+
+

तालिबानले खुट्टा लग्यो, आत्मविश्वासले कीर्तिमान दियो

रामकुमार डिसी रामकुमार डिसी
२०८० जेठ ९ गते २१:४६

९ जेठ, काठमाडौं । आफ्ना नाममा तीनवटा कीर्तिमान बनाएर बनाएर फर्किएका रोल्पाका हरिबहादुर बुढामगर मंगलबार बिहान त्रिभुवन विमानस्थलमा प्रफुल्लित देखिन्थे ।

मगर समुदायको साँस्कृतिक भेषभूषा र बाजागाजासहित पुगेका आफन्तजन र शुभेच्छुकले उनलाई स्वागत गरे । बिमानस्थलमै पुगेर उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरे । दिउँसो सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिए ।

पूर्व बेलायती सैनिक बुृढामगरले ५ जेठमा सगरमाथा आरोहण गर्दा उनको नाममा तीनवटा कीर्तिमान बनेका थिए । सन् २०१० मा अफगानिस्तानमा तालिवानी विद्रोहीसँगको लडाइँमा दुवै खुट्टाको घुँडामुनिको भाग गुमाएका उनले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आधार शिविर पुग्ने, सगरमाथामाथि स्काइ डाइभ गर्ने र सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका हुन् ।

विमानस्थलबाट सिधै ठमेल पुगेका उनको त्यहाँ झन् भव्य स्वागत भयो । त्यहाँ केहीबेर आराम गरेपछि पत्रकारहरुसँग कुरा गरेका हरिबहादुर त्यसपछि प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका थिए ।

सगरमाथामा पाइला टेकेर आएका हरि आफूलाई सकुशल त्यहाँ पुर्‍याएर फर्काउने टिमसँग निकै कृतज्ञ देखिए । ‘उहाँहरुको यति साहस छ कि यदि मैले दिन मिल्ने भए मेडल नै दिने थिएँ’ उनले भने । उनको सहायता गर्ने टिममा २६ जना सदस्य थिए ।

सगरमाथाको सफल आराहण गरेको खबर फैलनासाथ हरिलाई बधाइ र शुभकामना थाप्न भ्याइ, नभ्याइ छ । ‘मेरो इनबक्समा आएको ७ प्रतिशत म्यासेज पनि पढ्न पाएको छैन’, उनले सुनाए, ‘धेरैले म्यासेज पठाउनुभएको छ, उहाँहरुले हौसला दिनुभएको छ ।’

आफ्नो कीर्तिमानबाट आपाङ्गता भएका व्यक्तिहरुले हौसला पाएको उनी बताउँछन् । आफ्नो इन्बक्समा आएको म्यासेज सुनाउँदै हरिले भने, ‘कोही–कोही भन्नुहुन्छ, म त सुसाइड गर्न लागेको थिएँ, तपाईंका कारण रोकिए । मेरो जीवन बचाइदिनुभयो ।’

सन् १९७९ मा रोल्पाको मिरूल गाउँमा जन्मिएका उनको गाउँबाट सिस्ने, धौलागिरी लगायतका हिमाल देखिन्थे । विश्वको अग्लो शिखर सगरमाथा, त्यसलाई पहिलोपटक चुम्ने तेन्जिङ नोर्गे र एडमन्ड हिलारीबारे उनले सानैमा विद्यालयमा पढेका थिए । त्यसले उनलाई हिमालप्रति उत्सुकता जगाएकै थियो ।

बेलायती सेनामा गएपछि उनमा सगरमाथा चढ्ने रहर जन बढेर गयो । त्यसका लागि सोधीखोजी पनि गरे । तर, त्यसका लागि चाहिने बजेट र समयले उनलाई हच्कायो । ‘सगरमाथा चढ्न कम्तीमा दुई महिना लाग्छ,’ उनले सुनाए, ‘त्यसका लागि बजेट र तालिम लगायतका धेरै कुरा चाहिने । त्यसैले त्यतिखेर सम्भव भएन ।’

तर, सन् २०१० पछि उनको जीवनले अर्कै मोड लियो । अफगानिस्तानमा विद्रोही समूह तालिबानसँगको भिडन्तमा हरिबहादुरले दुवै खुट्टा गुमाए । ‘धर्तीको बोझ नै भएछु, जिन्दगी सकियो भन्ने लाग्यो’ उनले विगत सम्झिए ।

पीडा भुलाउन उनले रक्सीको सहारा लिन थाले । ‘आफ्नो पीडा र इमोसन नै रक्सीले कभर गर्न खोजेँ,’ आफ्नो विगत कोट्याउँदै हरिले भने, ‘म एकदमै एडिक्ट भइसकेको थिएँ । मेरो हात काम्न थालेका थिए । मरिन्छ जस्तो लाग्यो ।’

