
१४ जेठ, काठमाडौं । भारतीय कुस्ती महासंघका निवर्तमान अध्यक्ष तथा बीजेपी सांसद बृजभूषण शरण सिंहले यौन शोषण गरेको भन्दै कारबाहीको माग राखेर धर्नामा बसेका कुस्ती खेलाडीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
बृजभूषणमाथि छानबिन गरेर कारबाहीको माग गर्दै ओलम्पिक मेडल विजेतासहितका खेलाडी राजधानी दिल्लीको जन्तरमन्तरमा धर्नामा बस्दै आएका थिए ।
लगातार धर्ना दिँदै आएका खेलाडीले दिल्लीमा महिला महापञ्चायत गर्ने तयारी गरेका थिए । जसका लागि विभिन्न राज्यबाट महिला खेलाडी दिल्ली पुगेका थिए ।
तर उनीहरुलाई पक्रेर प्रहरीले दिल्लीकै विभिन्न ठाउँमा थुनामा राखेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रहरीले धर्नास्थलमा टाँगेका त्रिपालसहित खेलाडीहरु बस्दै आएको ओछ्यानसमेत उठाएर लगेको छ ।
जन्तरमन्तरमा कुस्ती खेलाडीमाथि प्रहरीले दमन गरिरहँदा त्यहाँबाट डेढ किलोमिटरको दूरीमा प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्मित संसद भवनको उद्घाटन गरिरहेका थिए ।
खेलाडीहरुले आफूहरूको माग सम्वोधन गर्न प्रधानमन्त्री मोदीलाई पटक पटक आग्रह गरेका थिए । तर मोदीले मात्र नभइ बीजेपीका कुनै पनि सांसद तथा नेताले खेलाडीको मागप्रति कुनै चासो नै दिएका छैनन् ।
खेलाडीले लगाएको आरोपमाथि छानबिन भइरहेको दिल्ली प्रहरीले बताएको छ । तर बृजभूषणले भने सबै आरोपको खण्डन गरेका छन् ।
महिला कुस्ती खेलाडीमाथि प्रहरीले दमन गरेको भन्दै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले देशको मानसम्मान बढाउने खेलाडीमाथि भएको व्यवहार गलत र निन्दनीय भएको बताएका छन् ।
यस्तै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले देशका च्याम्पियनमाथि प्रहरीले गरेको व्यवहार लज्जास्पद भएको बताइन् । उनले पक्राउ परेका खेलाडीको रिहाइको माग गरेकी छिन् ।
– भारतीय सञ्चार माध्यमको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4