+
+

डीभीसँगै सीभीमा पनि ध्यान दिऔं 

नेपालमा आफूले सिके–जानेको काम निरन्तर गर्न सहजै पाइँदैन। नेपालका शैक्षिक प्रमाणपत्रले समान मान्यता पाउँदैनन्। डाक्टर, इन्जिनियर जस्ता प्राविधिक क्षेत्रमा काम गरेकाले पनि थप अध्ययन गरी लाइसेन्स लिनुपर्ने हुन्छ। पढ्न, लाइसेन्स प्राप्त गर्न महँगो र २/४ वर्ष लाग्ने हुन्छ।

डा. विष्णुप्रसाद जोशी डा. विष्णुप्रसाद जोशी
२०८० जेठ ३ गते १२:४४

भ्रमण, अध्ययन या स्थायी बसोबास गर्न अमेरिका, युरोप, क्यानडा, अस्ट्रेलिया जानु धेरैको लागि अवसरको खोजी, सपना या बाध्यता मध्य जे पनि हुन सक्छ। साथी, सँगी, आफन्तहरू गएको र संजालमा रमाएर हालेका तस्वीरहरूले कतिलाई रहर पनि लाग्दो होला। हुन त विदेशबाट आफू घण्टा गनेर काम गर्दै गर्दा ब्रेकमा मोबाइल खोली हेर्दा साथीभाइ र आफन्तले नेपालमा होली, दशैं, तीजका जस्ता चाडपर्व या विवाह, व्रतबन्धका पार्टीमा रमाएर हालेका सपरिवार रङ्गीन तस्वीर देख्दा प्रवासी नेपालीलाई पनि लाग्छ जीवन त नेपालमै रङ्गीन छ।

अरूको आँगनमा टाढाबाट हेर्दा घाँस हरियो नै देखिन्छ। के प्रवासमा घाँस साँच्चै हरियो छ त ? हरियो छ भने त्यसलाई सुकेर पहेँलो हुन नदिन कति मिहिनेत लाग्छ भन्ने बारे यो लेख केन्द्रित रहनेछ।

अध्ययन, अध्यापन र कामको सिलसिलामा मेरो केही वर्षको अमेरिका बसाइ, केही अध्ययन, अवलोकन र यता बसोबास गर्दै आएका विभिन्न तप्काका नेपालीसँगको संवादका आधारमा केही उपयोगी सुझावहरू लेख्दैछु। साथै हालै ई–डीभी परेर या ‘अन्य’ उपायबाट भ्रमण, उच्च शिक्षा, भौतिक सुविधा या रोजगारीको अवसरको लागि अमेरिका आउने विचार गरिरहेका युवा मित्रहरूलाई पनि केही सुझाव समेटेको छु।

के विदेशमा डलर रुखमा टिप्न पाइन्छ ?

पहिलो कुरा इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डीभी) लाई चिट्ठा (लोटरी) भनिए तापनि अमेरिका जानासाथ सरकारले काम दिन्छ, घर-गाडी पनि दिन्छ सोच्नु रुखमा डलर टिप्न पाइन्छ भने झैं हो। डीभी या पर्मानेन्ट रेजिडेन्सी (पीआर) पाउनु भनेको युरोप, अस्ट्रेलिया, क्यानडा, अमेरिकाले हामीलाई ती देश प्रवेश गर्ने र स्थायी बसोबासको अनुमति मात्रै दिएको हो। बाँकी जीविकोपार्जनको जोहो आफैं गर्नुपर्छ। प्रोसेस गर्न लाग्ने भिसा, ग्रीनकार्डको पैसा र प्लेनको टिकट पनि आफैंले तिर्नुपर्ने हुन्छ।

नेपालमा आफूले सिके–जानेको काम निरन्तर गर्न सहजै पाइँदैन। नेपालका शैक्षिक प्रमाणपत्रले समान मान्यता पाउँदैनन्। डाक्टर, इन्जिनियर जस्ता प्राविधिक क्षेत्रमा काम गरेकाले पनि थप अध्ययन गरी लाइसेन्स लिनुपर्ने हुन्छ। पढ्न, लाइसेन्स प्राप्त गर्न महँगो र २/४ वर्ष लाग्ने हुन्छ। त्यसमाथि मै हुँ भन्नेको अङ्ग्रेजी उच्चारण पनि बुझिंदैन। आफ्नै गाडी र लाइसेन्स नहुनाले पनि कतिपय काम सहज हुन्न। त्यसैले सुरुमा धेरैले ग्याँस स्टेसन, विभिन्न रेस्टुरेन्टमा वेटर वा पार्लरमा हेल्पर या डेलिभरीकै काम सुरु गर्छन्।

