+
+

नेवारी परिकार बारा कसरी पकाउने ?

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० जेठ १ गते १०:०५

बारा नेवारी समुदायको लोकप्रिय परिकार हो । नेपाल भाषामा वः भनिने यो परिकार मास वा मुगीको दालबाट बनाइन्छ । बारालाई दैनिक बनाएर पनि खान सकिन्छ । यद्यपि यो नेवार समुदायका जात्रा र चाडपर्वमा भने अनिवार्य मानिन्छ ।

पकाउने तरिका

मास वा मुगीलाई पकाउनु एक दिनअघि पानीमा भिजाएर राख्ने गरिन्छ । त्यसपछि सिलौटो वा ग्याण्डर मेसिनमा राखेर पिस्ने, पिसेको मास वा मुगीमा पिसेको अदुवा, स्वादअनुसार नुन मिसाएको हुन्छ । त्यसपछि तावामा हल्का तेल राखेर ओल्टाइपल्टाइ गरी पकाइन्छ ।

यसलाई ताउमा तेल दलेर रोटी जस्तै पकाइन्छ । कसैले तेलमा तारेर पनि बारा तयार गर्छन् । स्वादिलोका साथै बारा स्वास्थ्यबद्र्धक हुन्छ ।

बाराका प्रकार

मू वः (मासको बारा), माय वः (मुगको बारा) तावामा तेल डलेर बनाइने परम्परागत तरिकाले बनाउने गरिन्छ । यसमा केही अरु खानेकुरा मिसाइँदैन । मास भए मास मात्र र मुगीको भए मुगी मात्र प्रयोग गरेर रोटीको आकारमा यसलाई तयार पारिन्छ ।

चटामरी वः : यसमा चामलको पीठोको रोटी र रोटीको बीचमा बारा राखिन्छ । मास वा मुगीबाटै यो बनाइन्छ ।

खे वः (अण्डा बारा) : बाराको बेस र त्यसको बीचमा अण्डा राखेर बनाइने बारा हो यो ।

आलु वः : यो तेलमा तारेर आलुचप जस्तै बनाइने यस प्रकारको बारा हो ।

ला वः (किमा बारा) : बाराको बीचमा मासुको किमा राखेर यो बनाइन्छ ।

हराउँदै गएका बाराका प्रकार

कक वः : यो भक्तपुरको तलेजु पूजामा नभई नहुने बारा रहेको बताइन्छ ।

खोल्चा वः : नेपालीमा सानो कचौरा आकारमा बनाइएको बारा हो यो । माटोको भाँडो पोटासीमा (सानो घैंटो आकारको भाँडा, पिंधमा प्वालैप्वाल भएको)को प्रयोग गरी यस प्रकारका बारा बनाइन्छ । यसमा पिंधमा चामलको पीठो र बीचमा बारा राखिएको हुन्छ । यो प्वाल भएको भाडामा स्टिम गरेर पकाइन्छ । अहिले मःमःको भाडामा पनि बनाउने चलन छ ।

भू वः : मास वा मुगीको दाललाई पिसेर स–साना बारा नबनाई एउटै बाक्लो ठूलो थाल जत्रै बनाइने बारालाई भू वः भनिन्छ । भक्तपुरका किसानहरु कृषिको काममा व्यस्त हुँदा पकाउन नभ्याउने भएकाले यस्तो बारा बनाएर खाने प्रचलन रहेको मध्यपुर थिमिका स्थानीय रमेश प्रजापति बनाउँछन् ।

बाराको महत्व

वः परिकार मात्र होइन, संस्कृति पनि हो । नेवार सुमदायमा जन्मदेखि मृत्युसम्मको संस्कार र अन्य शुभकार्यमा बारा नभई हुँदैन ।

नेवार समुदायमा बारालाई पृथ्वीको प्रतीकका रूपमा लिइने संस्कृतिविद् ओम धौभडेल बताउँछन् । ‘नेवार समुदायमा सगुन दिंदा वःको माथि अण्डा, माछा, अदुवा राखेर दिइने चलन छ । यसकारण यसलाई पृथ्वीको तत्वको रुपमा पनि लिइन्छ,’ उनी भन्छन् ।

त्यस्तै वःसँग चटामरी (चामलको पीठोबाट बनाएको रोटी) अनिवार्य जस्तै हुन्छ । वः र चटामरीको सम्बन्ध नङ र मासुजस्तै हुने धौभडेल बताउँछन् । यो पोषणको हिसाबले पनि मिलेको हुन्छ । किनकि वःमा भिटामिन र मिनरल्स पाइन्छ भने चटामरीमा कार्बोहाइड्रेट । यसरी दुवै शरीरको लागि सन्तुलन मिलाएर खाने चलन छ ।

मानिसको जन्मसँगै गरिने न्वारन, पास्नी, जन्मदिन, विवाह, व्रतवन्ध, ईहिं (बेल विवाह), गुफा निकाल्ने बेलामा चाहिन्छ । त्यस्तै मृत्यु संस्कारअन्तर्गत चार दिन, सात दिन, १२ औं दिनको कर्ममा नेवार समुदायभित्र बारा अनिवार्य परिकार हो । वर्षभरका चाडपर्वमध्ये बाबुआमाको मुख हेर्ने दिन, दशैंको महाष्टमी, तिहारको भाइटीका, विभिन्न बाजागाजा खलः, दाफा भजन खलः को भोजमा बारा अनिवार्य रूपमा चाहिन्छ । बारा कुनै पनि शुभ कार्यमा अण्डासँगै सगुन दिन नभई नहुने परिकार हो । विशेषतः सिथि नखःको दिन बारा, चटामरी कुमारलाई चढाएपछि मात्र अरुले खाने चलन रहेको संस्कृतिविद् धौभडेल बताउँछन् ।

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?