७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयास भइरहेको दाबी गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि आइतबार संसदमा भएको छलफलमा एमाले अध्यक्ष ओलीले आफू परराष्ट्रमन्त्री भएकै बेला भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वास कार्यक्रम सुरु भएको बताए । त्यसअनुसार १ लाख १३ हजार ३०७ जना तेस्रो मुलुक गए पनि ६ हजार ७५५ बाँकी रहेको र उनीहरूमध्ये ४२९ को कार्ड बनिसकेको बताए ।
उनीहरूको विषयमा अध्ययन गर्न आफू प्रधानमन्त्री भएको बेला (बालकृष्ण पन्थी नेतृत्वमा) समिति बनेको र त्यसले पठाएको प्रस्ताव हेर्न नभ्याएर होल्ड गरेको बताए । ‘मलाई त पीङ खेलाएको खेलाई हुनुहुन्थ्यो, कागजतिर हेर्ने समय पनि थिएन त्यसबेला’ उनले भने, ‘मुद्दैमुद्दा, नारैनारा, जुलूसै जुलूस, भित्तामा टाँसिदिन्छु भनेको छ, भुइँमा मिलाइदिन्छु भनेको छ । साँच्चै मिलाउँछन् कि क्या हो जस्तो स्थितिमा हामीले केही गरेनौं । त्यसपछि सरकारले अगाडि बढाउन फिर्ता पठाएछ ।’
त्यही बेला कभर उही राखेर सूची फेरिएको भन्दै ओलीले भने, ‘परिवर्तन गर्ने को हो खोजी गर्नुपर्दैन ?’ यो प्रकरणमा एमाले र आफ्नो नाम जोड्ने रहर गरे पनि त्यो सफल नहुने उनले बताए । अध्यक्ष ओलीले भने, ‘म चुनौतीका साथ भन्न चाहन्छु, म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, प्रधानमन्त्री भएँ, छानबिन गरियोस् ।’
अहिले निर्दोष फसाउने प्रयास भइरहेको भन्दै उनले सरकारलाई खबरदारी गरे । ‘तथ्य प्रमाणसहित भन्दैछु, दोषीलाई उम्काउने प्रयास भइरहेको छ । निर्दोषलाई फसाउने कोसिस भइरहेको छ’ राजनीतिक अभीष्ट साध्न निर्दोषलाई फसाउनु पनि अपराध भएको भन्दै उनले अघि भने, ‘यो बन्द गरियोस्, दोषीमाथि कारबाही दृढताका साथ अगाडि बढाओस् ।
जुँगामा ताउ नलगाए हुन्छ
एमाले अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरणमा सरकारले बाघ मारेको जसरी हल्ला गर्न जरूरी नभएको बताए ।गत वर्ष जेठ १९/२० गते नै उजुरी परेको भए पनि गुपचुप राखेको पाइएको उनले बताए । ‘गिरफ्तार गरिरहेको रहेछ, सट्याकसुटुक छोडिएछ । लेनदेन मिलाउने, केस दबाउने कोसिस भएछ’ उनले भने, ‘म सरकारमा थिइनँ, सरकारमा हुनेहरूले त्यतिसम्म गर्नुभएछ ।’
९७५ जनासँग पैसा लिएर फारम भराएको भन्दै उनले पचाउन वा दबाउन सक्ने केस नभएको बताए । ‘यो आफैं विस्फोट भएर आयो, भुइँचालो गएको जस्तो भएर आयो’ उनले भने, ‘भुइँचालो मैले ल्याएँ भन्नु बेकार छ, आफैं आयो ।’
‘सरकारले भ्रष्टाचारविरोधी च्याम्पियन भएर केके न बाघ मारेको जस्तो उधुम हल्ला गरेको छ । गृहमन्त्रीज्यू उधुम हल्ला गरिराख्नुभएको छ । यसमा सरकारले जुँगामा ताउ लगाउनुपर्ने आवश्यकता देख्दिनँ ।’
नेताहरू र मन्त्रिपरिषदले हस्तक्षेप नगर्न र प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिन आग्रह समेत गरे ।बयानको क्रम कसरी चलिरहेको छ भन्ने आफूहरू पनि हेरिरहेको भन्दै उनले भने, गल्ती गर्नेतिर सरकार नजाओस्, भ्रष्टलाई कारबाही गर्नेतिर जाओस् । ‘आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्नँ, फुत्त निस्किहान्छ ।’
साथै यसअघि पनि केही मान्छे भुटानी शरणार्थी बनेर गएको सुनेको भन्दै ओलीले यसबारे छानबिन गर्न आग्रह गरे ।
केपी ओलीले म्याउँ गर्दैन
एमाले अध्यक्ष ओलीले तीन दलका नेताहरूको भेटलाई लिएर प्रश्न गरेकोमा समेत आक्रोश पोखे । ‘तीन प्रमुख पार्टीका नेताहरू भेट्दा सन्देह पैदा भयो ? संसद बैठक पटक पटक बस्दा सन्देह पैदा भयो ?
मन्त्रिपरिषद् पटक पटक बस्दा सन्देह पैदा भयो ? के भन्या यो ?’ उनले भने, ‘अनि देशको अवस्था यस्तो छ । सदन कसरी चलाउने ? सहमतीय बाटोमा कसरी जाने ? आदि कुराहरूमा नेताहरू छलफल गर्दैनन् ?
तीन जना भेट्दा पनि आफूले ‘मेरो मान्छे बचाइदेऊ भनेर म्याउँ म्याउँ गर्न गएको जसरी प्रचार भएको भन्दै उनले भने, ‘केपी ओलीले अर्थोक गर्ला, म्याउँम्याउँ गर्दैन । बाघ भोकै मर्छ, तर घाँस खाँदैन ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4