+
+

वैद्य–बास्तोलाको मिलन, नेतृत्वबारे अलमल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २३ गते २०:५३

२३ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय मजदुर दिवसको अबसर पारेर दुई पूर्व माओवादी समूह–नेकपा क्रान्तिकारी माओवादी र नेकपा (बहुमत) ले पार्टी एकीकरण गरे ।

दुई पार्टीबीच एकतापछि नयाँ पार्टीको नाम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राखिएको छ । अध्यक्षमा मोहन वैद्य चयन भएका छन् भने धर्मेन्द्र बास्तोला प्रवक्ता तोकिएका छन् ।

एकतापछि सबैभन्दा उपल्लो तहको समितिका रुपमा १५ सदस्यीय कार्यालय गठन गरिएको छ । त्यस्तै ८७ सदस्यीय सचिवालय र २६७ सदस्यीय नवौं महाधिवेशन आयोजक समिति सार्वजनिक गरिएको छ ।

कार्यालय समितिमा वैद्य र बास्तोला समूहबाट ७–७ जना राखिएको छ । एक जना सदस्य पछि नियुक्त गरिने ती पार्टीका नेताहरुले बताएका छन् । कार्यालय समितिमा मोहन वैद्य, सिपी गजुरेल, रामसिं श्रीस, हरिभक्त कँडेल, परि थापा, इन्द्रमोहन सिग्देल, सीताराम तामाङ, धर्मेन्द्र बास्तोला, हेममन्त प्रकाश वली, उदयबहादुर चलाउने, गुणराज लोहनी, कृष्ण धमला, बाबुराम गजमेर र निर्मल राई रहेका छन् ।

तत्कालिन नेकपा माओवादीबाट वैद्य २०६९ मा अलग भएका थिए । उनीसँगै रामबहादुर थापा बादल, विप्लव लगायत तत्कालीन एकीकृत माओवादीबाट अलग भएर नेकपा–माओवादी गठन भएको थियो ।

२०७० मा वैद्य नेतृत्वको पार्टीबाट विप्लव, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोलालगातका नेताहरु अलग भएर विप्लवको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी गठन गरेका थिए । र, गत वर्षको बैशाखमा विप्लवबाट अलग भएर बास्तोलाले नेकपा (बहुमत) गठन गरेका थिए ।

व्यवस्था फेर्ने दाबी

मूलधारका पार्टीहरुप्रति नै ठूलो असन्तुष्टि प्रकट भइरहेको समयमा माओवादी धारका दुई समूहबीच एकीकरण भएको छ । वर्तमान संघीय लोकतान्त्रिक व्यवस्थाको विकल्पमा ‘संघीय जनगणतन्त्र’ स्थापना गर्ने उनीहरुको उद्घोष छ ।

‘क्रान्तिकारीहरुलाई एकतावद्ध गर्न र एउटा बैकल्पिक सत्ता (समाजवादी सत्ता) स्थापनका निम्ति हामीले अभियान चलाएका छौं,’ पार्टी एकताको औचित्यबारे बास्तोला भन्छन्, ‘त्यस अन्तर्गत यो एकता भयो ।’

त्यस्तो व्यवस्था भए देशमा राजनीतिक स्थिरता समेत हुने दाबी उनको छ । ‘संसदीय व्यवस्थाको विकल्प छ, त्यो हामीले स्थापित गर्नुपर्छ’, बास्तोला भन्छन्, ‘त्यो भयो भने देशमा राजनीतिक स्थिरता हुन्छ । राजनीतिक स्थिरता भयो भने धेरै कुरा हुन्छ ।’

त्यस्तो व्यवस्था प्राप्त कसरी हुन्छ र त्यसको स्वरुप कस्तो हुन्छ भन्ने प्रश्नमा भने नेताहरु त्यति प्रष्ट छैनन् । यद्यपि त्यसको सामान्य जवाफ दिँदै बास्तोला भन्छन्, ‘त्यो परिवर्तन गर्ने तागत संसदमा होइन, जनआन्दोलनमा हुन्छ । त्यसैबाट यो प्राप्त हुन्छ ।’

यो उद्देश्य प्राप्तिका लागि अन्य शक्तिहरुलाई पनि आफ्नो पार्टीमा ल्याउने प्रयास भइरहेको नेताहरुले बताएका छन् । नेता परि थापाका अनुसार मोहनबिक्रम सिंहको नेकपा मसालबाट विद्रोह गरेका शान्तबहादुर नेपाली नेतृत्वको समूहसँग समेत एकीकरणको प्रयास भएको छ ।

पहिले सँगै रहेका र हाल संसद बाहिरै रहेका विप्लव र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको पार्टीसँग भने एकता नगर्ने नीति क्रान्तिकारी कम्युनिष्ट पार्टीको छ ।
‘विप्लवजीहरुको चुनावबाट साम्यवाद, समाजवाद ल्याउने कुरा छ, त्यो हास्यास्पद भइहाल्यो,’ थापाले भने, ‘आहुतीजीहरु पुँजीवाद आइसक्यो, समाजवाद ल्याइहाल्ने हो भन्नुहुन्छ । यसमा पनि हाम्रो कुरा मिल्दैन ।’

नेतृत्वको विषयमा अन्यौल

वैद्यसँग एकतामा आएका बास्तोला चाहन्थे पार्टीको नेतृत्वबारे अध्यक्षमण्डल प्रणाली लागू होस् । तर, त्यसो गर्दा पार्टी कमिटी भद्दा हुने भन्दै केही नेताले असतुष्टि जनाएपछि वैद्यलाई अध्यक्ष बनाउने सहमति भयो । नेकपा (बहुमत)को नेतृत्व गरेका बास्तोला प्रवक्तामै सीमित भए ।

यद्यपि अब महाधिवेशन गरेर सांगठानिक प्रणालीबारे निर्णय लिने भनिएकाले त्यसप्रति बास्तोला आशावादी छन् । ‘अहिलेलाई अध्यक्ष प्रणाली बनाऔं भनियो, भोलि आवश्यकता अनुसार परिवर्तन हुन जान्छ’, उनले भने ।

अध्यक्ष वा महासचिव प्रणाली, एकल वा बहुपदमा जाने भन्नेबारे महाधिवेशनले निर्णय लिने भनिएको भए पनि त्यो कहिले हुन्छ भन्ने निश्चित छैन । महाधिवेशनको मिति तोकिएको छैन ।

‘महाधिवेशनको मिति तोकिएको छैन’, नेता परि थापाले भने, ‘एक वर्षभित्र त्यो सम्भव नै हुँदैन । त्यसमा अलि समय लाग्ला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?