+
+
सगरमाथा दिवस :

कान्छा शेर्पाको सम्झनामा सगरमाथाको पहिलो आरोहण

कान्छासँगै शिखर छेउ पुग्नेमा दावा तेञ्जिङ शेर्पा र छोतरे शेर्पा थिए । उनीहरू चौथो शिविरभन्दा माथि ८ हजार ६९० मिटर (साउथ समिट)सम्म पुगेका थिए । साउथ समिटबाट शिखर नजिकै रहेकाले आरोहण गर्न सक्छु भन्ने आँट हुँदाहुँदै पोर्टर भएकाले रहर पूरा गर्न नपाएकोमा शेर्पालाई अहिले पनि थकथकी छ ।

विवश कुलुङ विवश कुलुङ
२०८० जेठ १५ गते १८:४२

आजभन्दा ७० वर्षअघि मे २९ को दिन पहिलो पटक सगरमाथाको चुचुरोमा मानव पाइला पुगेको थियो । पहिलो पटक सगरमाथाको शिखरमा पुग्ने नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका नागरिक एडमन्ड हिलारी हुन् । उनीहरूको सफल आरोहणमा ४०० जना सहयोगी थिए । उनीहरूले भक्तपुरबाट सगरमाथाको शिखरसम्म यात्रा तय गरेका थिए । आरोहणमा सफल हुने दुई जना र सहयोगी ४०० जनामध्ये अब एक जना मात्र जिउँदो साक्षी छन् । उनी हुन्, नाम्चेका कान्छा शेर्पा ।

कान्छा शेर्पा अहिले नाम्चेस्थित आफ्नै घरमा छन् । उनको दैनिकी बिहानै गुम्बाको दर्शनमा जाने र दिउँसो घरमै बित्ने गर्छ । पर्यटकीय बजारको रूपमा स्थापित हुनुअघि सोलुखुम्बुको नाम्चेमा केही हुँदैनथ्यो । आलु र फापर मात्र उत्पादन हुने त्यहाँका बासिन्दा खेती र पशुपालन गर्थे । चामलको भात खान ल्होसार पर्खनुपर्ने बताउने कान्छा शेर्पा व्यापारीको कागजको भारी बोकेर तिब्बतसँगको सीमा क्षेत्र पुग्दा पाँच रुपैयाँ पाउँथे र त्यसबाट पाँच पाथी नुन किनेर ल्याउँथे ।

तत्कालीन समयमा नाम्चेका स्थानीयहरू वर्षभर खान नपाएपछि कामको खोजीमा सोलुको तल्लो भेग झर्ने गर्थे । कोही अन्यत्र काम गर्न जाने गर्थे । अभावले गाँजेपछि कान्छा शेर्पा काम खोज्दै दार्जीलिङ गए । नाम्चेबाट हिंडेर दार्जीलिङ पुगेको बताउने कान्छा शेर्पालाई तेञ्जिङ नोर्गे शेर्पाले काम दिन्छ भनेर कसैले सुनाएका थिए । नाम्चेबाट बसाइँ सरेर गएका तेञ्जिङ दार्जीलिङमा परिचित थिए, त्यसैले सजिलै भेटे । कान्छाका पिता र तेञ्जिङको चिनजान रहेकोले कान्छालाई समस्या भएन । उनले तेञ्जिङको घरमा घाँस–दाउरा गर्ने लगायत काम पाए ।

दार्जीलिङमा तीन महिना घरेलु कामदारमा जागिर खाएपछि कान्छाले तेञ्जिङ सहितका आठ जना शेर्पाका साथ लागेर नेपालको यात्रा सुरु गरे । उनीहरूले रक्सौलसम्म रेल यात्रा गरे । त्यसपछि ३ दिन हिंडेर भक्तपुर आइपुगे । काठमाडौं उपत्यका आएपछि भक्तपुरमा क्याम्प खडा भयो ।

भक्तपुरमा एक साता बसेर सबै खाद्यान्न, हिमाल आरोहणका लागि आवश्यक भारी बोक्ने ४०० जना भरियाको व्यवस्था गर्ने काम कान्छा शेर्पाले नै गरेका थिए । उनी तेन्जिङ नोर्गे शेर्पासँग निकट तथा उनीकै घरमा काम गरेर आएकाले व्यवस्थापकीय भूमिकामा रहेर काम गरेका थिए ।

एक हप्ता भक्तपुर क्याम्पमा बस्दा न्यूजिल्याण्डबाट हिलारीसहित १५ जनाको टोली नेपाल आइपुग्यो । सगरमाथा चढ्नको लागि चाहिने सबै सामग्री हिलारीको टोलीले न्यूजिल्याण्डबाटै ल्याएका थिए । विमानस्थलबाट भक्तपुरमा रहेको क्याम्पमा ओसारेर एक हप्ता लगाएर भारी कसे । त्यसपछि सुरु भयो सगरमाथाको यात्रा ।