आफूमाथि आइपरेको पीडा मेटाउन उनले आत्महत्याको योजना पनि बनाएको उनी बताउँछन् । तर तीन सन्तान र श्रीमती सम्झिएर रोकिएको उनले सुनाए । ‘यसो सोचेँ– छोराछोरी र बुढीमाथि आत्महत्या गर्नेको सन्तान र श्रीमतीको आरोप लाग्ला,’ उनले भने, ‘अनि म बाँच्छु भन्ने प्रण गरेँ ।’

दुई वर्षपछि उनले आफूलाई निराशा र अन्धकारबाट निकाल्ने प्रयत्न गरे । आफ्नो गुमेको आत्मविश्वास फर्काउन प्रयत्न गरे । ‘स्पोर्टस र एडभेन्चर सुरु गरेँ,’ विगत सुनाउँदै उनले भने, ‘त्यसले मेरो आत्म विश्वास ब्याक भयो ।’

उनले अगाडि थपे, ‘आफ्नो जिन्दगीलाई समय र अवस्था अनुसार ढाल्न कोशिस गरेँ ।’

त्यसपछि उनले आफूलाई उभ्याउने कृत्रिम खुट्टा खोजे । निकै मेहनतपछि आफूलाई फिट हुने डिजाइनमा कृत्रिम खुट्टा पनि पाए ।

अनि लागे ‘मिसन सरगरमाथा’तर्फ ।

आफूलाई सगरमाथा पुर्‍याउन योग्य बनाउन स–सना हिमाल चढ्न सुरु गरे । उनी बेलायतको सबैभन्दा अग्लो हिमाल बेन नेभिस चढे । पश्चिम युरोपकै अग्लो हिमाल ब्लाङ्क चढे । अफ्रिकाको अग्लो हिमाल किलिमन्जरो पनि चढे । अनि नेपालको मेरा पिक दुईपटक चढे ।

‘त्यसपछि विस्तारै–विस्तारै मैले सगरमाथा चढ्ने आत्मविश्वास प्राप्त गरेँ,’ उनले सुनाए ।

हरिले सन् २०१८ देखि सगरमाथा चढ्ने अभियान थाले । तर, उनलाई कानूनी प्रबन्धले छेक्यो । पर्वतारोहण सम्बन्धी नियमावली,२०५९ मा भएको ‘दुवै हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्ने’ व्यवस्थाले उनलाई रोक्यो ।

त्यसविरुद्ध उनले सर्वोच्च अदालतमा मुद्दा हाले । सर्वोच्च अदाललते ‘अपाङ्गता भएको कारणले कानुनको प्रयोगमा विभेद गर्न नपाइने’ संविधानको व्यवस्था सम्झाउँदै हरिलाई सगरमाथाको बाटो खुला गरिदियो ।

तर, त्यसपछि उनलाई कोरोना महामारीले छेक्यो । पैसाको जोहो पनि गर्न सकेनन् । पाँच वर्षको प्रयत्नपछि भने सगरमाथा पुग्ने बाटो उनका लागि खुल्यो ।

यसवर्ष सगरमाथा आधार शिविरमा १८ दिनको बसाइपछि मौसम पनि खुलेपछि हरिले आफ्नो आरोहण सुरु गरे ।

सगरमाथा चढाइ पक्कै सजिलो काम थिएन । आरोहणअघि त्यस सम्बन्धी पढेका पुस्तक, हेरेका फिल्म र डकुमेन्ट्रीले उनमा भय बढाएकै थियो । त्यसमाथि आरोहणका क्रममा भएका केही मृत्यु र अक्सिजन सकिँदा आफूले व्यहोरको अप्ठ्यारोले झन् झस्कायो ।

‘मलाई धेरै पटक गिभअप गर्न पनि मन लाग्यो’, त्यो क्षण सम्झदै उनले भने, ‘तर, चुचुरोमा पग्नै लाग्दा हार्न हुन्न भन्ने पनि सोचेँ।’

तर, उनले सगरमाथाको चुचुरो पुगेरै छाडे । अनि खुसीले चिच्याउँदै भने, ‘हामी सफल भयौं । उद्देश्य पूरा भयो ।’ उनले खुसीको आँसु झारे ।

‘मैले त्यहाँ ३६० डिग्री नै फन्को लगाउनेँ, हिमाल मज्जाले हेर्ने र फोटो खिच्नेँ सपना देखेको थिएँ,’ उनले सुनाए । यद्यपि अत्यधिक चिसोका कारण मोबाइलको चार्ज सकियो र गोप्रो क्यामेरा बिग्रिदा त्यो पूरा भएन ।

क्यामेरामा कैद नगरे पनि चुचुरोमा करिब ७ मिनेट रोकिएर अनुभव भने लिए ।

फेरि हिमाल चढ्ने या नचढ्ने उनले केही निधो गरेका छैनन् । तर, अपाङ्गता भएकाहरुका लागि सचेतना बढाउने र उनीहरुको आत्मविश्वास बन्ने उनको अबको लक्ष्य छ ।

‘मेरो अबको उदेश्य भनेको म नमर्दासम्म अपाङ्गता भएकाहरुको सचेतनामा काम गर्ने छु’, हरि दृढ सुनिए ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?