+
+

११ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउँदा उत्साहित महिला खेलाडी

नमिता दाहाल नमिता दाहाल
२०८० वैशाख ३१ गते २०:००
२०७९ असारमा भएको एसीसी वुमन्स टी–२० च्याम्पियनसिपमा सहभागी नेपाली टिम ।

३१ वैशाख, काठमाडौं । नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले १५ जेठदेखि पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।

मलेसियासँग हुन लागेको यो शृंखला ११ महिनापछि नेपाली महिला टिमले खेल्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट खेल हो ।

अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रमहरु नहुँदा सुस्ताएको महिला क्रिकेटलाई चलायमान बनाउने उद्देश्यले नेपाल क्रिकेट संघ क्यानले टिमलाई मलेसिया पठाउन लागेको हो ।

नेपाली टिमकी कप्तान रुविना क्षेत्री मलेसियासँगको शृंखलामार्फत महिला क्रिकेटको स्तरोन्नत्तिको प्रयासमा लाग्ने बताउँछिन् । लामो समयपछि शृंखला खेल्न पाउने खबरले उनी उत्साहितसमेत छिन् ।

पछिल्ला तीन महिनामा पुरुष टिमले अभूतपूर्व प्रदर्शन गरिरहेको छ । एकदिवसीय मान्यता सुरक्षित गर्नेदेखि एकदिवसीय विश्वकप ग्लोवल क्वालिफायरमा पुगेको टिमले हालै एसीसी प्रिमियर कप जितेर एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने सपनासमेत पूरा गरेको छ ।

नियमनकारी निकाय क्यान पुरुष टिम र प्रतियोगितामा केन्द्रित हुँदा महिला टिमको सम्भावित प्रतियोगिता केहि समय धकेलिएको हो ।

‘हामीले सिरिज माग गरेको २/३ महिना अगाडि नै हो । योबीचमा धेरै प्रतियोगिताले क्यानको व्यस्तता बढ्यो । क्यानले थाइल्याण्ड र हङकङसँग पनि शृंखलाको प्रस्ताव गरेको थियो । यो प्रतियोगितामा घरेलु मैदानमा नै गराउने तयारी थियो । तर नेपालमा अन्तर्राष्ट्रिय खेलका लागि मैदान धेरै नभएको र मौसमको कारण पनि बाहिर पठाउने निर्णय गरेको हो,’ क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले अनलाइनखबरलाई जानकारी दिए ।

‘अरु टिमहरुलाई समेत समावेश गरी प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य थियो । सबै टिमहरु व्यस्त भएका कारण दुई देशमात्रै भएको हो,’ उनले भने ।

युगान्डासँगको खेलमा रन लिँदै नेपाली ब्याटर ।

महिला क्रिकेटको लागि आइसीसीबाट नै कम प्रतियोगिता भएका कारण महिला क्रिकेट कम भएको उनको दावी छ ।

‘महिलाको सिरिज नै कम छ । खासमा सिरिज नै नभएको भएर हो । आइसीसीबाट वर्षमा एक वा दुईवटा मात्रै प्रतियोगिता छ । त्यसबीचमा पनि पुरुष क्रिकेटको व्यस्त तालिका भएको भएर हो,’ उनले थपे ।

क्यानले पनि यसटक पुरुष क्रिकेटले ल्याएको नतिजाले महिला टिमबाट पनि सकरात्मक नतिजाको अपेक्षा राखेको छ ।

यसमा महिला खेलाडीहरु पनि निकै उत्साहित छन् । महिला खेलाडीहरु पनि पुरुष खेलाडीले क्रिकेट समर्थकलाई दिलाएको खुसीमा खुसी थप्न चाहन्छन् । ‘जसरी हाम्रो पुरुष टिमले क्रिकेटमा माहोल फर्काएको छ । हामीले पनि अवसर पाएको छौं । महत्वपूर्ण अवसर हो’, टिमकी अनुभवी खेलाडी सीता राना मगरले भनिन् ।

