+
+
अन्तर्वार्ता :

‘कांग्रेसमा भद्रगोल पहिला पनि हुन्थ्यो, तर अहिलेको अवस्था भिन्न छ’

विधि अनुसार पार्टी चल्नुपर्‍यो । पार्टीका सबैलाई मेरो यही सुझाव हो । अरुलाई म भन्दिन, नेपाली कांग्रेसले पार्टी विधान अनुसार गरेको छ कि छैन ? विधान अनुसार पार्टी चलेको छैन । प्रक्रिया र पद्धतिको उल्लंघन गरेर पार्टी चलेको छ । यो दुरावस्था त्यसकै कारणले आएको छ ।

नरहरि आचार्य   नरहरि आचार्य  
२०८० वैशाख २४ गते २०:३७

गत मंसिरको चुनावबाट ठूलो दल बनेर उत्साहित कांग्रेस गत उप निर्वाचनबाट निराश हुन पुग्यो। उप निर्वाचनले नेतृत्वप्रति कार्यकर्ताको गुनासो बढेको छ । सक्रिय राजनीति गर्नेहरु नेतालाई भेटेर वा कार्यक्रम मार्फत पार्टीको गतिहिनता बारे बोलिरहेका छन् ।

कांग्रेस नेता नरहरि आचार्यले आफ्नो गुनासो र पार्टी रुपान्तरणका विषय सुनाउन चाहन्छन् । तर, सक्रिय राजनीति गर्न शरिरले साथ नदिएकाले मूल नेतृत्वकहाँ पुग्ने अवस्था छैन । तथापी, नेताहरु उनलाई भेट्न आएको बेला आफ्ना कुरा सुनाउँछन् । गत शुक्रबार उनले नेता प्रदीप पौडेललाई आफ्नै निवासमा डाके ।

पौडेललाई डाक्नुको दुईटा मूल उद्धेश्य थिए । पहिलो, आफ्नो क्षेत्रको प्रतिनिधि भएकाले क्षेत्रगत मुद्धा उठाउनु । दोस्रो, बाटो विराएको कांग्रेसलाई गुनासो सुनाउनु र सुझाव दिनु । पौडेल मार्फत आफ्ना कुरा मूल नेतृत्वकहाँ पुर्‍याउन चाहन्थे ।

आचार्यले आमन्त्रण गरेकाले यसै क्षेत्रका सांसद पौडेल शुक्रबार दिउँसो २ बजे उनको निवास महाराजगञ्ज पुगे । करिब ४५ मिनेट दुई जनाको संवाद पछि पौडेललाई अघि राखेर अनलाइनखबरसँग अन्तरवार्ता गर्न आचार्य राजी भए ।  अनलाइनखबरकर्मी लिलु डुम्रेले आचार्यसँग गरेको कुराकानी ।

पार्टी नेता तथा क्षेत्रको सांसद प्रदीप पौडेललाई घरमै बोलाएर के के कुरा सुझाव वा गुनासो राख्नुभयो, भन्न मिल्छ ?

कांग्रेस भएर बसेको मान्छेको मनमा अहिले के हुन्छ, त्यही हो, मेरो सुझाव । नयाँ पुस्ताका तपाईहरुले कांग्रेसलाई कसरी बनाउने हो? हामीले आशा धेरै गरेको हो । त्यो आशालाई मर्न दिनु भएन । पार्टीमा सबैसँग मिलेर कांग्रेसलाई रुपान्तरण गर्न पर्‍यो ।

आफ्नो क्षेत्रको प्रतिनिधि भएको हुँदा प्रदीपलाई नै बोलाएको हुँ । मेरो भ्वाइस पार्टी नेतृत्वलाई पुर्‍याइदिनुस् भन्न बोलाएको हुँ । म कांग्रेसको कार्यकर्ता भएकाले चासो छ नि । त्यसको उत्तर मलाई कसले दिन्छ? भनेर मैले सोध्न मेरो क्षेत्रको प्रतिनिधि (प्रदीप पौडेल) लाई अहिले बोलाएर भन्न खोजेको कुरा नै त्यही हो ।

