

त्यही काममा तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईको पनि संलग्नता देखिएको प्रहरीको दाबी छ । राईलाई प्रहरीले मंगलबार ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो । हाल उनी जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?