+
+
गफ स्टेसनमा फुटबलर अनिल गुरुङ :

‘नयाँ पुस्ताका खेलाडीले फुटबलमा भविष्य नै देख्‍न छाडे’

‘अहिलेको समयमा हाम्रो पालामा भन्दा १० गुणा बढी फुटबल अगाडि जानुपर्ने हो, तर त्यसबेला भन्दा खस्किएको पो पाउँछु म त,’ फुटबलको स्तरलाई लिएर अनिल भन्छन्, ‘अहिले नयाँ भाइहरु (युवापुस्ताका खेलाडी) फुटबलमा भविष्य नै छैन भनेर विदेशिरहेको देखिन्छ ।’

खेम रिसाल खेम रिसाल
२०८० जेठ ७ गते १६:५४

काठमाडौं । स्याङ्जामै भएको भए अनिल गुरुङ फुटबल खेलाडी बन्थे बन्दैथे, भन्न सकिन्नथ्यो । किनकि उनको गाउँमा फुटबल मैदानको अभाव थियो । फुटबलमा रुचि भए पनि खेल्ने ठाउँ नहुँदा उनी भलिबलतिर मोडिए । भलिबल राम्रै खेल्थे पनि ।

उनको परिवार स्याङ्जाबाट पोखरा झरेपछि भने अनिलको फुटबल सपनाले सार्थकता पाउने संकेत देखायो । किनकि पोखरामा टोलैपिच्छे, स्कुलैपिच्छे फुटबल मैदान थिए ।

अनलाइनखबरको गफ स्टेसनमा गफिने क्रममा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान अनिल गुरुङले आफ्नो बालसपना सुनाए, ‘स्याङ्जामा जन्मिएँ, त्यहाँ फुटबल ग्राउन्ड नै थिएन । भलिबल खेल्न थालें, त्यो पनि राम्रै खेल्थें । पछि पोखरा आइयो, त्यहाँ स्कुलैपिच्छे, टोलैपिच्छे फुटबल मैदान थिए । अनि फुटबलमा रुचि बस्यो । जहाँ ग्राउण्ड छ, त्यस ठाउँमा चाहिं फुटबलको विकास हुने रहेछ ।’

अहिलेको परिस्थिति पनि खास फरक नभएको उनको अनुभव छ । ‘अहिले पनि बढ्दो सहरीकरणले मैदानकै अभाव छ । बच्चाहरुलाई खेल्न पठाऊँ भन्दा पनि खेल्ने ठाउँ नै छैन,’ अनिल भन्छन्, ‘रंगशाला पनि दशरथ रंगशालाबाहेक अरु बन्नै सकेनन् ।’

अन्य कारण त छँदैछन्, तर नेपाली फुटबलमा सोचेजति विकास नहुनुमा रंगशालाको अभाव एउटा जबर्जस्त कारण रहेको उनको बुझाइ छ । ‘खेल क्षेत्रमा हुने राजनीतिदेखि सरकारको उदासीनतासम्म कारण होलान्, तर फुटबल ग्राउण्डको विकास नहुनु भनेको चाहिं लाजमर्दो कुरा हो,’ उनी भन्छन् ।

सन् २००७ देखि २०१७ सम्म नेपाली राष्ट्रिय फुटबल टिममा खेले अनिलले । त्यसबीचमा सन् २०१५ देखि दुई वर्ष उनले टिमको कप्तानी पनि गरे । अनिललाई के लाग्छ, त्यतिबेला र अहिलेको नेपाली फुटबलको स्तरबारे ?

‘अहिलेको समयमा हाम्रो पालामा भन्दा १० गुणा बढी फुटबल अगाडि जानुपर्ने हो, तर त्यसबेला भन्दा खस्किएको पो पाउँछु म त,’ फुटबलको स्तरलाई लिएर उनी भन्छन्, ‘अहिले नयाँ भाइहरु (युवापुस्ताका खेलाडी) फुटबलमा भविष्य नै छैन भनेर विदेशिरहेको देखिन्छ । हाम्रो पालामा पनि थियो, खेल जीवन सकाएपछि ३०-३५ वर्षको उमेरपछि । तर अहिले १८-२० वर्षको उमेरमा भर्खर सुरु भएको हुन्छ, उनीहरु विदेशिरहेका छन् । यसले फुटबलको स्तर नबढेको देखाउँदैन र ?’

