 
																			१२ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन वर्तमान सरकारले अघि बढाएको प्रक्रियाको विरोध गरेको छ ।
चौधरीलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने जनमोर्चाको ठहर छ ।
टिकापुर काण्डमा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको सजायँ भोगिरहेका चौधरीलाई प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गणतन्त्र दिवसको दिन आममाफी दिने प्रक्रिया अघि बढाएको छ । त्यो प्रक्रियालाई रोक्न जनमोर्चाले माग गरेको छ ।
‘टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो । त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आमाफी दिइ कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदावाजी मात्र हो,’ जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
विगतमा सरकारले रवि लामिछानेको राहदानी प्रकरणमा राजनीतिक सौदावाजी गरेर मुद्दा नचल्ने निर्णय गर्दा सरकारलाई महँगो परेको स्मरण गराउँदै केसीले भनेका छन्, ‘त्यसैले रेशम चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाएको प्रक्रिया रोक्न सरकारसँग माग गर्दछौं ।’
थरूहट थारूवानले कैलालीको टिकापुरमा गरेको आन्दोलनले हिंसात्मक रूप लिँदा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो । त्यसको प्रमुख योजनाकारको रूपमा चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले करिब १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4