काठमाडौं-५ को मतदाता भएकाले आफ्नो प्रतिनिधिलाई बोलाएर गुनासो राखेको हुँ । उहाँलाई बोलाएपछि क्षेत्रको सामूहिक र पार्टीगत दुबै गुनासो हुन्छ । पार्टीमा तपाईहरुले जिवन्तता ल्याउन पर्‍यो । जनप्रतिनिधि भएकाले उहाँ भेट्न त आइरहनु हुन्छ । मेरो गुनासा सुनाउनका लागि अनुरोध गरेर आज (गत शुक्रबार) बोलाएको हुँ ।

राजनीति गर्नेले चुनाव हेरेर काम गर्छ भन्छन् । कांग्रेसमा के भो भने एउटा चुनाव पनि नहेरेर अप्ठ्यारो परेको छ । चुनाव ५/५ वर्षमा आउँछ, त्यो चुनाव पनि नहेरेको हुनाले कांग्रेसलाई अहिले अप्ठ्यारो पर्‍यो । मेरो गुनासो कांग्रेसलाई त्यही छ ।

अहिले कांग्रेसले गठबन्धनको संस्कृति अंगालिरहेको छ । कांग्रेसले अहिले अबलम्बन गरिरहेको नीतिप्रति तपाईको भनाई के छ?

गठबन्धनको संस्कृतिको म कहिले पनि समर्थक होइन । कांग्रेसले चुनाव गठबन्धन पहिले गरेको पनि थिएन । चुनाव जितिसकेपछि अवस्था अनुसार सरकार बनाउन गठबन्धन हुने हो । सरकार त गठबन्धन हुनसक्छ । तर, चुनावी गठबन्धन चाहिं हुँदैन । यहीपटक भयो । ३० वर्षमा यहीपटक चुनावी गठबन्धन भयो ।

हामीले जनआन्दोलन संयुक्त गर्‍या होइन? अन्तरिम सरकार संयुक्त चलाएको होइन र? चुनाव त्यो बेला संयुक्त किन लडिएन त? त्यो बेला त चुनावी गठबन्धनको कुरा आएकै थिएन । संयुक्त लड्ने कि नलड्ने भनेर त्यो त विवाद आएकै थिएन । विषय प्रवेश नै नभएपनि विवाद गठबन्धन गर्ने नगर्ने कुरै हुने भएन ।

चुनावी तालमेल गर्न हुने/नहुने पार्टीभित्र दुई मत थियो । बहुमतका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरियो । जसले चुनावी तालमेलको पक्षपोषण गरेका थिए, कांग्रेस कमजोर हुनुको दोषी उनै हुन्छन् भन्छन् । यो तर्कमा सहमत हुनुहुन्छ ?

पार्टी सभापति शेरबहादुर देउवा भएकाले दोषको मुख्य भागीदार वा जिम्मेवार त उहाँ हुनुहुन्छ नै । तर, दोषको भागिदार त सबै हुन्छन् नि । कांग्रेस डेमोक्रेटिक पार्टी हो । कोहीको दोष हुने अरुको नहुने भन्ने हुँदैन ।

साधारण सदस्यको यसमा भूमिका नहोला । तर, केन्द्रीय सदस्यको त हुन्छ नि ।

केन्द्रीय सदस्यको पनि भूमिका हुन्छ भन्नुभयो । अहिले हेर्दा त केन्द्रीय सदस्यहरु भूमिकाविहिन जस्तो अवस्थामा देखिन्छ नि?

