+
+

तरकारी फलाउँदै बूढानीलकण्ठका विद्यार्थी (तस्वीरहरु)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० जेठ १३ गते २०:१०

१३ जेठ, काठमाडौं । ८ कक्षामा पढ्ने भक्तपुरकी ग्रीष्माले बूढानीलकण्ठ स्कुल आएपछि कफी रोप्न र फलफूलका बिरुवा गोडमेल गर्न सिकिन् । ‘पहिले कहिल्यै नगरेको काम भएकाले रमाइलो लागिरहेको छ’ उनले भनिन् ।

कक्षा ८ कि प्राश्ना र अश्लेसाले पनि तरकारी रोप्न र वृक्षरोपण गरेर विरुवा हेरचाह गर्न यहीँ सिके । नेपालगञ्जका रोहनले अभिभावकले करेसाबारीमा काम गरेको त देखेका थिए, तर आफैंले भने गरेका थिएनन् । गत वर्ष बुढानीलकण्ठ स्कुलमा आएपछि भने उनले बारीमा काम गर्न र फलफूलको विरुवा चिन्ने मौका पाए । ‘साथीहरुसँग गफ गर्दै काम गर्न पाइन्छ । रमाइलो भइरहेको छ’ उनले भने ।

दिपेशले आफ्नो भागमा परेको दुई वटा सुन कागतीको विरुवा गोडेर साथीलाई सघाउँदै थिए । ‘कक्षामा भन्दा यहाँ काम गर्दा रमाइलो हुन्छ’, उनले भने । विद्यार्थीहरुले खेतबारीमा काम गरेको हेेरेर शिक्षक धु्रवकुमार अंक टिपिरहेका थिए । विद्यार्थीले सोधेका एक एक प्रश्नको जवाफ पनि दिँदै थिए उनी । ‘यिनीहरुले जति धेरै सोध्छन् त्यति रमाइलो लाग्छ’ ध्रुवकुमार भन्दै थिए ।

शिक्षक ध्रुवकुमार दिनभर फरक फरक कक्षाका विद्यार्थीहरुसँग बारीमा नै हुन्छन् । विद्यार्थीले खेतीपातीबारे विभिन्न प्रश्न सोधिरहन्छन्, उनी जिज्ञासा मेटाइरहन्छन् ।
बुढानीलकण्ठले सिक्दै-सिकाउँदै र रमाउँदै- कमाउँदै (लर्निङ एन्ड अर्निङ विथ फन) कार्यक्रम २०७८ वैशाखदेखि सुरु गरेको हो । विद्यालयले करिब १५० रोपनीमा ‘नलेज पार्क’ स्थापना गरी तरकारी र फलफुल खेती गरेको छ ।

भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, वातावरण विज्ञान, सूचना-प्रविधि, अर्थशास्त्र, सामाजिक शिक्षा लगायतमा जीवनपयोगी र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रम संयोजकसमेत रहेका ध्रुवकुमार श्रेष्ठ बताउँछन् ।

विद्यालयले बारीलाई नै सिक्ने सिकाउने कक्षाको रुपमा विकास गरेको छ । ५ देखि ९ कक्षासम्म पढ्ने विद्यार्थीले अनिवार्य रुपमा खेतबारीमा काम गर्नैपर्छ । विद्यार्थीले हेरेर विश्वास गर्ने र प्रयोग गरेर सिक्ने अवसर पाउने संयोजक श्रेष्ठको भनाइ छ ।

विद्यालयमा ५० भन्दा बढी जिल्लाका बालबालिका अध्ययनरत छन् । ‘कतिपय त कहिल्यै माटै नछोएका पनि छन् कतिपय किसान परिवारबाटै आएपनि परम्परागत शैलीबारे सामान्य ज्ञान भएको तर यहाँ फरक शैली देखिएपछि जिज्ञासु हुन्छन्’ ध्रुवकुमार भन्छन् ।

अहिले विद्यार्थीले कफी बगैंचा, अलैंची बगैंचा, नमुना करेसाबारी, जैविक विविधता बगैंचा, फलफूल बगैंचा, औषधीजन्य विरुवाहरु, बुढानीलकण्ठ स्कुल बीउ संग्रहालय आदि बनाएका छन् ।

बुढानीलकण्ठको कार्यक्रमबाट प्रभावित भएर तत्कालीन शिक्षा मन्त्री देवेन्द्र पौडेलले सिक्दै सिकाउँदै कार्यक्रम लागू गरेका संयोजक धु्रवकुमारले बताए । विद्यालयले प्राङ्गरिक मल बनाउने, त्यसको लागि गाईपालन गर्ने, गाईपालनको लागि घाँसखेती गरिरहेको छ ।

विद्यार्थीहरुले गरेको तरकारी खेतीबाट गत वर्षमा २० लाख रुपैयाँ आम्दानी भएको थियो । सिक्दै- सिकाउँदै र रमाउँदै- कमाउँदै कार्यक्रम नाफामा रहेको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत काशीराम शर्माले बताए ।

‘विद्यालयको उद्देश्य विद्यार्थीलाई किसान नै बनाउने होइन तर यदि भविष्यमा कुनै विद्यार्थी कृषि गर्छु भन्छ भने पनि यो पढाइ अत्यन्तै उपयोगी छ’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?