+
+

घरमै यसरी बनाउन सकिन्छ च्याउको स्वादिष्ट छोयला

सेफ राजेश महर्जन  सेफ राजेश महर्जन 
२०८० जेठ १४ गते १७:२३

च्याउ मन नपराउने सायदै होलान् । अझ शाकाहारीका लागि चाडपर्व होस् वा कुनै जमघट, मीठामीठा परिकार बन्ने विकल्प नै च्याउ बन्ने गरेको छ ।

च्याउ खानमा स्वादिष्ट त छँदैछ, शरीरका लागि आवश्यक पोटासियम, फाइबर, सेलिनियम, भिटामिन डी र प्रोटिनजस्ता पौष्टिक तत्व पाइने भएकाले स्वास्थ्यका लागि पनि अति लाभदायक हुन्छ ।

च्याउका परिकार पनि थुपै्र बनाउन सकिन्छ । च्याउ हालेर बनाइने सुप, तरकारी, पिज्जा त धेरैले खानुभएको होला । तर यसको छोयला भने धेरैको लागि नयाँ हुन सक्छ । छोयला भन्ने बित्तिकै हाँसको, भटमासको, सोयाबिनको, मासुको मात्र हुन्छ भन्ने लाग्न सक्छ । त्यति मात्र नभई च्याउको पनि छोयला निकै मीठो हुन्छ । आजभोलि रेस्टुरेन्ट तथा होटलहरुमा पनि अत्यधिक रुचाइने परिकारमध्ये यो पनि एक हो । यसको स्वादिष्ट परिकार घरमै एकैछिनमा सहज तरिकाले पकाउन सकिन्छ ।

रेसिपी

आवश्यक सामग्री

-६० ग्राम च्याउ (जुनसुकै प्रकारको) मसिनो गरी काटेको

-खुर्सानी तीनवटा (पोलेको)

-नुन स्वादअनुसार

-जिरा (सानो चम्चाको आधा चम्चा)

-बेसार (आधा चियाचम्चा)

-गोलभेंडा दुईवटा (पोलेको)

-ताजा धनियाँ (तीन चम्चा)

-हरियो लसुन (तीन चम्चा मसिनो गरी काटेको)

-टिमुर (भुटेको, स्वादअनुसार)

-प्याज (एउटा)

-कागतीको रस वा लप्सीको धुलो (२० ग्राम)

-खुर्सानीको धुलो (आधा चियाचम्चा)

-तोरीको तेल (तीन चम्चा)

-मेथी (आधा चियाचम्चा)

पकाउने विधि

च्याउलाई जालीमा राखेर पोल्नुपर्छ । घरमा बनाउँदा जाली उपलब्ध नहुन सक्छ । त्यसको विकल्पको रुपमा च्याउलाई फ्राइ गर्न सकिन्छ । सबैभन्दा पहिला ग्यासमा कराही वा प्यान राख्ने, तातेपछि च्याउ भुटिने गरी तेल हाल्ने, तेल तातेपछि तयार पारिएको च्याउलाई रातो हुने गरी फ्राइ गर्नुपर्छ ।

त्यसपछि एउटा भाँडामा निकालेर राख्ने, च्याउमा पोलेको गोलभेंडा, खुर्सानी, लसुन, नुन, टिमुर, प्याज हाल्ने, त्यसमा अमिलोको लागि कागतीको रस हाल्नुपर्छ । त्यसपछि तोरीको तेल एउटा भाँडामा तताएर त्यसमा मेथी, बेसार हालेर झान्ने र च्याउमा हाल्नुपर्छ । अनि राम्रोसँग मोलेर धनियाँ मसिनो गरी काटेर गार्निस गर्ने, यति गरेपछि स्वादिष्ट च्याउको छोयला तयार हुन्छ ।

(महर्जन भक्तपुरस्थित हटबउल रेस्टुरेन्टमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?