केन्द्रीय कार्यसमितिको बैठक विधान अनुसार बोलाउने गरिन्न । बैठक नै नबोलाएपछि उनीहरुले बोल्न पाउँदैनन् । अहिले केन्द्रीय समिति अलि ठूलो बनेको छ । हुन त, अरु दलको भन्दा कांग्रेसको कम संख्या छ । म केन्द्रीय सदस्य हुँदा ३५ जना थियौं । पहिलेको तुलना त्यो पनि ठूलो भएको भनिएकै थियो ।

विधान अनुसार केन्द्रीय समितिको बैठक २/२ महिनामा बस्ने व्यवस्था छ । तर, विधानलाई कसैले पल्टाएर हेर्ने काम गरेन । विधानमा भएका धेरै कुरा कार्यान्वयनमा आएको छैन । पार्टी वैधानिक त हो । तर, विधान अनुसार चलेको छ कि छैन? चलेको देखिन्न् ।

अहिले पदाधिकारीको बैठक भनेर बोलाईन्छ । विधानमा पदाधिकारीको बैठक बस्ने व्यवस्था नै छैन । त्यो बैठक बैधानिक हुँदैन । कुनै अत्यावश्यक निर्णय लिन विधानमा व्यवस्था भए अनुसारको कार्यसम्पादन समितिको बैठक बस्न सक्छ ।  विधानमा एक थरि छ, व्यवहारमा अर्को थरी छ ।

तपाई सक्रिय राजनीतिमा रहँदा पनि पार्टी यस्तै भद्रगोल अवस्थामा थियो ?

पहिले पहिले पनि भद्रगोल त हुन्थ्यो । भद्रगोल सबै प्रकृतिका हुन्थे । २०४७ साल पछि २०५२ सालसम्म वर्षको दुईपटक केन्द्रीय समिति बस्ने चलन थियो । त्यो बेला एकवर्ष पुग्दा पनि केन्द्रीय समिति बैठक बसेन । बैठक किन बसेन भनेर आवाज पार्टीमा उठ्यो ।

सभापति किसुन जीले एउटै वर्षको अन्तिम पारेर माघ र फागुन गरेर दुईपटक केन्द्रीय समितिको बैठक बसाउनु भयो । यति महिनामा बस्नुपर्ने भन्ने थिएन, त्यसो हुँदा दुई महिनामा बैठक बसाएर वर्षको दुईपटक पुर्‍याउनुभयो । २०५३ पछि विधान अनुसार नै बैठक बस्दै आइरहेको थियो ।

अहिले पदाधिकारीको बैठक भनेर बोलाईन्छ । विधानमा पदाधिकारीको बैठक बस्ने व्यवस्था नै छैन । त्यो बैठक बैधानिक हुँदैन । कुनै अत्यावश्यक निर्णय लिन विधानमा व्यवस्था भए अनुसारको कार्यसम्पादन समितिको बैठक बस्न सक्छ ।  विधानमा एक थरि छ, व्यवहारमा अर्को थरी छ ।

दुई महिनामा बस्न सकिन्न भने त्यसलाई ३ महिना वा ६ महिनामा बस्ने बनाउन सकिन्छ । कार्यसम्पादन समिति जुन बेला पनि बस्न सकिने भनेर बनाएको हो । विधान लोकतान्त्रिक बनाउने तर त्यसको उल्लंघन प्रर्याप्त गर्ने काम भइरहेको छ । यस्तो कार्यले लोकतान्त्रिक पार्टी भन्न मिल्दैन के ।

पार्टीमा लोकतन्त्र ल्याउन पर्‍यो भनि हामीले २०६२ साल देखि नै लडेका हौं । मूलुकमा त लोकतन्त्र ल्यायौं, तर, पार्र्टीमा ल्याएनौं भन्ने त्यो बेला थियो । पार्टीमा लोकतन्त्र भएन भनि निष्कर्ष निकालेको त्यो बेला हो ।

भ्रातृ संस्था तदर्थमा चल्दै आएको हो । हाल यो क्रम अझ बढेको छ । विगतमा भ्रातृसंस्थालाई यही तरिकाले निरिह बनाउने प्रचलन थिएन है?

