+
+

अन्नपूर्ण डेमा अन्नपूर्ण म्याराथन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १९:३१

४ जेठ, पोखरा । ७ दशकअघि सन् १९५० जुन ३ मा फ्रेन्च नागरिक मौरिस हर्जोगको टोली पहिलोपटक अन्नपूर्ण हिमाल (८,०९१ मि.) को चुचुरोमा टेक्यो । त्यही नै ८ हजार मिटरमाथिको सफल हिमाल आरोहणको पहिलो इतिहास बन्यो ।

अन्नपूर्ण हिमाल सफल आरोहण गरेको ३ वर्षपछिमात्रै सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको थियो ।

अन्नपूर्ण हिमालमा पहिला पटक मानव पाइला टेकिएको दिनलाई सम्झिँदै ‘अन्नपूर्ण म्याराथन तथा सेञ्चुरी पर्यटन महोत्सव’ हुने भएको छ ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण गाउँपालिकामा पर्ने घान्द्रुक गाउँमा जेठ १७ देखि २० गतेसम्म तेस्रो संस्करणको अन्नपूर्ण म्याराथनसँगै पर्यटन महोत्सव गर्न लागेको हो ।

अन्नपूर्ण हिमाल आधार शिविर (एबीसी क्याम्प)देखि सुरु हुने म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुक गाउँमा आएर टुंगिने महोत्सव संयोजक ललित गुरुङले जानकारी दिए ।

०७४ मा पहिलो संस्करणको पर्यटन महोत्सव गरे पनि बीचमा कोरोना महामारीका कारण निरन्तरता दिन नसके पनि अहिले तेस्रो संस्करण गर्न लागेको गुरुङको भनाइ छ ।

‘अन्नपूर्ण आरोहण दिवसको अवसरमा २ वटा म्याराथनका संस्करण गरिसकेका छौं । केही वर्ष कोरोना महामारीका कारण रोकियो,’ उनले भने, ‘अब निरन्तरता दिन लागेका छौं । यसले पर्यटन क्षेत्रमा देखिएको संकट मोचन गर्ने विश्वास राखेका छौं ।’

म्याराथनमा पुरुषतर्फको विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमश: १ लाख र ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिलातर्फको विजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ हात पार्नेछन् ।

महोत्सवमा म्याराथनसँगै गाउँस्तरीय भलिबल, बास्केटबल प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ । भलिबल र बास्केटबल प्रतियोगितको विजेता र उपविजेताले क्रमशः ८० हजार र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

महोत्सवका अवसरमा अन्नपूर्ण पत्रकारिता पुरस्कार वितरण, हर्स राइडिङ, अन्धानिशान, छेलो, गुरुङ संस्कार संस्कृतिको प्रदर्शनी आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?