+
+

संसदमा प्रेम सुवाल र सुमना श्रेष्ठले पढाए प्रजातन्त्र र लोकतन्त्रको पाठ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १७:३१

१० जेठ, काठमाडौं। बुधबार नयाँ वानेश्वरस्थित संसद भवनमा संघीय संसद (राष्ट्रिय सभा र प्रतिनिधिसभा)को संयुक्त बैठक बसेको थियो ।

‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८०’ को प्रतिवेदन माथि छलफल गर्न बसेको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले लोकतन्त्र के हो र नेपालका कस्तो अभ्यास भइरहेको छ भनी ब्याख्या गरे ।

संसद र संसदीय गतिविधि विधि र प्रक्रिया अनुसार कार्यालय समयभित्र हुनु उपयुक्त हुनुपर्ने सांसद सुवाल बताउँछन्। अन्यथा त्यो प्रजातन्त्र हुन नसक्ने उनको भनाइ छ ।

‘प्रजातन्त्र राती राती साँझ साँझ मात्रै चल्ने होइन। १५ मिनेट अगाडि प्रतिवेदन पेश भयो। १५ मिनेट पछाडि सैद्धान्तिक छलफल फेरि साँझ साँझ !’ उनले थपे, ‘अब रात हुन्छ पास गर्ने होला !’

बुधबार प्रतिनिधिसभाको नीति तथा कार्यक्रममाथिको छलफल रोकेर संयुक्त बैठक राखिएको थियो । पहिलो संयुक्त बैठकमा नियमावलीको प्रतिवेदन पेश भयो । प्रतिवेदनउपर सैद्धान्तिक छलफलका लागि दोस्रो बैठक राखिएको थियो। संयुक्त बैठकको दोस्रो बैठकमा सांसद सुवालले एकै दिन फरक फरक बैठक पटक–पटक राखेकोा भन्दै यस्तो तरिकलाई प्रजातन्त्र भन्न नसकिने भनी ब्याख्या गरेका हुन् ।

गाउँ गाउँमा सिंहदरवार पुग्यो भनिएको उल्लेख गर्दै उनले सिंहदरवारसँगै प्रजातन्त्र पनि गाउँ गाउँमा पुगेको बताए । गाउँ गाउँमा पुगेको प्रजातन्त्र अनुरुप सबैले संसदका गतिविधि हेर्न पाउनुपर्ने उनको माग छ।

संसदमा आएका नयाँ सांसदहरुले समेत संसद र संसदीय गतिविधि सही रुपमा सिक्न पाउनुपर्ने सांसद सुवाल बताउँछन् । भन्छन्, ‘नेपाली जनता नयाँ पुस्ता पनि भोलि संसद सदस्य भएर आउने होला। उहाँहरुले पनि त हेर्न पाउनुपर्यो कसरी संयुक्त समितिमा प्रतिवेदन पेश भयो ? संसद कसरी चल्छ ? यो त सबै नेपाली जनताले हेर्न पाउनुपर्ने हो।’

संयुक्त समितिमा रहने सदस्यहरुमा ठूला दलले भागवण्डा गरेको भनी उनले त्यसमा पनि असन्तुष्टि जनाए । हाल संघीय संसदमा १३ दलको प्रतिनिधित्व छ । संयुक्त समितिमा ठूला दलले सदस्य संख्या भागवण्डामा तय गर्ने गरेको दोहोर्‍याउँदै सांसद सुवालले भने ‘भीडलाई प्रजातन्त्र भनिँदैन्।

‘बिचारलाई प्रजातन्त्र भनिने उल्लेख गर्दै उनले थपे, ‘एउटै रङको फुल प्रजातन्त्र होइन । अलग अलग फुल चाहिन्छ प्रजातन्त्रमा । त्यसकारण सबै पार्टीहरु संयुक्त समितिमा हुनुपर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले पनि ‘लोकतन्त्र अन्तिम लक्ष्य नभएर एउटा यात्रा मात्रै’ भएको बताइन् । सक्रिय नागरिक र नागरिकहरुको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको सक्रियता नै लोकतन्त्र भएको उनको ब्याख्या छ ।

छोटो समय दिएर संयुक्त नियमावली बनाउने कार्यको समेत विरोध गर्दै सांसद श्रेष्ठले लोकतन्त्र भनेको के हो भनी संसदमा त्यसबारे आफ्नो ब्याख्या प्रस्तुत गरेकी हुन् । उनले भनेकी छन्, ‘अध्ययनका लागि समय पनि नदिएर यसमा के नै परिवर्तन हुन सक्छ भन्ने सोचले अगाडि बढेको ?’

पहिलो चोटी संसदमा आएका सांसदहरु र फरक मत राख्ने सांसदहरुको लागि पटक्कै समय नदिनका लागि छोटो समय राखेर नियमावली बनाउन खोजिएको रास्वपाकी सांसद श्रेष्ठको गूनासो छ । ‘पेलेर लगौं भन्ने त्यो तरिका हाम्रो अभ्यासमा परिस्कृत गर्दै लानुपर्ने पनि म देख्छु’ उनले भनेकी छन् ।

संसदमा बोल्ने हरेकले संवैधानिक निकाय र नियुक्तिहरुमा भागवण्डा हुने गरेको बताएको उल्लेख गर्दै उनले त्यस भावना अनुसार संसदीय सुनुवाई समितिमा दलको सांसदको संख्याको आधारमा नभइ दलीय उपस्थितिका आधारमा सदस्य तय गरिनु उपयुक्त हुने बताइन् ।

१५ सदस्यीय संसदीय सुनुवाई समितिमा कांग्रेस र एमालेका ५/५ जना र बाँकी सदस्यहरुमा अन्य दलका सदस्य रहने गरी भागवण्डा मिलेको छ । त्यसप्रति सांसद श्रेष्ठले असन्तुष्टि जनाएकी हुन् ।

सांसदद्धय सुवाल र श्रेष्ठका प्रश्नको जवाफ दिँदै नियमावली मस्यौदा समिति सभापति समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुव बहादुर प्रधानले समय कम दिएर झुक्याउने वा प्रजातान्त्रिक अभ्यासलाई समय नदिने मनसाय पटक्कै नराखिएको बताए । सात दिनको समय पाएकोमा दुई वटा बैठक बसेर संयुक्त बैठक संचालन सम्बन्धी नियमावलीको प्रतिवेदन तयार गरी सभामा पेश गरिएको जानकारी गराए ।

बुधबार बसेको संयुक्त बैठकले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८०’ को प्रतिवेदन माथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अब सांसदहरुले प्रतिवेदन उपर ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?