नेताहरू हत्तपत्त राजनीतिक मैदानबाट ‘आउट’ हुनै खोज्दैनन् । कथं भइहालेछन् भने पनि दर्शकदीर्घामा जाँदैनन् ‘कमेन्टेटर’को कुर्सीमा बस्न पुग्छन् । अनि टिप्पणीकार बनेर मैदानमा आफ्नो राजनीतिक उपस्थिति देखाइरहन्छन् । अहिले यस्ता एक जना नेता हुन् आरके मैनाली अर्थात् राधाकृष्ण मैनाली ।
कुनै बेला वामपन्थी आन्दोलनको पर्याय आरके कसरी हो, ज्ञानेन्द्र शाह नेतृत्वको सरकारमा शिक्षा मन्त्री बन्न पुगे । तर, यस बीचमा मुलुकले राजा फाल्यो, गणतन्त्र ल्यायो । बदलिएको राजनीतिक मैदानमा यी पुराना खेलाडी फिट भएनन् ।
‘ज्ञानेन्द्र नेतृत्वको सरकारमा सामेल भएर फर्केपछि म विस्तारै राजनीतिको केन्द्रबाट किनारातिर सोझिएँ,’ मैनाली आफू हिंडेर आएको बाटो सम्झिंदै भन्छन् ।
तत्कालीन विद्रोही माओवादीसँग संवाद गर्ने राजनीतिक व्यक्तिका रूपमा आफूलाई प्रस्तुत गर्ने राजाको प्रस्ताव पछि आफू उनी नेतृत्वको सरकारमा गएको मैनाली बताउँछन् । यसरी २०२५ सालदेखि वामपन्थी विचार बोकेर राजनीतिमा हिंडेका मैनाली झण्डै ३५ वर्षपछि एकाएक राजावादी भए ।
२०६३ सालमा राजतन्त्र हट्यो । २०७९ सालसम्म आइपुग्दा ‘गणतन्त्र’लाई आफ्नो एजेण्डा बनाएको दलको संसदमा उपस्थिति बलियो भयो । तर, वामपन्थी आन्दोलनबाट उदाएर ‘राजावादी’ देखिएका मैनाली भने राजनीतिक दृश्यबाट ओझेल पर्दै गए ।
राजनीति छाडेपछि मैनाली आफू ‘घरेलु’ भएको बताउँछन् । त्यसो त जीवनको ऊर्जावान् समय राजनीतिमा बिताएका मैनालीलाई ‘घरेलु’ भइरहन पनि सकस छ ।
सीतापाइलास्थित मैनालीको घरको बैठक कोठाको भित्ताभरि उनको राजनीतिक विरासत सम्झाउने तस्विर टाँगिएका छन् । २०२८ को झापा विद्रोहदेखि ज्ञानेन्द्रको सरकारमा मन्त्री हुँदासम्मका तस्बिरले उनको बैठक कोठा सजिएको छ ।
दिनभरजसो घरमै बसिरहने मैनालीका नजर जब ती तस्बिरमा पुग्छन् उनी ‘नोस्टाल्जिक’ हुन्छन् । अनि भन्छन्, ‘२०२५ सालमा विद्यार्थी राजनीति गरें । त्यसपछि किसान आन्दोलन । अनि झापा विद्रोह । त्यसपछि जेल जीवन भोगें ।’
उनी भन्छन्, ‘२०४६ को आन्दोलनमा वाम मोर्चाको कार्यवाहक अध्यक्ष भएर राजासँग वार्ताको टेबलमा बसें । त्यसपछि चुनाव लडें, जितें । एमाले फुट्यो, मालेमा गएँ । फेरि एमालेमा आएँ । तर, म एमालेमा एक्लिएँ र विस्तारै मूलधारको राजनीतिबाट ‘साइड’ लागेको थिएँ । राजाले बोलाए अनि मन्त्री हुन गएँ । त्यसपछि माओवादीमा जान खोजें तर, भएन । अनि नेकपामा पनि गएँ तर, हटाए मलाई ।’
करिब १५ सेकेण्डमा आफ्नो राजनीतिक यात्रा सुनाउन भ्याएका मैनाली आफू हिंडिआएको राजनीतिक घुम्तीलाई अनुभवको संग्रहका रूपमा अर्थ्याउँछन् । ‘जीवनका तरेलीमा मैले फरक-फरक भूमिका र अवस्था भोगें ।
‘मूलधारको राजनीतिबाट अलग भएपछि अलिक गाह्रो भने हुँदोरहेछ’ उनले भने, ‘तर गाह्रो साह्रो जे भए पनि भोग्नुको विकल्प छैन ।’