भ्रातृ संस्थामा तदर्थले गर्दा आन्तरिक उर्जा बढ्न सकेन । नेविसंघको अधिवेशन २/२ वर्षमा हुनुपर्दछ । २०७४ देखि हुन सकेको छैन । अहिले त ज्यादै हुन लाग्यो ।

अरु पार्टी पनि भद्रगोलमा चलेका हुनाले कांग्रेस ठूलो पार्टी बन्न सकेको होला । ठूलो पार्टी भएर त के भयो र? तर, ठूलो पार्टी भन्न पर्‍यो । ठूलो पार्टीको रौनक कांग्रेसमा देखिएन ।

सामान्य कुरा, गठबन्धन भएको बेलामा ठूलो पार्टीले सरकार चलाउनु पर्ने हो नि । तिमी धेरैपटक भइसकेका छौं, अहिले म बन्नुपर्दछ भन्ने प्रचण्डको शेरबहादुरसँग माग भयो । तथ्यमा त ठूलो पार्टी कांग्रेस हो । कांग्रेस ठूलो दल भएको महशुस एकमहिना पछि नै प्रचण्डले गरि हाले नि । प्रचण्डलाई एमालेसँग कम्फर्टेबल भएन । पहिले त एउटै पार्टी बनेका थिए ।

वैशाख १० मा तिन क्षेत्रमा भएको उपनिर्वाचनको मतपरिणामले कांग्रेसमा निराशा बढेको छ । तनहुँ १ र चितवन २ को परिणामले कांग्रेस थप चिन्तित हुनुमा तपाईको बुझाईं के छ ?

चितवनका जनतालाई कांग्रेसले तिन वटा निर्वाचनसम्म बेवास्ता गर्‍यो । त्यसैको परिणाम अहिले देखिएको हो । क्रियाशील सदस्यता सबैभन्दा धेरै भएको जिल्ला चितवन हो । तर, एउटा पनि जितेन । कांग्रेसका लागि चितवन उल्लेखनीय जिल्ला हो ।

कांग्रेसको संघर्ष, आन्दोलन लगायत सबै कुराका लागि उल्लेखनीय जिल्ला हो । स्थानीय र संघीय चुनावमा सबैभन्दा क्रियाशील सदस्यता बढी भएको जिल्लालाई पार्टी केन्द्रले बेवास्ता गर्‍यो । त्यसैको परिणाम कांग्रेसले उप निर्वाचनमा पाएको छ । चितवन आफैं कारण होइन, परिणाम हो ।

तनहुँ १ को उपनिर्वाचनको नतिजा आफ्नो आन्तरिक कारणको परिणाम हो । एकपटक बाहेक सधैं अहिलेका राष्ट्रपतिले जितेको ठाउँ हो । पाँचपटक जितेर एकपटक हार्नुभयो । चितवनको जस्तो तनहुँको विग्रको त होइन ।

तुलनात्मक रुपमा विग्रियो । कांग्रेसका लागि नसोंचेको परिणाम होला । कांग्रेस हार्नु आन्तरिक कारण हो । आन्तरिक भन्नाले तनहुँमा कांग्रेस–कांग्रेसको झगडा भएर हारेको भनेको होइन । केन्द्रमै भएका आन्तरिक कारणले हारेको हुनुपर्दछ ।

सात दशकभन्दा लामो इतिहास बोकेको दलले एकवर्ष पनि नपुगेको पार्टीको चुनौती किन सामना गर्न सकेन होला? तपाईहरुले अवस्था फेर्नुभयो । व्यवस्था हामी फेर्छौ भनेर आएको नयाँ दलको चुनौती दियो नि?

सामना किन गर्न सकिएन भनेर केलाए पो यहाँ यहाँ समस्या भन्ने थाहा हुन्छ । कहाँ बसेर केलाएको छ त नि । उप निर्वाचन किन हारियो? भनेर कांग्रेसको बैठक यसै कुराका लागि बस्नुपर्ने हो ।

त्यो प्रश्नको उत्तर खोज्न पनि बैठक बस्नुपर्छ । विरोधीहरुले कांग्रेसलाई लगाएको आरोप, उनीहरुले गरेको प्रचार, हारको कारणका लागि बैठक बस्नुपर्ने हो । अवस्था र व्यवस्था फेर्नुको भेद छुट्याउन पनि बैठक डाक्नुपर्ने हो । कांग्रेसको चिन्ता र गुनासा सुनाउन उहाँलाई (प्रदीप पौडेलतिर देखाउँदै) बोलाएको हुँ । मलाई यसको उत्तर कसले दिन्छ?

