+
+

नेपालमा ए लाइसेन्स प्रशिक्षकको अभाव हो ?

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०८० वैशाख २१ गते १९:११
विष्णु गुरुङ ।

२१ वैशाख, काठमाडौं । ए डिभिजन लिगको नवप्रवेशी टिम एफसी खुमलटारका टेक्निकल डाइरेक्टर विष्णु गुरुङले बुधबार पदबाट राजीनामा दिए । उनको गन्तव्य सम्भवतः कीर्तिमानी ८ पल्टको लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लब हुनेछ ।

१९ फागुनदेखि सुरु भएको शहीद स्मारक ए डिभिजन लिगमा मनाङले १३औं चरणमा आउँदा लगातार ६ हार व्यहोरेसँगै किरण श्रेष्ठले राजीनामा दिएपछि मनाङमा प्रशिक्षक पद खाली छ । ए डिभिजन लिगको साविक विजेता मछिन्द्रले पनि टेक्निकल डाइरेक्टरका रुपमा विष्णुलाई अनुबन्ध गर्ने चासो दिएको थियो ।

अघिल्लो सिजन संकटाबाट ए डिभिजन लिगमा परीक्षण भएका विष्णुले ए लाइसेन्स प्रशिक्षकमाझ ‘स्मार्ट’ छवि बनाएका छन् । क्लबहरुबाट उनको मागलाई हेर्दा नेपालमा क्षमतावान प्रशिक्षकको कमी भएको हो कि भन्ने भान हुन्छ ।

खुमलटारबाट राजीनामा दिएर मनाङतर्फ पाइला अगाडि बढाइरहेका विष्णुलाई एन्फाको नियमले अप्ठेरो पार्नसक्छ । उनी यता न उता पनि हुनसक्छन् । किनभने सिजनको बीचमा क्लब परिवर्तन गर्न नपाउने लिगको नियमलाई क्लबहरुले स्वीकार गरेका छन् ।

लिग निर्देशक सञ्जीव मिश्र भन्छन्, ‘एकपल्ट एउटा क्लबमा दर्ता भएपछि खेलाडी र अफिसियल जो भए पनि सिजनभर अर्को क्लबमा जान पाउँदैनन् ।’

अघिल्लो वर्ष आफ्नै खर्चमा कतार पुगेर ए लाइसेन्स प्रशिक्षक बनेका विष्णुले संसारमा नभएको नियम एन्फामा लागू हुनु अनौठो भएको भन्दै अनलाइनखबरसँग असन्तुष्टि व्यक्त गरे ।

यो सिजन लिगका दौरान दुईवटा क्लबका प्रशिक्षकले पद छाडेका छन् । अघिल्लो महिना नेपाली मूलका अमेरिकी प्रशिक्षक प्रदीप हुमागाईंले श्रम स्वीकृतिको प्रक्रिया विलम्ब भएको भन्दै चर्च ब्वाइजको जिम्मेवारी छाडेका थिए ।

विदेशमा रहेका ५ र एन्फाको जिम्मेवारीमा रहेका ६ जनाबाहेक २३ जना प्रशिक्षक ए डिभिजन लिगका लागि उपलब्ध छन् । तर, क्लबहरु प्रशिक्षक खाली नै राखेर खेलमा सहभागी भइरहेका छन्, प्रशिक्षक पदपूर्ति गर्नेतर्फ कम चासो दिएका छन् ।

चर्च ब्वाइजले बालगोपाल महर्जनसँग सम्झौता गरेको थियो । नेपाली फुटबलका सफलमध्येका एक महर्जन यो सिजनको सुरुवातमा अप्रत्यासित रुपमा क्लबविहीन भएका थिए ।

सन् २०१६ मा पहिलोपल्ट ए लाइसेन्स प्रशिक्षण सुरु गरेयता नेपालबाट ३७ जनाले सो कोर्ष उत्तीर्ण गरेका छन् । तर, ए डिभिजन लिगमा मनाङसहित खुमलटार र एपीएफसँग ए लाइसेन्स प्रशिक्षक छैन । चर्च ब्वाइज र फ्रेण्ड्स क्लबमा ए लाइसेन्सधारी प्रशिक्षक २–२ जना छन् ।