अहिले आफूलाई ‘स्वतन्त्र’ ठान्ने मैनाली स-साना राजनीतिक घटनाक्रमबारे पनि अपडेट भइरहन्छन् । ‘पहिला आफैं समाचारमा हुन्थे, अहिले समाचार हेरेर राजनीतिमा के-कसो भइरहेछ थाहा पाउँछु’ मैनाली भन्छन्, ‘पहिले भन्दा अहिले अलिक फरक छ, को नेता कता फर्कियो, कसले हात मिलायो भन्ने पनि समाचार आउँछ अचेल ।’
मैनालीले आफ्नो आत्मकथा ‘नलेखिएको इतिहास’मा उल्लेख गरे अनुसार तत्कालीन माले र माक्र्सवादीको एकता भएपछि बनेको एमाले नाम उनले नै जुराएका थिए । २०५४ मा एमाले फुटेर माले बनेपछि त्यतै लागे मैनाली । २०५८ सालमा फेरि एमालेमै फर्किए । २०५९ सालमा उनी एमालेबाट ‘निष्काशित’ गरिए । एमालेको पार्टी सदस्यता समेत खोसिएका मैनाली २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रको सरकारमै गए ।
‘स्वतन्त्र भएर बसेको थिएँ सरकारका तर्फबाट माओवादीसँग संवाद गर्ने राजनीतिक व्यक्ति भएन आउनुहोस् भनेपछि म गएँ’, मैनाली भन्छन् । यसरी ज्ञानेन्द्र नेतृत्वको सरकारमा शिक्षा मन्त्री भएपछि ‘वामपन्थी नेता’ राधाकृष्ण मैनालीको परिचय ‘राजावादी’ मा बदलियो ।
२०६३ मा गणतन्त्र आएपछि मैनाली आफ्नो मूल पार्टी एमालेभन्दा माओवादीतिर सोझिए । ‘गणतन्त्र आइसकेपछि म माओवादीमा जान खोजें तर, उनीहरूले मलाई पत्याएनन्’, मैनाली भन्छन् । भर्खरै राजाको क्याबिनेटबाट आएका मैनालीलाई राजा हटाएर आएको माओवादीले पत्याओस् पनि कसरी !
‘बाहिर जे भए पनि ती बन्दुक बोकेर आएका थिए’ मैनाली सुनाउँछन्, ‘म राजाको क्याबिनेटमा बसेर आएको मान्छे उनीहरूसँग सामीप्यता नै हुन सकेन ।’ माओवादी र मैनालीको मन-मुटु नमिले पनि राजनीतिक छहारी खोजिरहेका मैनाली १३ असोज २०६७ मा माओवादी प्रवेश गरे । कम्युनिष्ट आन्दोलनप्रतिको आफ्नो लगाव अझै बाँकी छ भन्ने देखाउन उनी माओवादीमा छिरेका थिए ।
‘अनेकौं असहमतिका वाबजुद म माओवादीमा प्रवेश गर्नु राजाको सरकारमा सहभागी भएर गल्ती गर्न पुगे पनि पश्चात्ताप गरेर कम्युनिष्ट आन्दोलनमै फर्किएको छु भन्ने सन्देश दिनु मात्रै भयो’, मैनाली आफ्नो किताबमा लेख्छन् ।
माओवादीसँग मोहभंग भएपछि २०७१ फागुनमा मैनाली फेरि एमालेमा फर्किए । २०७२ सालमा एमाले र माओवादी एकता भएपछि उनी बाहिर परे । त्यसयता उनी राजनीतिबाट बाहिरै छन् ।
राजनीतिक सरगर्मीबाट टाढिएपछि नेताहरू एक्लोपनको शिकार हुन्छन् । सीतापाइलाको घरमा एक जना सहयोगीको भरमा मैनाली र उनकी पत्नी राधिका मैनाली मात्रै छन् । ‘तीन वर्ष गोलघर (जेल) मा बस्दा बिहानदेखि बेलुकासम्म खाना दिन आउने जम्मा दुई जनासँग मात्रै भेट हुन्थ्यो । झ्याल, छानाको प्वालबाट आकाशका तारा देखिए पनि बडो आनन्द आउँथ्यो’ मैनाली आफू एक्लिएको छैन भन्दै भन्छन्, ‘त्योभन्दा त यो जीवन कहाँ हो कहाँ आनन्द छ नि !’