उप निर्वाचनको कांग्रेसमा समीक्षा हुनुपर्‍यो । आधिकारीक निकायले समीक्षा गर्नपर्‍यो । उप निर्वाचनकै कारणले महाधिवेशन र महासमिति बैठक बोलाएर निर्णय लिनुपर्ने होइन । त्यसको समीक्षा गर्ने आधिकारीक निकाय केन्द्रीय समिति हो । गम्भिरता हरेर केन्द्रीय समिति बैठक त बस्न सक्छ नि ।

कांग्रेसका लागि यो उपनिर्वाचन गम्भिर विषय हो । हामीले जितेको ठाउँ हार्‍यौं । एमालेले हारेको ठाउँ गुमाएकाले हाम्रा लागि अरु गम्भिर हो ।

तनहुँ र चितवन दुबै ठाउँको निर्वाचनमा पार्टी एकढिक्का थियो नि । तापनि, मान्छेहरुमा कि वितृष्णा जाग्या कांग्रेसको गढ हो नि । सभापति भएको बेला चितवनमा सुशील कोइरालाले जितेको ठाउँ हो । अरुले पनि कांग्रेसबाट जितेको ठाउँ हो । चितवन २ रहेको अहिलेको क्षेत्र कांग्रेसले अलि अघि अघि त जित्दै आएको हो नि ।

तपाई गणतन्त्रको अभियान लिएर देशभर भ्रमण गर्नुभएको थियो । गणतन्त्रबाट जुन अपेक्षा गर्नुभएको थियो, त्यस अनुसार मलुक चलेको देख्नुहुन्छ ?

गणतन्त्रले आफ्नो तरिकाले काम गर्छ नै । पार्टीहरु अलि जागरुक नबनेको कारणले अलिकति वितृष्णा भएको छ । गणतन्त्रका लागि सबै जनता लागेका हुन् । मैले अलिकति बढी चासो राखे हुँला । जनताले नै ल्याएको प्रणाली हुनाले अहिले तलमाथि हुने अवस्था म देख्दिन । देशलाई बेहाल बनाउने हो भने त जहिले गणतन्त्र ल्याएपनि गुनासो त हुन्छ नि । बेला बेला त जागरुकता त आउनु पर्छ नि ।

मुलुक पनि संविधान अनुसार चलेको छैन । संविधानले प्रदेशलाई कति अधिकार दिएको छ ? त्यो हेरिएको छैन । स्थानीय तहलाई दिएको अधिकार पनि हेरिएको छैन । संघीय सरकारले मनोमानी गरेको देखिन्छ ।

गणतन्त्रलाई अपेक्षा अनुसारको प्रणाली बनाउन बेला बेलामा पार्टी र जनतामा जागरुकता आउनुपर्दछ । कहिं कहिं चुनावले जागरुकता ल्याउँछ । प्रणाली डिरेल हुन लागे मतदाताले सच्याउँछन् पनि । गणतन्त्र भएका मूलुकमा पनि त्यसका बारेमा गुनासा आएका सुनिन्छन् । अमेरिकामा पनि यस्ता कुरा आउँदा चुनाव मार्फत सच्याउने काम भएको पनि थियो । चुनावले सच्यायो, त्यहाँका संस्थाले सच्याए ।

ठूल दल भएपनि सरकार गठन गर्न नपाउने अवस्था कहिले कहिले हुन्छ । सरकार बनाउन त बहुमत सदस्य चाहियो । ठूलो दलले सरकार बनाउन नपाउने बन्ने विषयलाई सामान्य रुपमा लिन मिल्दैन । ठूलो दलको व्यवहार नदेखाउने तर मन्त्रीको दाबी गर्ने र अरु बेला चुप लागेर बस्न भएन ।

तपाई सक्रिय राजनीतिबाट टाढा हुनुहुन्छ । सक्रिय राजनीति गर्न नसकेपनि सुझाव दिन त सक्नुहुन्छ । कांग्रेस सुध्रिने कि सक्किने विचार पनि अहिले आइरहेका छन् । तपाईको सुझाव के छ ?