फुटबल खेलाडीको उमेरबारे पनि उनले केही कुरा गरे । विकसित देशका खेलाडीको भन्दा चाँडै नै नेपाली खेलाडीको खेल्ने क्षमतामा ह्रास आउँछ । ‘यसमा खानपानदेखि लगानीका कुरा समेत आउँछन्, त्यो सुविधा हामीले पाएका हुँदैनौं,’ उनी सुनाउँछन् ।

उनी आफूले चाहिं सही उमेरमै अवकाश रोजेको बताउँछन् । सन् २०१७ मा राष्ट्रिय टिमबाट सन्यास लिएका उनले यो वर्षदेखि लिग पनि खेलेका छैनन् । ‘क्लब फुटबल यो वर्षदेखि खेलेको छैन । ३५ वर्षसम्म फुटबल खेल्छु, त्यसपछि रिटायर्ड हुन्छु भन्ने पहिले नै सोच बनाएको थिएँ,’ अनिल भन्छन्, ‘एउटा निश्चित समयमा छाड्नैपर्छ नयाँ खेलाडीलाई स्थान पनि दिनुपर्‍यो । अर्को विकसित देशका खेलाडीको जस्तो अलि उमेरसम्म खेल्न सक्ने हाम्रो क्षमता हुँदैन ।’

भारतीय आर्मीका छोरा अनिललाई सुरुमा बुबाले फुटबलमा लाग्दा रुचाएका रहेनछन् । छोरो पनि लाहुरे बन्नुपर्छ भन्ने उनको सोच थियो । तर जसै स्याङजाबाट उनको परिवार पोखरा बसाइँ सर्‍यो । त्यसपछि हो अनिलको फुटबल सपनाले मूर्त रुप पाउन थालेको । पोखराको सहारा एकेडेमीममा १३ वर्षकै उमेरदेखि फुटबल खेल्न थालेका अनिलले काठमाडौं आएर पहिलोपटक ब्रिगेड ब्वाइज क्लबमा खेले । पहिलोपटक दशरथ रंगशालामा खेल्दा उनलाई अर्कै संसारमा पुगे झैं भएको रहेछ । सुरुमा उनी नर्भस नै भए ।

त्यसयता राष्ट्रिय टिमका अलावा मनाङ मस्र्याङ्दी, थ्रीस्टार, एनआरटी, भारतको सिलोङ लाजोङलगायत फेरि ब्रिगेड ब्वाइजमै फर्किएर उनले फुटबल खेलको यात्रामा बिराम लगाए । सिलोङ लाजोङमा त उनी त्यसबेला महंगो रकम (६३ लाख रुपैयाँ)मा अनुबन्धित भएका थिए ।

फुटबल खेलाडीको लागि सबैभन्दा यादगार क्षण के होला ? ‘गोल गर्दाको आनन्द नै हो । सन् २०१३ मा साफ गेममा भारतविरुद्ध गरेको गोल मेरो करिअरकै सुन्दर लाग्छ,’ अनिल सुनाउँछन्, ‘स्पेनी क्लब रियल मड्रिडको ग्राउन्डमा  गएर फुटबल हेर्न पाएको क्षण अर्को अविस्मरणीय क्षण हो मेरा लागि ।’

लामो समय फुटबल खेलेको एक खेलाडी त्यत्तिकै बस्दा चाहिं कस्तो हुँदोरहेछ ? ‘नखेली बस्दा एक किसिमको सकसक जस्तो त भइहाल्छ । तर खेलाडीको सर्टेन टाइम हुने भएकाले यसलाई स्वीकानुको विकल्प छैन,’ गफ स्टेसनमा गफिंदै अनिल भन्छिन्, ‘लिग हेर्न गइरहेको हुन्छु, नयाँ नयाँ खेलाडीहरु खेलिरहँदा यसरी खेलेको भए हुन्थ्यो भन्ने लागिरहन्छ ।’