आजभोलि मैनालीको बसिबियाँलो गर्न सघाउँछन् आफन्तजन र बेलाबेला राजनीतिक प्रतिक्रिया वा टिप्पणी खोज्न आउने पत्रकार । ‘बेलाबेला आफन्तजनसँग भेटघाट हुन्छ । पुराना साथीहरू आउँछन् । मिडियाका साथीहरू पनि कुराकानी गर्न आइरहन्छन् । मलाई पनि अलमलिने बाटो हुन्छ’, मैनाली सुनाउँछन् ।
मैनालीका पुराना साथीमध्ये एक हुन्, एमाले अध्यक्ष केपी शर्मा ओली । एक दशकभन्दा बढी जेल जीवन सँगै बिताए पनि ओलीमाथि मैनाली बेलाबेला खनिइरहन्छन् । ओलीको चर्को आलोचना गरिरहन्छन् ।
५ पुस २०७७ र ८ जेठ २०७८ मा दुई पटक संसद विघटन गरेपछि आफूले ओलीको खुलेर आलोचना गरेको बताउँछन् मैनाली । ‘७० वर्षे वामपन्थी आन्दोलनको इतिहासमा दुई तिहाइ शक्ति सहित उनी प्रधानमन्त्री भए । तर, दुई-दुई पटक संसद भंग गरे’ मैनाली भन्छन्, ‘वामपन्थी आन्दोलन समाप्त पारे । उनले राजनीतिक अपराध नै गरे । त्यसैले ओलीको बढ्तै आलोचना गरेको हुँ ।’
मान्छेहरू भन्छन् मित्रता सुखमा होइन दुःखमा गहिरो हुन्छ । यदि यो जनश्रुति सत्य हुन्थ्यो भने ओली र मैनालीको दोस्ती कसिलो हुनुपर्थ्यो । तर यस्तो जनश्रुति सत्य सावित गर्नुपर्ने बाध्यता छैन राजनीतिलाई ।
‘मित्रता भनेको दोहोरो हुन्छ’ ओलीप्रति लक्षित गर्दै मैनाली भन्छन्, ‘राजनीतिमा कोही पनि आफ्नो हुँदैन भन्ने ओलीले प्रमाणित र लागू पनि गरे ।’ आफ्नो किताबमा मैनालीले जेलमा रहँदा आफूले अनेक प्रयत्न गरेर ओलीको ज्यान बचाएको लेखेका छन् ।
‘केन्द्रीय कारागारमा म ओलीसँगै नभएको भए सायदै उनी जीवित बाहिर आउँथे होला । अल्सर र टिबीले गर्दा उनको स्वास्थ्य निकै खराब थियो । बिरामीले थलिएका उनलाई नुहाउने, लुगा लगाइदिने, दिसा बसाइदिने र धोइदिनेसम्म गरें मैले’ मैनाली उधारो मित्रताको कहानी सुनाउँदै भन्छन्, ‘तर उनले नै मलाई पार्टीबाट हटाए । यो हर्कतको वितृष्णा छ मभित्र ।’
२०७१ सालमा ओली सपरिवार मैनालीलाई भेट्न सीतापाइला पुगेका थिए । माओवादी छाडेर बसेका मैनाली ओलीकै आग्रहमा एमाले फर्किएका थिए । ‘ओलीलाई पुराना साथी सम्झिने फुर्सद नै छैन । हिजो जेलको दुःखका, झापा विद्रोहका साथीलाई ओली सम्झिंदैनन्’ मैनाली गुनासो गर्छन्, ‘उनी त नवधनाढ्यको घेरामा छन् ।’
मैनालीले आफ्ना उर्वर दिन छोराछोरीसँग नभई जेलमा बिताए । त्यसपछि जब उनी राजनीति छाडेर आए, उनका छोराछोरी विदेश हान्निए । मैनालीका एक छोरा र दुई छोरी छन् । ‘छोराछोरीको बाल्यकाल मसँग बितेन । म जेलमा, उनीहरू घरमा भए’ मैनाली सम्झिन्छन्, ‘म जेलबाट निस्केपछि उनीहरू कामधाममा बाहिर लागे ।’

अमेरिकामा रहेका मैनालीका छोरा दिपेशले परिवारको खर्च धानेका छन् । ‘सत्तामा बसेर कमाउन सकिनँ अनि के गर्नु छोरालाई विदेश पठाउनु पर्यो’, मैनाली आफ्नो बाध्यता सुनाउँछन् ।
