 
																			९ जेठ, चितवन। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० वर्षमा सबैभन्दा धेरै पर्यटक चालु आर्थिक वर्षमा आएका छन्।
भूकम्प, नाकावन्दी, कोरोना भाइरसको महामारी पछि पहिलोपटक निकुञ्जमा ठूलो संख्यामा पर्यटकहरु आएको निकुञ्ज कार्यालयले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षको २ महिना (जेठ र असार) बाँकी छदै निकुञ्जमा बैशाखसम्म २ लाख ६३ हजार पर्यटकहरूले निकुञ्ज भ्रमण गरेका छन्।
निकुञ्जमा पछिल्लो १० वर्षमा यति ठूलो संख्यामा पर्यटक घुम्न आएका पहिलो पटक हो।चालु वर्षमा १ लाख ८७ हजार २ सय १७ नेपाली, सार्क देशका २७ हजार ८ सय ७४ र तेस्रो मुलुकका ४८ हजार ७ सय १५ पर्यटकले निकुञ्ज घुमेका छन्।
नेपालीहरु सबैभन्दा धेरै कार्तिक महिनामा २९ हजार ६ सय १५ जना, सार्क देशका बैशाख महिनामा ५ हजार ७९ जना र तेस्रो देशका कार्तिक महिना मै ८ हजार ८ सय ८२ जनाले निकुञ्ज भ्रमण गरेका छन्।
यसअघि गत आर्थिक वर्ष सबैभन्दा धेरै १ लाख ९० हजार पर्यटकले निकुञ्ज घुमेका थिए। पछिल्लो १० वर्षमा सबैभन्दा कम आ.व. २०७२/०७३ मा ८७ हजार ३ सय ९१ र कोरोना भाइरसको महामारी फैलिएको आ.व.२०७७/०७८ मा ९८ हजार २ सय २८ पर्यटकले निकुञ्ज घुमेका थिए।
पछिल्लो वर्षहरुमा विदेशी भन्दा स्वदेशी पर्यटकहरुले निकुञ्ज घुमेको कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।कोभिड पछि विदेशीको संख्या पनि क्रमशः बढ्दै गएको छ।
निकुञ्जमा पर्यटक बढेसँगै राजश्व संकलन पनि बढ्न थालेको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २४ करोड ४९ लाख ४६ हजार ८६० रूपैयाँ राजश्व संकलन गरेको छ।
बाँकी २ महिनामा संकलन हुने राजश्व संकलनको दर बझै बढ्ने देखिन्छ। निकुञ्जका अनुसार सबैभन्दा धेरै पर्यापर्यटनबाट १९ करोड ३९ लाख ३२ हजार २ सय ५० रुपैयाँ र गैरकाठ तथा वनपैदावार विक्रीबाट ४ करोड ७९ लाख ७१ हजार २ सय ६९ रुपैयाँ राजश्व संकलन भएको छ।
गत वर्ष ११ करोड ४९ लाख ९७ हजार ४१३ रूपैयाँ राजश्व संकलन भएको थियो।पछिल्ला दस वर्षमा संकलन भएको राजश्वलाई हेर्दा सबैभन्दा बढी आर्थिक वर्ष २०७५/०७६ मा २९ करोड ४४ लाख ६६ हजार ६३९ रूपैयाँ संकलन भएको थियो।
संकलित राजश्वको ५० प्रतिशत रकम निकुञ्जले मध्यवर्ती क्षेत्रमा उपलब्ध गराउँदै आएको छ।बन्यजन्तुले मानव तथा मानववस्ती र खेतीवालीमा पुर्याएको क्षतिको क्षतिपूर्ती रकमसमेत दिँदै आएको छ।
निकुञ्जले चालु वर्षमा बाँड्यो १ करोड ८५ लाख क्षतिपूर्ति
निकुञ्जले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका तथा पशुधन र अन्नवालीमा क्षति गरेकाहरुलाई बर्षेनी राहात बाँड्दै आएको छ।
चालु आर्थिक वर्षको वैशाखसम्म निकुञ्जले १ करोड ८५ लाख ४५ हजार ३ सय ८५ रकम क्षतिपूर्ति बाँडेको छ।वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई चालु वर्षमा १ करोड रकम क्षतिपूर्ति बाँडिएको छ भने, घाइतेहरुलाई २८ लाख ६९ हजार ९ सय ९९ रकम प्रदान गरिएको छ।
सामान्य घाइतेलाई ३ लाख ३० हजार, पशुधन क्षतिपूर्तिमा २२ लाख ९८ हजार, अन्नवालीमा २७ लाख ६० हजार ७ सय रकम वितरण गरिएको छ।जंगली जनावरको आक्रमणबाट १० जनाको मृत्यु भएको थियो भने, २३ जना सख्त घाइते भएका थिए।
गत आर्थिक वर्षमा १ करोड ५० लाख रकम क्षतिपूर्ती स्वरुप बाँडेको कार्यालयले जनाएको छ ।
निकुञ्जले दिएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १०४ वटा विभिन्न वन्यजन्तुको मृत्यु भएको छ।वैशाखसम्म १९ वटा गैंडासहितका २ बाघ, ३ अर्ना, २ हात्ती, ८ घडियालको मृत्यु भएको छ।
चालु आर्थिक वर्षको वैशाख ७ जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ।हात्तीको आक्रमणबाट ३, गैंडाको आक्रमणबाट ३ र बाघको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4