हो, विकसित देशमा काम गर्न धेरै अवसर हुन्छन्। यदि तपाईँ आधिकारिक रूपमा विदेशमा कानुनसम्मत काम गर्न मिल्ने भिसा या स्थायी अनुमति सहित जानुभएको छ भने २० घण्टा प्रति हप्ताको जुनसुकै कामले खान–बस्न, ४० घण्टा प्रति हप्ताको श्रमले केही बचत र ओभर टाइम गरेर राम्रै आम्दानी गर्न सकिन्छ। तर धेरै भौतिक श्रम गर्नुपर्ने कामहरूमा वृद्धिको अनुपात अलि ढिलो हुने हुनाले समय बित्दै जाँदा मिहिनेत पनि बढ्दै जान्छ। परिवार बढ्दै जाँदा घर किन्न ऋण लिनुपर्ने हुन्छ। आवश्यकता र आश्रितको संख्या बढ्दै गएपछि झन् धेरै श्रम गर्नुपर्ने हुँदा विश्राम-कामको सन्तुलन बिग्रन सक्छ। केही दशकपछि समयमै आफ्नो क्षमता अभिवृद्धि गर्न ढिला गरेछु भनेर पछुताउने पनि भेटिन्छन् ।

विदेशबाट फर्केर सांसद, मन्त्रीसम्म त भए प्रधानमन्त्री हुन बाँकी छ। के थाहा आज विदेश उड्दै गरेको कुनै युवा भविष्यमा विदेशको नागरिकता त्यागेर, पुनः नेपाली नागरिकता लिएर देशको नेतृत्वसम्मै पुगेर आफूले विदेशमा आर्जेको अनुभव देशमा उपयोग गरी केही ठोस रूपान्तरण ल्याउने कारक पो बन्छ कि ? त्यसैले विदेशिए पनि देश नभुलौं !

त्यसैले समय रहँदै कुनै प्राविधिक क्षेत्रमा विशेषज्ञता छ भने थप पढेर या तालिम हासिल गरे अझै राम्रो आम्दानीसहित स्वास्थ्य बीमा र रिटायरमेन्ट फन्ड जस्ता सुविधाहरू माथि पहुँच सहज हुन्छ। कैयौंले आफ्नै सानो रेस्टुरेन्ट, ग्याँस स्टेसन, पार्लर उद्यम व्यवसाय पनि सुरु गर्छन्।

विदेशिएका युवाका आफन्त, साथी अभिभावकलाई सुझाव 

विदेशिन प्रयासरत युवालाई केही सुझाव दिएपछि नेपालमा आफन्तलाई पनि केही अनुरोध गर्न चाहें। आज आफ्ना आफन्त विदेश जानु प्रतिष्ठाको विषय भएको छ। यो अभ्यास आजकल वर्ग विभाजनको कारक पनि बन्दै गएको छ। त्यसैले त पहाडका मान्छे तराई झर्न चाहन्छन्, तराईका काठमाडौं चढ्न चाहन्छन् भने काठमाडौंका विदेश उड्न चाहन्छन्। छोराछोरी र आफन्त विदेश जाँदा माला, खादा लगाएर, भोज, पार्टी गरेर सामाजिक सञ्जालमा तस्वीर र स्ट्याटस रङ्ग्याउनु हामीलाई सामान्यझैं लाग्न थालेको छ।

यसरी हामी देखावटी बन्दै गएका छौं। छिमेकीका छोरा-छोरीले आइफोन र ल्यापटप पठाए, या जग्गा किने भने आफ्ना विदेशमा सङ्घर्षरत परिवारलाई अनावश्यक दबाब नदिऔं। बरु उनलाई केही वर्ष पढ्न, तालिम लिन दिऔं। जीवन आफ्नै तरिकामा जिउन दिऔं।

नेपालीहरू जहाँ भए पनि मन नेपाली नै हुन्छ

एक दशकअघि विदेशिनु र उतै स्थायी बसोबास गर्नुलाई सफलता मानिन्थ्यो। तर अहिले त्यस्तो सोच बदलिंदो छ। विदेश त हरेक घरको कोही न कोही गएकै छ। एकातिर आज विदेशमा मनग्ये आम्दानी गरेर, राम्रै नाम कमाएका कति नेपाली मैले देशको लागि समय रहँदै केही गर्न सकिन भनेर पछुताएका भेटिन्छन् त अर्कोतिर कतिले देश फर्किएर विभिन्न क्षेत्रमा सफलता पनि हासिल गरेका छन्। विदेशमा उच्च शिक्षा, अनुभव र केही पूँजी आर्जन गरेपछि नेपाल फर्किएर उद्यम व्यवसाय खोलेर सफल हुने अभ्यास बढाउनुपर्छ।

