+
+

बुद्ध एयरले भन्यो : शिवेन्द्रबहादुर बस्नेतको नाममा सेयर नै छैन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते १५:३५
बायाँबाट क्रमशः बीरेन्द्रबहादुर बस्नेत र शिवेन्द्रबहादुर बस्नेत

२८ वैशाख, काठमाडौं । बुद्ध एयरले शिवेन्द्रबहादुर बस्नेतको नाममा कम्पनीमा कुनै पनि सेयर नरहेको बताएको छ । कम्पनीमा रहेको १४ प्रतिशत सेयर शिवेन्द्रले २०५६ सालमा बिक्री गरी कम्पनीबाट अलग भएको बुद्ध एयरले दाबी गरेको छ । बुद्ध एयरबाट अलग भएपछि शिवेन्द्रले ‘माउन्टेन एयर प्रालि’ खोलेको कम्पनीको दाबी छ ।

बुधबार शिवेन्द्रले पत्रकार सम्मेलन गर्दै आफ्नो ४० प्रतिशत सेयर रहेको बुद्ध एयरको हर हिसाब नदेखिई दाजु बीरेन्द्रबहादुर बस्नेतले एकलौटी गरेको आरोप लगाएका थिए । भाइ शिवेन्द्रले दाजु बिरेन्द्रमाथि लगाएको आरोपप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको बुद्ध एयरले जनाएको छ ।

कम्पनीमा संस्थापक सेयरधनीको रुपमा स्व. सुरेन्द्रबहादुर बस्नेत र बीरेन्द्रबहादुर बस्नेत रहेको कम्पनीले जनाएको छ । कम्पनीमा पछि शिवेन्द्रले प्राप्त गरेका १४ प्रतिशत सेयर पनि २०५६ सालमा बिक्री गरी कम्पनीबाट बाहिरिएको बुद्ध एयरले बताएको छ ।

साविकमा यस बुद्ध एयर प्रालिको कार्यकारी अध्यक्ष स्व. सुरेन्द्रबहादुर बस्नेतको नाउँमा ८० प्रतिशत सेयर रहेको थियो । जसमध्ये ४० प्रतिशत सेयर बीरेन्द्रबहादुर बस्नेत र बाँकी ४० प्रतिशत सेयर अर्चना बस्नेत, शिवानी बस्नेत, देव्यानी बस्नेत र पछि आदर्शबहादुर बस्नेत समेतको नाउँमा हुने गरी स्व. सुरेन्द्रबहादुर बस्नेतले ‘बकसपत्र’ गरिदिएको कम्पनीले जारी विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठः

बुद्ध एयरको प्रेस विज्ञप्ति ११ मे २०२३

बुद्ध एयरबारे हिजो प्रकाशित समाचार तथा प्रेश विज्ञप्तिप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।

बुद्ध एयर प्रालिमा संस्थापक शेयरधनीको रुपमा स्व.सुरेन्द्र बहादुरबस्नेत र वीरेन्द्रबहादुर बस्नेत भई सञ्चालन भएको कम्पनीमा पछिबाट शिवेन्द्रबहादुर बस्नेतले प्राप्त गरेका १४ प्रतिशत सेयर निजले २०५६ सालमा बिक्री गरी बुद्ध एयरबाट अलग भई प्रतिष्पर्धी ‘माउन्टेन एयर प्रालि’ खोलेका थिए ।

साविकमा यस बुद्ध एयर प्रालिको कार्यकारी अध्यक्ष स्व.सुरेन्द्रबहादुर बस्नेतज्यूको नाउँमा रहेको ८० प्रतिशत शेय मध्ये ४० प्रतिशत शेयर वीरेन्द्रबहादुर बस्नेत समेत तर्फ र बाँकी ४० प्रतिशत शेयर अर्चना बस्नेत, शिवानी बस्नेत, देव्यानी बस्नेत र पछिबाट आदर्श बहादुर बस्नेत समेतको नाउँमा हुने गरि स्व. श्री सुरेन्द्र बहादुर बस्नेतज्यूले गर्नु भएको ‘बकसपत्र’ तथा सवै शेयरधनीहरु विच कम्पनी ऐन, २०६३ को ‘दफा १४५’ समेत अनुसार मिति २०७५/०४/१५ मा भविष्यमा बुद्ध एयर सञ्चालन गर्ने विस्तृत प्रक्रियासहितको ‘सर्वसम्मत सम्झौता’ गरी कम्पनी ऐन, सर्वसम्मत सम्झौता, प्रबन्ध पत्र नियमावली समेत व्यवस्थाहरुलाई पूर्ण रुपमा विधिसम्मत रुपले पालना गरी पारदर्शी रुपमा कम्पनीका शेयरधनी, कर्मचारीसमेतको हितमा रही काम कारोवार गरी आएको अवस्था छ ।

