+
+

अरु चामलभन्दा ब्राउन राइस कसरी स्वस्थकर ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० वैशाख २० गते १७:२३

काठमाडौं । प्रायः नेपालीको भान्सामा सेतो चामलको भात पाकेकै हुन्छ । किनकि यो नेपालीको मुख्य खान्की हो, अनि यसमा क्यालोरी पनि धेरै हुन्छ । यद्यपि कतिपयले भने मोटोपन बढाएको भन्दै भात छोडेको पनि पाइन्छ ।

भातले मोटोपन बढेको विश्वास गर्नेका लागि अहिले खैरो चामल अर्थात् ब्राउन राइस विकल्प हुन सक्छ । ब्राउन राइसलाई स्वस्थकर खानेकुराको रुपमा मानिन्छ । पछिल्लो समय सर्वसाधारणदेखि सेलिब्रिटीसम्मले आफ्नो खानामा यसलाई समावेश गर्न थालेका छन् ।

ब्राउन राइस अन्य चामलको तुलनामा स्वस्थकर नै हुन्छ त ? यसले स्वास्थ्यमा के के फाइदा पुर्‍याउँछ ? लगायत विषयमा पोषणविद् अनुश्री आचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश :

सेतो चामलभन्दा ब्राउन राइस किन स्वस्थकर ?

प्रशोधनको क्रममा बोक्रा ननिकालेको वा थोरै मात्रा निकालेको चामल ब्राउन राइस हो । ब्राउन राइस प्राकृतिक एवं ब्लिच नगरिएका कारण यसमा पौष्टिक तत्त्व बढी हुन्छ । यसमा कार्बोहाइड्रेटका साथै प्रोटिन, फाइबर र अन्य पोषक तत्त्व पाइन्छ । जसकारण सेतो चामलको तुलनामा ब्राउन राइस फाइदाजनक हुन्छ ।

म्यागनिज, फस्फोरस, सेलेनियम र पोटासियम जस्तो खनिज पदार्थ यसमा सुरक्षित हुन्छ । जबकि सेतो चामल प्रशोधनका क्रममा त्यसमा रहेको फाइबर, मिनरल्स, भिटामिन आदि नष्ट हुने गर्छ । ब्राउन राइसमा भने यी सबै पोषक तत्त्व सुरक्षित हुन्छ ।

ब्राउन राइसले तौल घटाउँछ भनेको धेरै सुनिन्छ, यसमा कति सत्यता छ ?

सेतो चामलको तुलनामा ब्राउन राइसमा कम क्यालोरी हुन्छ । यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले मेटाबोलिजमलाई सक्रिय बनाउँछ । ब्राउन राइसमा फाइबर धेरै हुने भएकाले थोरै भात खाँदा पनि पेट भरिएको अनुभूति हुन्छ । त्यसैले तौल घटाउन चाहनेका लागि यो फाइदाजनक हुन्छ ।

ब्राउन राइसका फाइदा अरु के के छन् ?

ब्राउन राइसमा पाइने फाइबरले कोलेस्टेरोल घटाउन मद्दत गर्छ । ब्राउन राइस खाँदा रगतमा चिनीको मात्रा बढ्दैन, त्यसैले यो मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ ।

ब्राउन राइसमा शरीरका लागि आवश्यक पर्ने रेसा पाइन्छ । जसले पाचनतन्त्रलाई मजबुत बनाउन मद्दत गर्छ । यसमा रहेको फाइबरले आन्द्रालाई पनि राम्रो गर्छ । ब्राउन राइसमा म्याग्नेसियम पनि हुन्छ, जुन हड्डी बलियो बनाउन लाभदायक हुन्छ । क्याल्सियमको अवशोषणका लागि म्याग्नेसियम पनि आवश्यक हुन्छ ।

ब्राउन राइसमा पाइने सेलिनियमले मुटुलाई स्वस्थ राख्न मद्दत गर्नुका साथै प्लेकका कारण धमनीमा हुने गतिरोधमा कमी आउँछ ।

ब्राउन राइस खाँदा वा खरिद गर्दा ध्यान दिनुपर्ने कुरा के के छन् ?

ब्राउन राइस स्वस्थकर छ भनेर धेरै परिणाममा खानु हुँदैन । अत्यधिक खाँदा आलस्यता, बान्ता र टाउको दुख्ने समस्या हुन सक्छ । ब्राउन राइसको गुणस्तरमा ध्यान दिनुपर्छ । ब्राउन राइस भनेर अर्कै चामललाई कलर गरेर बेचेको पनि हुन सक्छ ।

ब्राउन राइसमा आर्सेनिक हुन्छ । आर्सेनिक एक विषाक्त रसायन हो, जुन खैरो चामलमा  पाइन्छ । यसले विभिन्न प्रकारको स्वास्थ्य समस्या निम्त्याउन सक्छ । त्यसैले सेतो चामललाई चटक्कै छोडेर ब्राउन राइस लामो समयसम्म खानु हुँदैन ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?