फुटबलप्रति दर्शकहरुको लगाव यति साह्रो हुन्छ कि राम्रो खेल्दा तालीको वर्षा पाउने खेलाडी राम्रो खेल्न नसक्दा गाली पाउन पनि तयार हुनुपर्छ । अनिलले पनि आफ्नो खेल जीवनमा यस्ता धेरै अनुभव भोगेकै छन् । ‘खेल्दा ताली पनि पाइन्छ अनि गाली पनि, गाली पाउँदा पनि सहर्ष स्वीकार्नुपर्छ । आखिर उहाँहरुले माया नै दर्शाउनुभएको हो नि,’ उनी भन्छन् ।

अनिलले गफ स्टेसनमा खेल क्षेत्र त्यसमा पनि फुटबलका संघसंस्थामा हुने अनावश्यक राजनीतिदेखि यसलाई सफा गर्न गर्नुपर्ने प्रयाससम्मका कुरा गरे । ‘एन्फालगायत संघसंस्थामा फुटबल बुझेका भन्दा नबुझेकै व्यक्तिको हालीमुहाली भएको लाग्छ । त्यहाँ राजनीतिक दलनिकट होइन, फुटबलनिकट व्यक्ति आए राम्रो हुन्थ्यो,’ अनिल भन्छन्, ‘अहिले १८-१९ वर्षमा भर्खर राष्ट्रिय टिममा प्रवेश गरेका खेलाडीले नै फुटबलमा भविष्य देखेका छैनन् । उनीहरु विदेशिरहेका छन् । यसमा राज्यको भूमिका होला नि । राजनीति धेरै भयो खेलकुद क्षेत्रमा ।’ अनिललाई आफैं खेलकुद क्षेत्रको नेतृत्वदायी पदमा पुगेर यहाँभित्रका विकृति, विसंगति हटाउने इच्छा छ ।

उनले नेपालका फुटबल क्लबहरु अझै व्यावसायिक बन्न नसकेको समेत औंल्याए । ‘क्लबको आफ्नै ट्रेनिङ ग्राउण्ड हुनुपर्ने, होस्टेल हुनुपर्ने, अफिस हुनुपर्ने कसैसँग पनि छैन । नेपालमा खासमा राम्रो फुटबल ग्राउण्ड नै भएन । लिगलाई काठमाडौंबाहिर पनि लैजानुपर्‍यो, सबै यहीं थुप्रिए,’ अनिल भन्छन् ।

फुटबलबाट सन्यास लिएपछि हिजोआज अनिल साना बच्चाहरुलाई फुटबल सिकाउने जिम्मेवारीमा छन् । स्वस्तिश्री गुरुकुल स्कुलको स्पोर्ट्स एम्बेस्डर छन् उनी । स्कुलकै एकेडेमीमा १५० जना बच्चालाई फुटबलको तालिम दिने गर्छन् । ‘टिम बनाएर एकेडेमी चलाइरहेका छौं, राम्रो भइरहेको छ । स्कुलको नाम भए पनि सबैका लागि हो यो । हामी वर्षमा एक पटक युरोप टुरमा पनि लैजान्छौं बच्चाहरुलाई ।’ केही समयअघि मात्रै उनको एकेडेमीले बच्चाहरुलाई नेदरल्याण्ड्स र स्पेन घुमाएर ल्याएको छ ।

गफ स्टेसनको बिट मार्ने बेला अनिललाई सोधियो, तपाईंको आइडल चाहिं को हो नि ?

‘बेलायती खेलाडी डेभिड बेक्याम ।’ बिना अलमल उनले भने ।

फुटबलर अनिल गुरुङसँगको विस्तृत कुराकानी भिडियोमा हेर्न सकिन्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?