सर्वसम्मत सम्झौता अनुसार ‘क’समुहका ६० प्रतिशत शेयर बाट २ जना र ‘ख’समुहका ४० प्रतिशत शेयर मध्येबाट १ जना संचालक नियुक्ती गर्नुपर्ने हुँदा सो समेतको विषयमा प्रस्ताव राखी मिति २०७९/११/२२ मा साधारणसभा हुने गरी दैनिक पत्रिकामा सार्वजनिक सूचनाबाट सवै शेयरधनीहरुलाई आह्वान गर्दा समेत अर्चना बस्नेत, शिवानी बस्नेत र आदर्श बहादुर बस्नेत उपस्थिती हुन नआएको हुँदा उक्त १ संचालक पद खाली नै राखी ‘६५ प्रतिशत शेयरधनीहरु’को उपस्थितीमा साधारण सभा सम्पन्न भएको थियो ।

३५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने तिन जना शेयरधनीहरु अर्थात अर्चना बस्नेत, शिवानी बस्नेत र आदर्श बहादुर बस्नेतले कम्पनी ऐन, २०६३ को दफा १४६ र १४७ को अधिकार प्रयोग गर्ने सम्बन्धमा विभिन्न पटक पत्राचारहरु आदान प्रदान भई मिति २०७९/१२/१५ गतेको लागि कागजात तथा अभिलेख निरिक्षण गर्न तथा आर्थिक विवरण लिनका निम्ति समय निर्धारण भएको अवस्थामा समेत कुनै पनि शेयरधनीहरु वा प्रतिनिधी उपस्थित हुन नआएको अवस्था छ ।

मिति २०७९/१२/२४ गतेका दिन शिवेन्द्रबहादुर बस्नेतले आफुसँग दुई जना कानुन व्यवसायी तथा एक जना लेखापरीक्षकसमेत कम्पनीको रजिष्टर्ड कार्यालयभित्र प्रवेश गरी गराई विभिन्न काल्पनीक आरोप लगाई झुट्ठा, बनाबटी कुराहरु सुनाई कानून प्रतिकुलका जस्तै समुह ‘क’ र समुह ‘ख’ बाट समानान्तर दुईवटा व्यवस्थापन संचालन गर्ने, नत्र भए कम्पनीलाई ‘लिक्यूडेशन’मा लगी ४० प्रतिशत शेयर बराबरको सम्पत्ति लगि छुट्टै वायुसेवा कम्पनी सञ्चालन गर्ने माँगहरु राखी निज शिवेन्द्र बहादुर बस्नेतले व्यक्त गर्नु भएको ‘अडियो’कम्पनीसँग सुरक्षित रहेको छ ।

३५ प्रतिशत शेयरधनीहरुले कम्पनी ऐन, २०६३ को दफा १४६ र १४७ बमोजिमको अधिकार प्रयोग गर्ने वहानामा गैरकानूनी, अनुचीत लाभ प्राप्ती तथा कम्पनीको अहित हुने कार्यतर्फ अग्रसर रहेको अवस्थामा कम्पनीले बाध्य भई शेयरधनीहरुले उक्त कानूनी व्यवस्थाको प्रयोग अगामी साधारण सभामा उपभोग गर्न जानकारी गराइएको छ ।

यस कम्पनीको सम्पूर्ण कारोवारको विवरण, सर्वसम्मत सम्झौता, साधारणसभा, ३५ प्रतिशत शेयरधनीहरुले कम्पनीलाई पटक पटक गर्नुभएको पत्राचारहरु, कम्पनीले निज शेयरधनीहरुलाई विभिन्न मितिमा गरेको पत्राचारहरु समेतको कागजातहरु श्री कम्पनी रजिष्ट्रारको कार्यालय समक्ष अभिलेख भई रहेको र सो कागजातहरु यस कम्पनीमा समेत सुरक्षित रहेको हुँदा सरोकारवाला व्यक्तिले जुनसुकै बखत अवलोकन गर्न सक्ने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

शिवेन्द्रजीले बुद्ध एयर छाड्दा कम्पनी घाटामा रहेको थियो । २३ वर्षको अनवरत मिहनेत तथा प्रयासका कारण सफल व्यापारिक संस्थाको रुपमा आज स्थापित हुनपुगेको छ । १५०० कर्मचारीलाई रोजगार, नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न कर दस्तुर तथा राज्यलाई वर्षको करोडौं रकम समयमै भुक्तानी गर्न सफल भएको छ ।

वर्षको २५ औं लाख नेपाली यात्रुहरुलाई सुलभ, सुरक्षित एवं सस्तो भाडादरमा उडान सेवा प्रदान गरिरहेको छ । बुद्ध एयरले उडान सेवालाई अझ बढि विस्तार तथा परिष्कृत गर्न प्रतिवद्ध रहेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?