‘२०६३ मा राजाको क्याबिनेटबाट बाहिर आउँदा मसँग ६ महिना भान्सा चलाउन पुग्ने मात्रै पैसा थियो’ मैनाली भन्छन्, ‘अरू कुनै आयस्रोत थिएन, अनि छोरालाई बाहिर जाऊ भनें ।’ उनी २०५१ सालमा पहिलोपल्ट कृषि तथा भूमिसुधार मन्त्री, २०५३ सालमा स्वास्थ्य र २०६१ सालमा शिक्षामन्त्री भएका थिए ।
२०५१ सालमा सांसद सुविधा अन्तर्गत पाएको गाडीको किस्ता पनि उनले २०६४ सालमा मात्र तिरेर सके । ‘१५ लाख भन्सार छुट पाएर १३ लाख रुपैयाँमा गाडी पाइएको थियो । त्यसको पनि ब्याज तिर्दातिर्दा थाकें’ मैनाली सुनाउँछन्, ‘२०६४ सालमा छोराले विदेशबाट पठाएपछि मात्रै गाडीको सबै पैसा चुक्ता गरें ।’
बुढेसकालमा घरमा एक्लै बस्न त मैनालीलाई पनि कहाँ मन छ र ! तर, बाध्यतालाई नै उनी सन्तुष्टिका रूपमा सुनाउँछन् । ‘छोरालाई यहाँ आइज् पनि कसरी भन्नु ? ऊ आयो भने आर्थिक व्यवहार कसरी चल्छ हाम्रो ? छोरा सँगै नभएको विरह उसले हाम्रो घरव्यवहार धानेको कुराले जितेको छ’, मैनाली भन्छन् ।
नयाँ राजनीतिक पार्टी सुरु गरौं भनेर मैनालीलाई बेलाकुबेला मान्छेहरू उक्साउन आइरहन्छन् । यसरी आउनेहरूलाई उनी आफ्नै भाइ सीपी मैनालीको उदाहरण दिन्छन् । ‘संगठन छैन, केही छैन, सिद्धान्त भनेर बुढेसकालमा १० जनाको संगठन बनाएर के फाइदा ? फैलिंदै नफैलिने संगठनमा बसेर के दुःख गर्नु’ उनी भाइ मैनालीका बारेमा यति मात्रै टिप्पणी गर्छन् ।
७६ वर्ष पुगेका मैनालीलाई अब फेरि राजनीतिमा सक्रिय हुने इच्छा पनि देखिंदैन । ‘अब त्यो जाँगर र इच्छा पनि छैन राजनीतिमा फर्किने’, मैनाली सुनाउँछन् । राजनीतिभन्दा उनलाई यही स्वतन्त्र जीवन आनन्द लागेको छ । राजनीतिमै सक्रिय रहेको भए पनि आफू त ७० वर्ष पुग्दानपुग्दै ‘रिटायर्ड’ हुनेथिएँ भन्छन् मैनाली ।
‘एउटा मान्छे सधैं पोलिटिकल हुन सक्दैन । तर, यहाँ त मान्छेहरू चितामा पुग्ने बेलासम्म पनि राजनीतिको धनु तन्काएको तन्काएकै गर्छन् । एउटा मान्छेले यो समाजको नेतृत्व कति वर्षसम्म गर्न सक्छ ?’, मैनाली प्रश्न गर्छन् ।
एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले शान्त जीवनको स्वाद नै लिन नपाएको टिप्पणी गर्छन् मैनाली । ‘उहाँहरूले शान्त जीवनको स्वाद लिन पाउनुभएकै छैन’ मैनाली भन्छन्, ‘सत्ताको नशाले उहाँहरूलाई झ्याप बनाएको छ ।’
जीवनको अन्तिम समयसम्म पनि राजनीतिक दाउपेचमा लागिरहने नेताहरूको आदतलाई कार्टुनिष्ट रवि मिश्र ‘देश बनाउने कु-लत’ भन्दै व्यङ्ग्य कस्छन् । मैनालीले यो ‘कु-लत’ त्यागिसके । तर, यसको हृयाङओभर भने अझै बाँकी छ । उनी भन्छन्, ‘मैले जति गर्न सक्थें त्यति त गर्न सकिनँ । तर, मभन्दा पछाडिकाले जति राम्रो गर्न सक्थे त्यो गरेनन् ।’
यो चिन्तालाई आफ्नो राजनीतिक जीवन जसरी नै थान्को लगाउँदै उनले कुराको बिट मारे । हामी हिंड्नै के लागेका थियौं उनले थपे, ‘टोपी लगाएको पनि एउटा फोटो खिचिदिनुहुन्छ कि !’
तस्वीर : आर्यन धिमाल
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4