+
+

कोशीमा सरकार फेर्न काठमाडौंमा दौडधुप, मुख्यमन्त्री बजेटको तयारीमा

हरि अधिकारी हरि अधिकारी
२०८० वैशाख २५ गते २०:०४
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणबारे छलफल गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की।

२५  वैशाख, विरानगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणको दौडधुपमा छन् । बजेटअघि नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालिरहेका कार्की मन्त्रालयहरु पुगिरहेका छन् । उनको तयारी असार १ गते भन्दा अगाडि नै बजेट ल्याउने छ ।

सोमबार पर्यटन, वन तथा वातावरण मन्त्रालय पुगेका मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षको भन्दा २० प्रतिशत घटाएर बजेट ल्याउने बताए ।

मुख्यमन्त्री बजेट निर्माणको तयारीमा जुटिरहदा प्रतिपक्षी दल नेपाली कांग्रेस उनलाई बजेट ल्याउन नदिने दौडमा छ । नेपाली कांग्रेसका बहुमत सांसद सरकार परिवर्तनका लागि पार्टीको केन्द्रीय नेतृत्व र सत्ता गठबन्धन दललाई दबाव दिन काठमाडौं पुगेका छन् ।

पार्टी नेतृत्वलाई दबाव दिन आइतबार कांग्रेसको कोशी प्रदेशसभा संसदीय दलको बैठक काठमाडौंमा नै बसेको थियो । अनौपचारिक भनिएको बैठकमा १५ जना सांसद उपस्थित थिए । दलको बैठकले माओवादी केन्द्र र जसपालाई सरकारबाट बाहिरिन पत्र पठाउने र सरकार परिवर्तनका लागि केन्द्रीय नेतृत्वलाई दबाव दिने निर्णय गरेको थियो ।

बैठकपछि आइतबार नै कांग्रेस संसदीय दलका नेता उद्धव थापाले माओवादी केन्द्र र जसपा दलका नेतालाई फोन गरेर निर्णयको जानकारी गराएका थिए ।

थापासँगको टेलिफोन सम्पर्कमा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पार्टीको केन्द्रीय नेतृत्वसँग छलफल गरेर अघि बढ्ने जवाफ दिएको कांग्रेसका एक सांसदले बताए ।

कोशी प्रदेशसभामा माओवादी केन्द्र एमाले नेतृत्वको सरकारमा नै सहभागी छ भने जनता समाजवादी पार्टीले पनि सरकारलाई समर्थन गरेको छ ।

कांग्रेसले सरकार परिवर्तन गर्ने तयारी गरेपछि मुख्यमन्त्री कार्की असार १ गते भन्दा अगाडि नै बजेट ल्याउने तयारीमा जुटेका हुन् । वन पर्यटन तथा बातावरण मन्त्री जीवन अचार्य अहिलेकै सरकारले बजेट ल्याउने तयारी गरको बताउँछन् । बजेट निर्माणका लागि मन्त्रालय मार्फत योजना छनोटको काम अघि बढाएको उनको भनाइ छ ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी असार १ गते भन्दा अगाडि बजेट ल्याउने तयारी भएको बताए । ‘असार १ गते डेडलाइन हो, अगाडि नै ल्याउने हाम्रो प्रयास छ’, उनले भने, ‘संघको भन्दा पहिला ल्याउन मिलेन, संघको बजेट आएपछि ल्याउँछौं ।’ बजेट निर्माणका लागि सरकारले गृहकार्य गरिरहेको उनले बताए ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो प्रदेश सरकारका विषयमा केन्द्रीय नेतृत्वको निर्देशन पर्खिरहेको बताउँछन् । कोशी प्रदेशको अवस्था विशिष्ट रहेको बताउँदै उनले केन्द्रको निर्देशन अनुसार अगाडि बढ्ने बताए ।

‘केन्द्रको निर्णय अनुसार अगाडि बढ्छौं, अहिले केन्द्रबाट कुनै निर्देशन आएको छैन’ उनले भने ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । वर्तमान अवस्थामा दुवै गठबन्धनलाई बहुमत जुटाउन सहज छैन । ४० सिटको एमाले र ६ सिटको राप्रपा सँगै रहँदा ४६ सिट हुन्छ ।

२९ सांसद रहेको नेपाली कांग्रेस, १२ सांसद रहेको माओवादी केन्द्र, चार सांसद रहेको नेकपा एकीकृत समाजवादी र एक सांसद रहेको जसपाको पनि ४६ मत नै छ । कुनै पक्षमा बहुमत पुर्‍याउन सभामुखले पनि मतदान गर्नुपर्ने हुन्छ । सभामुख बाबुराम गौतम माओवादी केन्द्रबाट निर्वाचित हुन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?