भक्तपुरबाट बनेपा, पाँचखाल, दोलालघाट हुँदै १६ दिनमा सगरमाथा आरोहण गर्ने टोली सोलुखुम्बुको नाम्चे पुग्यो । सयौं मान्छेको ताँती बाटोमा देख्दा मान्छेहरू अचम्म मानेर हेर्थे । कसैले किन हिंडेको भनेर सोध्दा कान्छा पनि नाजवाफ हुन्थे । यत्रो खर्च गरेर यति धेरै सामान लिएर किन हिंडेको होला भनेर कान्छा पनि अचम्मित हुन्थे तर तेञ्जिङ नोर्गे शेर्पालाई सोध्न सक्दैनथे ।

भारी बोक्ने ४०० जना भरिया । बीच बाटोमा खाद्यान्न घट्न थालेसँगै केही भरिया फर्किंदै थिए । अक्सिजन, कपडा, डोरी, आइसक, कराम्फम, रेडियो सञ्चारप्रविधि, क्लाइम्बिङ सूटहरू लगायत सामान घट्दैनथ्यो ।

त्योभन्दा कान्छा शेर्पालाई रोचक लागेको त पैसाको भारी थियो । नाम्चे पुगेपछि कान्छाले थाहा पाए, ४०० भारीमध्ये २५ भारी त पैसा मात्र रहेछ । नाम्चेमा पुगेपछि भरियाहरूलाई ज्याला बाँड्दा आधाजसो पैसा सकिएको कान्छा शेर्पा बताउँछन् । बाटोमा पैसा बोक्ने २५ भरिया कान्छासँगै हुन्थे, सरकारले पठाएका पाँच जना प्रहरी पनि उनीहरूसँगै थिए । तेञ्जिङले यी भारी ख्याल गर भन्दै कुर्न लगाउँथे । नाम्चे पुगेर भरियालाई ज्याला दिंदा मात्र २५ भारी त पैसा रहेछ भन्ने कान्छालाई थाहा भयो ।

नाम्चे बजारबाट सबै भरिया फर्काएपछि बाँकी भारी याकबाट ढुवानी भयो । त्यतिबेला सगरमाथा जाने बाटो कसैलाई थाहा थिएन । कान्छा शेर्पा नाम्चेमै जन्मिएका भए पनि यसबारे अनभिज्ञ नै थिए । त्यतिबेला सगरमाथालाई सगरमाथा र माउन्ट एभरेष्ट नभनेर चोमोलोङ्मा भन्ने गरिन्थ्यो । नाम मात्रै सुनेका नाम्चेका स्थानीयलाई बाटो थाहा हुने कुरै भएन ।

एक साता नाम्चे बसाइपछि २० जना हाई अल्टिच्युड पोर्टरका रूपमा गएका नेपाली र १५ जना आरोहण टोली नाम्चेबाट हिंड्न सहज हुने ठाउँको बाटो हुँदै तेङ्बोचे पुगे । तेङ्बोचेमा गुम्बा भए पनि मानव बस्ती थिएन । बाटो पहिचान गर्दै टोली अगाडि बढ्यो । पाङ्बोचेमा सानो बस्ती थियो । अहिले गोरक्सेपसम्म मानव बस्ती पुगिसकेको छ । तर त्यसबेला पाङ्बोचेभन्दा माथि कतै बस्ती नभएको कान्छा सम्झन्छन् ।

बाटो पहिल्याउन सहज थिएन । अन्दाजको भरमा बाटो पहिल्याउँदै सगरमाथाको आधारशिविर पुगेको उनले बताए । पाङ्बोचे, फेरिचे, लवुचे, गोरक्सेप हुँदै ६ दिन हिंड्दा सगरमाथाको आधारशिविर भएको स्थानमा सबै टोली पुगे । सम्म परेको ठाउँ भेटियो र त्यहीं शिविर बसाउने सल्लाह भयो । कान्छालगायत शेर्पाहरूले पाल टाँगेर बस्ने ठाउँ, खाना पकाउने भान्छादेखि चर्पी समेत बनाए । आधारशिविरमा दाउरा बालेर खाना पकाउँथे । पहिलो सगरमाथाको सफल आरोहण भएको त्यही ठाउँलाई अहिले पनि आधारशिविर मानिने गरेको कान्छा शेर्पाको भनाइ छ ।

अचम्मको कुरा, त्यस ताका सगरमाथा आधारशिविर आसपास हरियो घाँस पनि भएकाले भारी बोकाएर लगेका याकहरूले आधारशिविरमा चर्न पाएको सम्झन्छन् उनी । घाँसपात, जडीबुटी नहुनुको कारण अव्यवस्थित फोहोर र प्रदूषण भएको उनको बुझाइ छ । अहिले फेरिचेभन्दा माथि केही पनि उम्रिंदैन । बढ्दो फोहोर, जलवायु परिवर्तन र ग्ल्यासियरको कारण सगरमाथा कुरूप बनेकोमा कान्छा शेर्पा चिन्तित छन् ।