लगातार ६ हारपछि प्रशिक्षकविहीन अवस्थामा बुधबार त्रिभुवन आर्मीमाथि रोमाञ्चक जित हासिल गरेको मनाङका अध्यक्ष विजय घलेले नयाँ प्रशिक्षकसँग सम्झौता नजिक पुगेको बताएका छन् । एनआरटीले राजुकाजी शाक्यबाट प्रशिक्षण लिइरहेको छ भने प्रमुख प्रशिक्षकका रुपमा एन्फामा जीवन सिन्केमान दर्ता छन् । एपीएफको प्रशिक्षण रत्नकाजी महर्जनले गरिरहेका छन् । उनीसँग ए लाइसेन्स छैन । एएफसीको क्लब लाइसेन्सिङ पाएको एपीएफले कुमार थापालाई मुख्य प्रशिक्षकका रुपमा एन्फामा दर्ता गरेको छ । उनी यतिबेला अमेरिकामा छन् ।

खुमलटारमा लिग सुरु हुनेबेला ए लाइसेन्सप्राप्त दुईजना प्रशिक्षक थिए । याम गुरुङले प्रमुख प्रशिक्षकको जिम्मेवारीमा रहँदा विष्णु टेक्निकल डाइरेक्टर थिए । एन्फाले यामलाई यू–२० महिला टिमको प्रशिक्षक बनाएपछि उनी सोही जिम्मेवारीमा छन् । विष्णुले बुधबारमात्र राजीनामा दिएपछि खुमलटार प्रशिक्षकविहीन छ ।

ए लाइसेन्स गरेका ६ जना प्रशिक्षकहरु एन्फाको जिम्मेवारीमा छन् । अनन्त थापा राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक छन् । याम गुरुङले यू–२० टिमको जिम्मेवारी पाएका छन् । मछिन्द्रलाई लगातार दुई सिजन लिग जिताएका प्रवेश कटुवाल राष्ट्रिय पुरुष टिमको सहायक प्रशिक्षक छन् । हरि खड्का एन्फाको टेक्निकल डाइरेक्टर भएका छन् भने सन्जीत सिंह कोचिङ एजुकेसन र नवीन महर्जन युथ इलाइट प्रमुख छन् ।

एन्फाले सन् २०१७ देखि ए लाइसेन्स प्रशिक्षण कोर्ष सञ्चालन सुरु गरेको हो । पहिलो ब्याचमा १६ जना प्रशिक्षार्थी रहेकोमा ८ जना मात्र उत्तीर्ण भएका थिए । त्यसयता हरेक वर्ष ए लाइसेन्स कोर्ष सञ्चालन हुँदै आएको छ । सन् २०१९/२० मा एन्फाले पहिलोपल्ट स्वदेशमै ए लाइसेन्स प्रशिक्षण कोर्ष सञ्चालन गरेको थियो ।

तर, प्रक्रिया नपुगेको भन्दै एन्फाले उत्तीर्ण गरेका चारजनाको लाइसेन्स खारेज गरिदिएको थियो । खारेजीमा परेकामध्ये विष्णु गुरुङले गत वर्ष कतारमा गएर पुनः कोर्ष गरेका थिए । कतारमै गएर कोर्ष पूरा गरी जीवन सिन्केमान पनि ए लाइसेन्स प्रशिक्षक बनेका छन् ।

ए लाइसेन्स भएकामध्ये कुमार थापा, युगलकिशोर राई र मधु कार्की अमेरिका पलायन भएका छन् । अर्का अमेरिकी प्रदीप हुमागाईंको श्रम स्वीकृति प्रक्रिया नहुँदा नेपालमै बेरोजगार छन् । राजेन्द्र तामाङ यतिबेला जापान भ्रमणमा छन् । उनी सम्भवतः लिग सकिएपछि मात्र नेपाल आउनेछन् ।

विदेशमा रहेका ५ र एन्फाको जिम्मेवारीमा रहेका ६ जनाबाहेक २३ जना प्रशिक्षक ए डिभिजन लिगका लागि उपलब्ध छन् । तर, क्लबहरु प्रशिक्षक खाली नै राखेर खेलमा सहभागी भइरहेका छन्, प्रशिक्षक पदपूर्ति गर्नेतर्फ कम चासो दिएका छन् ।

