+
+

टोपबहादुर रायमाझीलाई खोजी गरिरहेका छौं : काठमाडौं प्रहरी प्रमुख

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १३:४१

२१ वैशाख, काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले बताएका छन् ।

नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि प्रहरीले उनको खोजी थालेको हो ।

काठमाडौंमा बुधबार पक्राउ पूर्जी जारी हुँदा उनी भने अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक महोत्सवमा विशेष अतिथिका रुपमा सहभागी भइरहेका थिए ।

कार्यक्रममा सभामुख देवराज घिमिरे पनि सहभागी थिए । राति ९ बजे उनी घिमिरेसँगै भैरवहा विमानस्थलबाट काठमाडौं फर्कने तयारीमा भएपनि पक्राउ परिनसक्ने भएपछि उनले स्थलमार्गबाट काठमाडौं आउने तयारी थालेका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी कार्कीका अनुसार प्रहरीले उनको खोजी गरिरहेको छ । हालसम्म रायमाझी पक्राउ परेका छैनन् । केही प्रहरी अधिकृतहरुले उनले आफू कार्यालयमा हाजिर हुने भन्दै पक्राउ नगरिदिन आग्रह गरेको बताएका छन् । तर, काठमाडौं प्रहरी प्रमुख कार्कीले आफूलाई त्यस्तो कुनै फोन नआएको बताए ।

प्रहरी स्रोतका अनुसार रायमाझीको नक्कली शरणार्थी बनाउने गिरोहका सदस्य केशव दुलाल र सानु भण्डारीसँग निकट सम्बन्ध देखिएको छ । दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनका निजी सहायक थिए । भण्डारी ललितपुरका व्यवसायी हुन् ।

उनीहरुले रायमाझीलाई विभिन्न स्थानमा घुमाउनेदेखि उनको छोरा सन्दीपको नाममा डेढ करोड रुपैयाँको चेक समेत काटिदिएका थिए । छोरा सन्दीपलाई पनि प्रहरीले गएराति नै बुटवलबाट पक्राउ गरिसकेको छ ।

रायमाझीले बुधबार अनलाइनखबरसँग टेलिफोन कुराकानी गर्दै आफूमाथि लगाइएको अभियोगमा कुनै सत्यता नभएको दाबी गरेका थिए ।

‘चिनजानका आधारमा घुम्न गएका बेला चिया कफी खाएको बेला फोटो खिचेको मान्छेले किन त्यसरी नक्कली चेक काट्यो, त्यो हामीसित पनि छैन, त्यसको के अर्थ छ ?’ उनले भने, ‘यसको छानबिन राम्ररी होस्, सत्यतथ्य राम्ररी आओस् । गैरभुटानी शरणार्थीलाई विदेश पठाउने नाममा मेरो न हिजो सर्मथन थियो, न अहिले र भोलि रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?