अन्य युवा क्रिकेटर पनि यो सिरिज घोषणा भएपछि आफूहरुमा उत्साह बढेको बताउँछन् । ‘गेम आउन लाग्यो भनेर रेगुलर प्रशिक्षण गर्न थालेका छौं,’ अस्मिना कर्माचार्यले भनिन् ।

अस्मिना कर्माचार्य

नेपाली महिला क्रिकेट टिमले २०७९ जेठमा त्रिवि मैदानमा आफूभन्दा वरीयतामा ३ स्थान तल रहेको युगान्डासँगको शृंखला ३–२ ले हारेको थियो ।

त्यसपछि नेपालले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता भनेको एसीसी वुमन्स टी–२० च्याम्पियनसिप हो । त्यसमा २०७९ असार ९ गते नेपालले यूएईसँग सेमिफाइनल खेलमा वर्षा बाधक बन्यो ।

नेपाल सेमिफाइनलबाट बाहिरियो । त्यसयता नेपाली महिला टिमले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । झण्डै एक वर्षको बीचमा हुन लागेको पहिलो प्रतियोगिता नेपाल टिमलाई आफ्नो परीक्षणका रुपमा पनि हुनेछ ।

मलेसिया वरीयतामा नेपालभन्दा १२ स्थान तल भए पनि पछिल्लो एक वर्षमा धेरै अभ्यास खेल र प्रशिक्षणको अनुभव बटुलेको छ ।

नेपाली महिला टिम भने पछिल्लो पटक प्रधानमन्त्री कप र ललितपुर मेयर कपमा नै सीमित रह्यो । आईसीसी वरीयतामा नेपाल महिला क्रिकेट टिम १६ औं स्थानमा छ भने मलेसिया २८ औं स्थानमा छ ।

नेपाली महिला क्रिकेट टिमले यो एक वर्षमा आफूहरुको स्तर कस्तो भएको रहेछ भनेर जाँच्ने परीक्षा यो प्रतियोगिता रहेको सीताले बताइन् ।

‘यो एक वर्षमा हामीले अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्दा मलेसियाले हामीभन्दा बलियो वरीयताको टिमसँग अभ्यास खेल खेलिरहेको छ । श्रीलंकामा प्रशिक्षण गरेको थियो । जसका कारण हामीले यो एक वर्षमा आफ्नो स्तर कस्तो बनाएका रहेछौं । हामी कहाँ छौं भन्ने कुरा सिक्ने अवसर पनि यो सिरिजमा हुनेछ,’ उनल अनलाइनखबरसँग भनिन् ।

रुविना क्षेत्री र सीता राना मगर ।

हाल नेपालको पुरुष क्रिकेट टिमले ल्याएको सफलताले नेपाली महिला क्रिकेटरमा प्रेरणा थपेको महिला क्रिकेटरहरुले बताए ।

महिला टिमले यसपटक पुरुष टिमको उदाहरण लिँदै खेल्ने हो आत्मविश्वास बढ्ने कप्तान रुविनाले बताइन् ।

‘पुरुष टिमले छोटो समयमा नै ल्याएको नतिजाबाट हामीले सिक्नुपर्छ । म आफैंले पनि कप्तानको रुपमा परिष्कृत योजना बनाइरहेको छु । हामीले यसपटक जितेर क्रिकेटमा थप खुसी दिनुपर्छ,’ उनले भनिन् ।

उनले पुरुष टिमले क्रिकेटमा फर्काएको माहोलमा महिला टिमले पनि उपाधि दिलाइ खुसी थप्नुपर्ने टिमकी सिनियर खेलाडी सीता बताउँछिन् ।

‘यसपटक पुरुष टिमले टिम स्पिरिट राखेर खेलेको थियो हामीले पनि टिम भएर खेल्नुपर्छ । एक खेलाडीले खेलको स्वरुप बदल्न सक्छ भन्ने कुरा हामीले पुरुष टिमबाट सिक्नुपर्छ,’ उनले भनिन्, ‘पुरुष टिमले धेरै पछि क्रिकेटको क्रेज फर्काएको छ । हामीले पनि यो सिरिजमा उपाधि जितेर त्यसलाई कायम गर्नुपर्छ ।’

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?