एएफसीले क्लब लाइसेन्सिङ लागू गरेसँगै २०७६ को एडिभिजन लिगदेखि एन्फाले सबै क्लबहरुमा ए लाइसेन्स प्रशिक्षक अनिवार्य गरेको हो । त्यसयता क्लबहरुले कागजमै सीमित राखे पनि ए लाइसेन्स प्रशिक्षकबाट क्लब दर्ता गर्नुपर्ने बाध्यता आइलाग्यो ।

‘ए लाइसेन्स लिएका केहि प्रशिक्षकहरुसँग क्लब फुटबलबारे अनुभवको कमी हुँदा क्लबहरु त्यस्ता प्रशिक्षकप्रति आकर्षित भएनन्,’ एन्फाका एकजना अधिकारीले भने, ‘पुराना प्रशिक्षकहरु आफूलाई स्तरोन्नत्ति गर्न ध्यान दिएनन् ।’

नेपालमा ए लाइसेन्स प्रशिक्षकको अभाव नै भएको भन्न मिल्दैन । किनभने अझै पनि आधा दर्जनबढी प्रशिक्षकहरु जिम्मेवारीविहीन छन् । तर, लिगको स्तर र आर्थिक मन्दीका कारण क्लबहरु नियमको छिद्र प्रयोग गरी कम खर्चमा काम निम्ट्याउनेतर्फ केन्द्रित देखिन्छन् ।

यद्यपि १४ वटा क्लबले ए डिभिजन लिग खेल्ने नेपालमा अहिलेसम्म ३७ जनामात्र ए लाइसेन्स प्रशिक्षक हुनुलाई पर्याप्त मान्न सकिन्न ।

ए लाइसेन्सधारी प्रशिक्षक र उनीहरुको जिम्मेवारी

बालगोपाल महर्जन : चर्च ब्वाइज
नवीन न्यौपाने : त्रिभुवन आर्मी
उपेन्द्रमान सिंह : जिम्मेवारीविहीन
कुमार थापा : अमेरिका
हरि खड्का : एन्फाको प्राविधिक निर्देशक

किशोर केसी : मछिन्द्र
याम गुरुङ : यू-२० राष्ट्रिय महिला टिम
राजेन्द्र तामाङ : जिम्मेवारीविहीन (जापान भ्रमणमा)
मेघराज केसी : थ्रीस्टार

छिरिङ लोप्साङ : जिम्मेवारीविहीन
सुनील श्रेष्ठ : जावलाखेल
सुमन श्रेष्ठ : हिमालयन शेर्पा
मृगेन्द्र मिश्र : फ्रेण्ड्स

उर्जन श्रेष्ठ : फ्रेण्ड्स
सनोज श्रेष्ठ : सातदोवाटो
दर्शन भक्तराज लावती : चर्च ब्वाइज
सल्यान खड्गी : संकटा

किरण श्रेष्ठ : मनाङबाट हालै राजीनामा
मधु कार्की : अमेरिका
युगलकिशोर राई : अमेरिका
प्रदीप हुमागाईं : चर्च ब्वाइजबाट हालै राजीनामा

सन्जीत सिंह : कोचिङ एजुकेसन प्रमुख, एन्फा
नवीन महर्जन : युथ एण्ड इलाइट प्रमुख, एन्फा
अनन्त थापा : राष्ट्रिय महिला टिम
प्रवेश कटुवाल : राष्ट्रिय पुरुष टिम, सहायक प्रशिक्षक

मनोज रञ्जित : जिम्मेवारीविहीन
हरिओम श्रेष्ठ : जिम्मेवारीविहीन
सुलभ जंग राणा : जिम्मेवारीहीन
प्रज्वल प्रताप क्षेत्री : जिम्मेवारीविहीन
रविन्द्र शिलाकार : प्राविधिक विश्लेषक, संकटा

चेतन घिमिरे : नेपाल पुलिस
विजय महर्जन : जिम्मेवारीविहीन
विकास डंगोल : जिम्मेवारीविहीन

चक्र तामाङ : त्रिभुवन आर्मी महिला टिम
चेतनारायण श्रेष्ठ : एन्फा कोचिङ एजुकेसन
विष्णु गुरुङ : खुमलटारको प्राविधिक निर्देशकबाट हालै राजीनामा
जीवन सिन्केमान : एनआरटी

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?