सुधार्नका लागि मन्त्र छैन । प्रक्रिया मात्रै हो । मन्त्र गरेर सच्चिने भए सच्चिई सक्ने थियो । लोकतन्त्र भनेकै प्रक्रिया हो । लोकतन्त्रमा इमान्दार हुन सकेन भने खराबी आइहाल्छ ।

कांग्रेसले आफूलाई विधान र संविधान अनुसार चलेको पार्टी भन्छ । हामीले संविधान बनाएको भन्छ । कांग्रेसको नेतृत्वमा संविधान बन्यो पनि होला । अरुले सकेनन् होला, कांग्रेस नै चाहियो होला । सबैलाई एकजुट बनाउन कांग्रेसले समन्वय गर्नपर्‍यो नि ।

३२ वटा पार्टीको आ आफ्ना मुख थिए । ती सबैलाई समन्वय गरेर संविधान निर्माण गरेको हो । समन्वय गर्ने कांग्रेस नै थियो । संविधान अनुसार अघि नबढेको हुँदा अहिले समस्या परिरहेको छ । पार्टी पनि विधान अनुसार नचलेका हुनाले कांग्रेसमा असन्तुष्टि बढिरहेको छ ।

विधि अनुसार पार्टी चल्नुपर्‍यो । पार्टीका सबैलाई मेरो यही सुझाव हो । अरुलाई म भन्दिन, नेपाली कांग्रेसले पार्टी विधान अनुसार गरेको छ कि छैन ? विधान अनुसार पार्टी चलेको छैन । प्रक्रिया र पद्धतिको उल्लंघन गरेर पार्टी चलेको छ । यो दुरावस्था त्यसकै कारणले आएको छ ।

संघय प्रणालीका विषयमा प्रश्न उठ्दै आएको छ । तपाई संविधान निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । प्रदेशका विषयमा उठेका विषयमा तपाईको कुनै टिप्पणी छ कि ?

मुलुक पनि संविधान अनुसार चलेको छैन । संविधानले प्रदेशलाई कति अधिकार दिएको छ ? त्यो हेरिएको छैन । स्थानीय तहलाई दिएको अधिकार पनि हेरिएको छैन । संघीय सरकारले मनोमानी गरेको देखिन्छ ।

प्रदेशका मन्त्रीले आफ्नो प्रदेश कस्तो बनाउने हो, कसरी कम खर्चिलो बनाउने हो । त्यसका लागि के के गर्ने ख्याल गर्नुपर्दछ । संविधानले दिएका अधिकार प्रयोग गर्ने कार्य पनि गरिएको छैन । संविधानले दिएको अधिकार ख्याल गरिएन ।

संघीयताले खर्च बढायो भनेर प्रश्न गर्छन् । कहाँ के विगार्‍यो संघीयताले ? संघीयताको जिम्मेवारीपूर्वक काम गरेको भए कसैले केही भन्न पाउने थिएन । धेरै मन्त्री बनेका छन् । भाग पुर्‍याउन धेरै मन्त्री बनाउन पाइन्छ र ? मन्त्रीको संख्या त घटाउनुपर्ने हो नि ।

अनुशासनको उल्लंघन गरेका कारणले यो समस्या आइरहेको छ । जो सरकारमा बस्छ, त्यहाँबाट गर्न सकिने उल्लंघन उसले गर्छ । प्रतिपक्षमा हुनेले त्यस ठाउँबाट गर्न सकिने अनुशासनको उल्लंघन उसले गर्छ ।

त्यसकारणले मात्रै स्थिति खराब बनेको हो । त्यस मध्ये एउटा मात्रै ठिक ठाउँमा बस्यो भने हुन्छ । अहिले त प्रतिपक्ष नै कोही जस्तो देखिन्न। प्रतिपक्ष कोही पनि नहुने ? अहिलेको अवस्था पार्टीहरुको चरम अनुशासनहिनताले उत्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?