+
+

प्रधानमन्त्रीलाई सुझाव : ईपीजी प्रतिवेदन बुझौं, सीमा समस्या सुल्झाऔं

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १७:१३

१४ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १७ जेठदेखि हुने आफ्नो चार दिने भारत भ्रमणका क्रममा सीमा समस्या र ईपीजीको प्रतिवेदन सार्वजनिक गर्नेबारे छलफल गर्न सुझाव दिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा नेताहरुले नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन सार्वजनिक गर्ने वातावरण बनाउन र सीमा समस्याको स्थायी समाधान गर्न आग्रह गरेका हुन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र भारतबीचका सबै समस्यालाई एकमुष्ट समाधान गर्न ईपीजीको प्रतिवेदन सार्वजनिक हुनुपर्ने बताए ।

‘हाम्रा सीमा समस्या छन् । व्यापार पारवहनका समस्या छन् । खुला सिमानाका समस्या छन् । यी सबैलाई एकमुष्ट समाधान गर्नका निम्ति मेरो पालामा सुरु भएको र पछि केपी ओलीजीको पालामा गठन भएको इपीजी (प्रवुद्ध व्यक्ति समूह) को प्रतिवेदन ग्रहण गर्दा नै सबैभन्दा राम्रो हुन्छ । त्यो भयो भने एकमुष्ट रुपमा धेरै समस्या हल हुन्छन्’ भट्टराईले आफूले दिएको सुझावबारे पत्रकारहरुसँग भने ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेपालका ४ जना र भारतका ४ जना प्रवुद्ध व्यक्ति संलग्न रहेको प्रवुद्ध व्यक्ति समूह गठन गरिएको थियो । उक्त समूहले नेपाल र भारतमा पटक पटक बैठक गरेर दुई देशबीचको समस्या र समाधानका उपायसहितको प्रतिवेदन तयार पारेको छ । तर उक्त प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्ने र त्यसपछि मात्र नेपालका प्रधानमन्त्रीले बुझ्ने सहमति थियो । भारतीय प्रधानमन्त्रीले प्रतिवेदन बुझ्न हालसम्म समय नदिएका कारण सार्वजनिक भएको छैन ।

पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले ईपीजी प्रतिवेदन बुझ्ने कुरामा भारतसँग जोड दिएर छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

‘…प्रवुद्ध व्यक्ति समूहले सर्वसम्मत रिपोर्ट तयार गरेको पनि ४ वर्ष भन्दा बढी भएको छ । तर भारतका कारणले यो रिपोर्ट अहिलेसम्म बुझ्ने काम हुन सकेको छैन । कार्यान्वयन त टाढाको कुरा भयो । त्यसो भएर इपिजी प्रतिवेदन बुझ्नका लागि प्रधानमन्त्रीजीले विशेष जोड दिनुपर्छ’ उनले भने ।

नेता ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका भूभाग नेपालले प्रयोग गर्न पाउने गरी सीमाको विषय टुंग्याउन पनि सुझाव दिएका छन् । ‘यसका लागि दुई देशका सचिवहरुको संयन्त्रबाट टुंग्याउने भन्ने पूर्व समझदारी छ । त्यसलाई कार्यान्वयन गरिनुपर्छ’ उनले भने ।

काँग्रेस नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले विगतमा गरिएका समझदारीको कार्यान्वयन र व्यापार घाटा कम गर्ने विषयमा भारतसँग छलफल गर्न सुझाव दिएका छन् । ‘ऊर्जा, विद्युत, अरुण तेस्रोलगायतका कुराहरु छन् । यस विषयमा सिरियस होमवर्क गरेर जानुपर्छ भनेर सुझाव दियौ’ उनले भने, ‘विगतमा भएको समझदारी कार्यान्वयनमा जोड दिन, व्यापार घाटा कम गराउने विषयमा छलफल गर्न भनेका छौं ।’

राप्रपा नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपालको आत्मासम्मानमा चोट नपु¥याउने गरी भारतसँग छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।
पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले दुई मुलुकबीचको सीमा विवाद समाधान हुने गरी तथ्यहरुसहित भारतसँग छलफल गर्न आफूले सुझाव दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?