+
+

सामाजिक सञ्जालमा भाइरल तस्वीरबारे ओलीको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १७:१८

१७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएकामा आपत्ति जनाएका छन् ।

औंठी लगाउने रुचि समेत नभएको मान्छेलाई जिउभरि सुनैसुनले ढाकेको फोटो बनाएर झुटको खेती गरेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश गरेका कलाकारहरुलाई स्वागत गर्दै अध्यक्ष ओलीले आफूले आमा बितेपछि आमाको औंठी ४ दिनसम्म लगाएको र एउटा साथीले दिएको औंठी एक दिन लगाउनुबाहेक सुनको गहना नलगाएको स्पष्टीकरण दिए ।

ओलीले ट्रोल गरिएको उक्त तस्वीरबारे के भने ?

‘केपी ओलीको फोटोमा हातभरि सुनैसुनका, यता पनि सुनैसुनका बोकिनसक्नु । त्यति सुन म बोक्न पनि सक्दिन होला । तर मेरो शरीरमा सुन भन्ने कुरा, मैले जिन्दगीमा औैठी लगाएको छैन । म सानो हुँदा मेरो आमा बित्नुभएको । आमाले लगाउने गर्नुभएको औंठी यो तैँले लगा भनेर सानो छँदैखेरि एकपल्ट लगाइदिएका थिए । ३÷४ दिन मैले लगाएँ ।

आमाले कान्छी औंलातिर लगाएको औंठी मैले बीचको औंलातिर लगाउँदाखेरि, पुरुषको औंला अलि ठूलो हुन्छ नि । अलि सानै हुँदा बीचको औंलातिर मिल्थ्यो । त्यो औंठीले मलाई बडो डिस्टर्व गर्‍यो । त्यो औंठी भएपछि आमा पटकपटक सम्झने । त्यो भएर म अलि बढी हडबडी भइरहने, आमाको सम्झनाले गर्दाखेरि त्यस्तो भयो । मैले त्यसलाई लगाउन सकिन । मैले फुकालेर मबाट हुँदैन, यो अरुलाई नै लैजाऊ भने, म लगाउन्न भनेँ ।

त्यसपछि फेरि एक दिन एउटा साथीलाई के झोँक चलेछ, एउटा औंठी ल्याएर मलाई दिए । हिरा थियो कि अर्थोक थियो त्यो मलाई याद छैन । उनले मलाई बडो माया गरेर तपाई कहिल्यै पैसा पनि बोकेर हिँडनुहुन्न, खर्च पनि हुँदैन । कहीँ केही परिहाल्यो, भोक लाग्यो भने यो लगेर खाएर पछि तिर्न पनि पाइन्छ । नचिनेका ठाउँमा पनि यो त चल्छ नि । यो एउटा लगाइराख्नुस भने । मैले सुनमा मेरो रुचि छैन भनेँ । तैपनि लगाई राख्नुस् न एउटा भन्यो । त्यो दिनभरि लगाएँ । बेलुका घरमा फुकालेर राखेँ । त्यसपछि त्यो कसले लग्यो मलाई याद भएन ।

यसरी मैले आमाको औंठी सानो हुँदा ४ दिन जति लगाएँ होला । साथीले दिएको औंठी दिएको बेलादेखि बेलुका घर नपुग्दासम्म लगाएँ । त्यसबाहेक मैले औंठी पनि लगाएको छैन, लगाउदिन । जसले औंठी पनि लगाउँदैन र मेरो रुचि औठीसौंठीमा होइन ।

म सानो छँदाखेरि कान छेडेर मुन्द्रा लगाइदिएएका थिए । त्यो मुन्द्रा अलि ठूलो भएपछि खोलियो । केटीको भएको भए खोलिदैन थियो होला । केटाको भएको हुनाले खोलियो । त्यसपछि त्यो पनि गयो । अब अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएको छ । मतलव यति साह्रो झुट नि, मान्छेले यत्रो मेहनत गरेर, एउटा चिजलाई अर्को ठाउँमा लगेर कस्तो घटिया कुरा होला । सत्य पो उजागर गर्ने त । आफ्नो क्षमता त सत्य सम्प्रेषण, सत्य ऊजागर गराउन प्रयोग गर्ने कि झुट फैलाउनका लागि ?

सत्य छोप्न, भ्रम फैलाउन आफूसँग ज्ञान, कला, क्षमता प्रयोग गर्ने तहमा हामी नेपालीहरु नै पुग्नु भनेको…। हाम्रो पुर्खा साँचो बोल, प्रिय बोल, मिठो बोल भन्थे । अरुलाई दुःख दिएर रमाउने, अनुहारमा मुस्कान हेर्न नखोज्ने, आँखामा आँशु हेरेर, अनुहारमा पीडा र बेदना खोज्ने । सत्य स्थापित गराउन नखोज्ने, सत्यसँग दुश्मनी गर्ने । इमानमा अड्न नखोज्ने, इमानसँग बैरभाव गर्ने । यस खालको प्रवृत्ति बढदो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?