आधारशिविरबाट शेर्पाहरू बाटो खोज्दै अघि बढे । केही अगाडि गएपछि खर्पस देखियो जसलाई पार गर्न सकिएन । त्यतिबेला भर्‍याङको व्यवस्था थिएन । पर्‍यो फसाद । नाम्चे झरेर सल्लाका रूख काटेर लैजाने अनि साँघु र भर्‍याङ बनाउने सल्लाह भयो । कान्छा सहितको टोली नाम्चे आए । १० वटा सल्लाका रूख काटे । अनि स्थानीय शेर्पालाई बोकाएर आधारशिविर लगे । एउटा रूख दुई जनाले काँधमा बोकेर उकालो चढेको कान्छा सम्झन्छन् । खर्पसमा पुल र केही ठाउँमा भर्‍याङ बनाए । १० मध्ये ८ वटा रूखले काम टरेछ ।

विवश कुलुङ

उनीहरूले पहिलो शिविर ६ हजार ५० मिटर, दोस्रो ६ हजार ५०० मिटर, तेस्रो ७ हजार २०० मिटर र चौथो (दक्षिण पोल) ७ हजार ९०० मिटरमा स्थापना गरे । बाटो बनाउँदै कान्छा सहित तीन जना शेर्पा चौथो शिविरभन्दा माथि शिखर छेवैमा पुगेका थिए । कान्छासँगै शिखर छेउ पुग्नेमा दावा तेञ्जिङ शेर्पा र छोतरे शेर्पा थिए । उनीहरू चौथो शिविरभन्दा माथि ८ हजार ६९० मिटर (साउथ समिट)सम्म पुगेका थिए । साउथ समिटबाट शिखर नजिकै रहेकाले आरोहण गर्न सक्छु भन्ने आँट हुँदाहुँदै पोर्टर भएकाले रहर पूरा गर्न नपाएकोमा शेर्पालाई अहिले पनि थकथकी छ ।

एक दिन शिखर चुम्छु भन्ने सोच हुँदाहुँदै हिमालमा काम गर्न छाडेको उनी बताउँछन् । कान्छाले सन् १९७३ सम्म हिमालमै काम गरे । यही क्रममा सन् १९७३ मा एकैदिन हिमपहिरोमा परेर ८ जनाको मृत्यु भएको देखेपछि उनले हिमालमा काम गर्न छाडे ।

मे २८ को साँझपख तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारी चौथो शिविरमा थिए । उनीहरूको लागि पाल टाँगेर सुत्ने ठाउँ कान्छाको समूहले बनाएको थियो । केही खाना, अक्सिजन लगायत बन्दोबस्तका सामान सबै पुर्‍याइएका थिए । सबै व्यवस्था मिलाएर कान्छा र साथीहरू दोस्रो शिविरमा झरे । मे २९ गतेको दिन बिहानै सगरमाथाको शिखर चुम्न गएका २ जनाले दिउँसोको १ बजे शिखर चुमेको कान्छा शेर्पाले दोस्रो शिविरमै थाहा पाए ।

वाकीटकी मार्फत आफूले थाहा पाएपछि सबै सदस्यहरू खुसी भएको उनी गर्वका साथ स्मरण गर्छन् । ‘त्यसबेला कति खुशी भयौं कति, म भन्नै सक्दिनँ, न्यूजिल्याण्डका मान्छेले त हामीलाई अँगालो मारे, किस गरे’ उनले भने, ‘हामीलाई त्यस्तो थाहा थिएन, हामी चाहिं शेर्पा भाषामा गीत गाउँदै हिउँमाथि नै नाच्यौं । दुई घण्टापछि हिलारी र तेञ्जिङ आइपुगे र सबैलाई धन्यवाद दिए ।’

कान्छालाई तीन महिनाका लागि दैनिक आठ रुपैयाँ तलब तोकिएको थियो । त्यसअघि नुन बोक्दा तीन दिनमा पाँच रुपैयाँ पाउने कान्छाका लागि त्यो निकै धेरै थियो । ४५ दिनमै काम सकिए पनि पूरै तीन महिनाको तलब पाए । ९० दिनको तलबबापतको सिक्काभन्दा बक्सिस दिएको सिक्का दोब्बर रहेछ । सगरमाथा चढ्न थालेपछि खुम्बुको जीवनस्तर एकाएक सुधार भएको कान्छा शेर्पा सुनाउँछन् । तर सगरमाथामा बढेको फोहोर र हिउँ पग्लने जस्ता समस्याबाट उनको चिन्ता बढेको छ ।

हिमालमा काम गर्न छाडेको ५० वर्ष भइसके पनि कान्छा शेर्पा फाउण्डेशन मार्फत समाजसेवामा सक्रिय छन् । अहिले सोलुखुम्बु र काठमाडौंका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत बालबालिकालाई सहयोग गरिरहेका उनका २ छोरा र २ छोरी छन् । अहिले शेर्पा नाम्चेमै बस्छन् भने जाडो छल्न ४ महिना जति काठमाडौं झर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?