+
+
ब्लग :

नक्कली शरणार्थी प्रकरणमा हामीले नदेखेका दोषीहरू

ठगहरूलाई चिन्न नसक्ने कमजोर चेतनास्तरबाट हामी किन माथि उठ्न सकिरहेका छैनौं ? ठगहरू राज्यको महत्वपूर्ण ठाउँमा पुग्ने प्रक्रिया अनि ठाउँमा पुगेका मान्छेलाई ठग बनाउने व्यवस्था हामीले किन चिन्न सकिरहेका छैनौं ? नक्कली भुटानी शरणार्थी प्रकरणको कारण यी प्रश्नहरूभित्र खोज्नुपर्छ।

बडुवाल कपिल सिजापति बडुवाल कपिल सिजापति
२०८० जेठ ७ गते १६:२४

राज्य जनताको अभिभावक हुनुपर्छ। अभिभावकले मातहतका लागि इमानदार भएर काम गर्नुपर्छ। तर यो देशले कहिल्यै त्यस्तो अभिभावक पाएन। राजतन्त्र र राणाकालीन शासन व्यवस्थाले जनताको श्रम, सीप र देशको स्रोतसाधनमाथि चरम शोषण गर्‍यो।

२०६३ सालपछि देशमा गणतन्त्र मान्ने दलहरूको हालीमुहाली छ। तर देश र जनतामाथि तिनको शोषण पनि कहीं कतै कम देखिंदैन। अभिभावक बन्नुपर्ने शासकहरूले जनतालाई शोषणको जाँतोमुनि चरम दु:ख र निराशाले पिसिइरहे।

सधैंको दु:ख र निराशाले कहिलेकाहीं स-साना र स्वाभाविक कुराहरूमा धेरै खुशी र उत्साह मिल्ने रहेछ। नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेको प्रचण्ड सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठको चौतर्फी वाहवाही यस्तै खुशी र उत्साह हो। यहाँनेर भ्रष्ट र घुसखोर अपराधीहरूलाई कारबाही गर्नु राज्यको कर्तव्य हो भन्ने नै हामीले बिर्सेका छौं।

भ्रष्टाचार र घुसखोरी रोक्न र अझ देश र जनताको हितमा थुप्रै काम गर्न हामीले नै उनीहरूलाई विश्वास गरेर ठूलो सेवासुविधा र सम्मानसहित जिम्मेवारीमा पठाएका हौं। उनीहरू देश र जनताको हितमा जे जति काम गर्छन् त्यो दयामाया होइन, हाम्रो अधिकार हो। तर राज्यका त्यस्तै मान्छेले विगतमा अपराध गरेको हुनाले अहिलेको सरकारलाई वाहवाही पाउने ठाउँ मिलेको छ।

बडुवाल कपिल सिजापति

आफ्ना नागरिकलाई नक्कली शरणार्थी बनाएर राज्यविरुद्ध ठगी र मानव बेचबिखनको दुस्साहस गर्ने तत्कालीन उपप्रधानमन्त्री, गृहमन्त्री, राज्यका सचिव, सांसद लगायत जिम्मेवार मान्छेले नै प्रचण्ड सरकारका लागि यो ठाउँ बनाइदिएका छन्। राज्यको यति महत्त्वपूर्ण ठाउँमा पुगेर देशविरुद्ध ठगी गर्नु सानोतिनो अपराध होइन।

यस्ता अपराधीलाई कडा कारबाही हुनुपर्छ। तर नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितलाई मात्र दोषी देख्नु अधुरो हुन्छ। देशमा बस्न कोही किन तयार छैन ? देश चरम गरिबी र बेरोजगारीको दलदलमा किन फसिरहेको छ ? नक्कली भुटानी शरणार्थी प्रकरणको एउटा कारण यी प्रश्नहरूको अन्तर्यमा छ।

आजसम्मका राज्य संचालक र राज्य व्यवस्थाहरू इमानदार र उचित भइदिएको भए यो देश पनि विश्वका कुनै देशभन्दा पछाडि पर्नुपर्ने होइन। २३८ वर्षसम्म कथित राजाहरूको बेइमानी र ठगी, १०४ वर्षसम्म राणाहरूको ठगी, ३० वर्षसम्म पञ्चहरूको ठगी अनि अहिलेका संसदवादी नेताहरूका काण्डमाथि काण्ड, भ्रष्टाचार, घुसखोरी, कमिसनखोरी र ठगीले देश कंगाल हुनु पनि नक्कली शरणार्थी प्रकरणको कारण हो। यही कारणले जनता चरम गरिबी र बेरोजगारीमा छन्। देशमा बस्न कोही तयार छैन। पैसा तिरेर नक्कली शरणार्थी नै किन बन्न नपरोस्, मान्छेहरू देश छोड्न विवश छन्।

टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, आङटावा शेर्पा, टेकनारायण पाण्डे, इन्द्रजित राई सँगसँगै देशलाई सदाबहार गरिबी दिने अनि जनतालाई अन्धविश्वासमा डुबाएर राख्ने आजसम्मका सबै राज्य व्यवस्था र राज्य संचालकहरू नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी हुन्।

त्यस्तै जनता ठगिने अवस्थाले पनि नक्कली शरणार्थी प्रकरणमा भूमिका खेलेको छ। मान्छेले आफ्नो शक्ति चिनिसके। विज्ञान, प्रविधि, ज्ञान, सीप लगायत मानव हितमा ठूल्ठूला चमत्कार गरिसके। तर हामी अझै लुटिने र ठगिने हालतमा किन पिछडिएका छौं ? त्यो पनि नक्कली शरणार्थी प्रकरणमा जस्तै राज्यका उच्चपदस्थ मान्छेहरूबाट।

तिनीहरू लुकेर त्यो ठाउँमा पुगेका थिएनन्, आम जनताले नै विश्वास गरेर त्यहाँ पुर्‍याएका थिए। ठगहरूलाई चिन्न नसक्ने कमजोर चेतनास्तरबाट हामी किन माथि उठ्न सकिरहेका छैनौं ? ठगहरू राज्यको महत्वपूर्ण ठाउँमा पुग्ने प्रक्रिया अनि ठाउँमा पुगेका मान्छेलाई ठग बनाउने व्यवस्था हामीले किन चिन्न सकिरहेका छैनौं ? नक्कली भुटानी शरणार्थी प्रकरणको अर्को कारण यी प्रश्नहरूभित्र छ।

कुरा उही हो, राज्य आफ्नो अभिभावकीय भूमिकाप्रति इमानदार भएन। हामी एकजनाले मुलुक आर्जेको इतिहास पढ्छौं। भगवानको पूजा गर्छौं। कसैले मीठो भाषामा देश बनाउने र सुख, समृद्धि दिने गफ गरिदिए हामी उसलाई नेता बनाइदिन्छौं। यो तरिकाले हामी अमूक मान्छेको भरमा बाँच्नुपर्ने हालतमा फस्छौं। हाम्रो यही हालतको फाइदा उठाउँदै बेइमानहरू हामीमाथि शासन गर्छन्।

हामी ठगिने स्थिति यही बन्छ। यो स्थितिबाट पार पाउन आवश्यक शिक्षा र तालिम हामीले कहिल्यै पाएनौं। जहिल्यै हामीलाई रैती र अन्धविश्वासी बनाउन खोजियो। हामीलाई आफ्नो क्षमता बुझ्ने र त्यसको विकास गर्ने अवसर कहिल्यै दिइएन। इतिहासका यस्तैयस्तै भुलहरूले हामीलाई ठग्यो। हामीलाई ठगेर नै ठगहरू राज्यका महत्त्वपूर्ण स्थानमा पुगे। विशेष ठगी बाहेकका ठगीहरू हामी चिन्न नसक्ने नै भयौं।

मानव श्रमसीप भन्दा पैसा माथि हुने प्रणाली पनि नक्कली शरणार्थी प्रकरणको दोषी हो। पैसाप्रधान प्रणालीले मान्छेहरू जसरी पनि पैसा थुपार्ने ध्याउन्नमा लागे। पैसाले सबथोक किन्न पाइने भएपछि मान्छेहरू आमालाई ठगेर, देशलाई लुटेर भए पनि पैसा कमाउन थाले। नेताहरूको चुनावी हारजित पनि पैसाकै शक्तिमा निर्भर हुनथाल्यो।

वडा अध्यक्ष जित्न करोडभन्दा बढी पैसा आवश्यक पर्न थाल्यो। देशमा आम्दानीले मात्रै त्यत्रो पैसा थुपार्न मुस्किल छ। अनि त चुनाव जितेर नेता हुने र नेता हुन चाहनेहरू आफ्नो जिम्मेवारी भुलेर ठगीमा लाग्ने सम्भावना भयो। त्यस्तै नेताहरूका भ्रष्टाचार र घुसखोरीका थुप्रै प्रकरणबाट अहिले नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै सतहमा आएको हो।

टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, आङटावा शेर्पा, टेकनारायण पाण्डे, इन्द्रजित राई सँगसँगै देशलाई सदाबहार गरिबी दिने अनि जनतालाई अन्धविश्वासमा डुबाएर राख्ने आजसम्मका सबै राज्य व्यवस्था र राज्य संचालकहरू नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी हुन्।

पैसा र पूँजी सर्वेसर्वा हुने प्रणालीलाई आत्मसात् गरेर हैकम चलाइरहेका मान्छेहरू पनि नक्कली शरणार्थी प्रकरणमा दोषी छन्। दोषीहरूलाई कठघरामा उभ्याएर इतिहासको पुनर्निर्माण गरिए मात्रै हाम्रा लागि ठगिने स्थितिबाट मुक्त लुटविहीन संसार सम्भव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?