आज कैयौंले नेपालका समान विदेशमा निर्यात गर्नेदेखि सूचनाप्रविधिका क्षेत्रमा काम गर्दै छन्। कति वृद्ध बुवा–आमाको सेवा गर्न फर्किएका छन् त केही राजनीतिमा सक्रिय छन्। विदेशिए पनि कैयौं नेपालीले राष्ट्रिय आविष्कार केन्द्र जस्ता संस्था या आफ्नै गाउँपालिकामा शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना गर्ने काममा लगानी गरेका छन्। त्यसैले विदेश रहेर पनि देशको लागि केही न केही गर्दै रहन सकिन्छ।

कतिलाई विदेश पुगेर लाग्ला विदेशमा हाम्रो जीवन चलेकै छ। हामी किन टाउको दुखाउने ? तर, के हाम्रो आफ्नो देशप्रति दायित्व छैन ? विदेशको बसाइ दुई चार पैसा कमाई महँगा गाडी किनी, देश–विदेश घुमेका सेल्फी र लाइभ भिडियोहरू सामाजिक सञ्जालमा हाली, आफ्नै बखान गरी, लाइक र कमेन्ट गन्दै बस्नका लागि मात्रै हो ? नेपालीहरू जहाँ भए पनि मन नेपाली नै हुन्छ। भौतिक रूपमा सबै जना नेपाल फर्किन नसके/नचाहे पनि आज विदेशमा रहेका लाखौं नेपाली मनहरू आफ्नो क्षमता र दक्षतालाई प्रयोग गरी नेपालमै केही तालिम केन्द्र, उद्योग-व्यवसाय खोल्ने इच्छा व्यक्त गर्छन्।

उनीहरूसँग विज्ञता, साधन, स्रोत छ। तर, आफ्नै गाउँ-ठाउँमा त्यो विज्ञता परिचालन गर्न स्थान र सञ्जाल छैन। अर्कोतिर गाउँ-घरमै केही गर्न चाहने युवा मित्रहरू छन्। जोसँग समय र जोस-जाँगर त छ तर, अवसर अनि साधन-स्रोत छैन। यदि आफ्नो गाउँ–ठाउँ आफ्नै पुस्तामा समृद्ध बनाउने साझा सपना बोकेका सबै युवा हातेमालो गरी अघि बढ्ने चौतारी र सञ्जाल बनाउन पाए हाम्रो स्थानीय शैक्षिक, आर्थिक र सीपमूलक विकास दिगो हुन सक्छ। अब परदेशिएका युवा साथीले विदेशमा कमाएको पूँजीलाई आ-आफ्नै गाउँ–ठाउँमा विप्रेषण मात्र नगरी गाउँमै भएका युवालाई रोजगारी समेत सिर्जना गरी लगानी प्रयास गर्न आवश्यक छ।

विदेश बसेपछि देशको माया झन् बढ्दै जान्छ। विकसित देश जस्तै नेपाललाई पनि व्यवस्थित गर्न पाए हुन्थ्यो भन्ने चाहना झन् प्रबल हुँदै जान्छ। केही युवा विदेशमा उच्च शिक्षा हासिल गरेर नेपाल फर्की पालिका अध्यक्ष लगायत सांसद समेत बनेर देशको सेवामा तल्लीन छन्। विदेशबाट फर्केर सांसद, मन्त्रीसम्म त भए प्रधानमन्त्री हुन बाँकी छ। के थाहा आज विदेश उड्दै गरेको कुनै युवा भविष्यमा विदेशको नागरिकता त्यागेर, पुनः नेपाली नागरिकता लिएर देशको नेतृत्वसम्मै पुगेर आफूले विदेशमा आर्जेको अनुभव देशमा उपयोग गरी केही ठोस रूपान्तरण ल्याउने कारक पो बन्छ कि ? त्यसैले विदेशिए पनि देश नभुलौं !

 (बझाङमा जन्मिएका लेखक हाल अमेरिकामा वैज्ञानिकको रूपमा कार्यरत छन्)

लेखकको बारेमा
डा. विष्णुप्रसाद जोशी

बझाङमा जन्मिएका लेखक हाल अमेरिकामा वैज्ञानिकको रूपमा कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?