+
+

क्यान्सर जितेकी प्रमिलाको अनुभव : उपचारपछि सन्तान सम्भव छ

क्यान्सर निको भएको चार वर्षपछि पहिले जोसँग विवाह हुने कुरा भएको थियो, उही व्यक्तिसँग प्रमिलाको विवाह भयो । क्यान्सरको समस्याबाट गुज्रिएको व्यक्तिलाई नै आफ्नो श्रीमती बनाउँछु भन्ने हिम्मत उनले राखे ।

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० जेठ १८ गते १२:५५

काठमाडौं । काभ्रेकी २८ वर्षीया प्रमिला केसी पढाइ सकाएर आफ्नो करिअरतिर अघि बढ्दै थिइन् । उनलाई पर्यटनतिर रुचि थियो, त्यसैले महिला टुरिस्ट गाइडको रूपमा उनले काम  गरिन् । पुरुषको तुलनामा महिला टुरिस्ट गाइड निकै कम भएकाले यो क्षेत्रमा केही गर्नुपर्छ भनेर उनी अघि बढ्दै थिइन् ।

टुरिस्टहरूलाई लिएर उनी भक्तपुर घुम्दै थिइन् । त्यसै क्रममा उनलाई एक्कासि कोखा दुख्यो । त्यसलाई उनले सामान्य रूपमा लिइन् । त्यसपछि उनको महिनावारी गडबड हुन थाल्यो, कोखा एकदमै दुख्ने, महिनावारीको बीचमा रगत देखा पर्ने लगायतका लक्षण देखियो । यस्ता लक्षण देखा परेपछि उनी जँचाउन चावहिलस्थित हेल्पिङ ह्याण्ड्स हस्पिटल गइन् । त्यहाँ जाँच गर्दा अण्डाशयमा ट्युमर छ भनेर पत्ता पनि लाग्यो । महिनावारी गडबडी भएको हुनाले महिनावारी समयमा हुने औषधि खाइन् ।

सानोतिनो ट्युमर होला शल्यक्रिया गरेर निको भइहाल्छ नि भन्ने सोचेर उनी आफ्नो काममा व्यस्त भइन् । केही ठूलै समस्या पो हो कि भनेर जँचाउनुपर्छ भन्ने नै लागेन उनलाई ।

दशैंको समय थियो । ट्रेकिङकै क्रममा उनी अन्नपूर्ण बेस क्याप जाने बिन्दु बिरेठान्ती भन्ने ठाउँमा पुगेकी थिइन् । उनी विदेशी पहुनासँग बिरेठान्तीको एउटा लजमा बसेका थिए । पानी परिरहेको थियो, एक्कासि उनलाई एकदमै धेरै कोखा दुख्यो । दशैंको समय भएकाले अस्पताल, मेडिकल सबै बन्द थियो । गेस्टलाई छोडेर काठमाडौँ फर्किने अवस्था पनि थिएन । त्यसैले तीन दिनसम्म तातो पानी र पेनकिलर खाएर, पीडा सहेर बसिन् ।

काठमाडौं फर्किंदा अलि कम भएको थियो, त्यसैले फेरि उनी जँचाउन गइनन् । केही समय पछि फेरि कोखा दुखेपछि पत्थरी पो भयो कि भनेर जँचाउन ओम हस्पिटल पुगिन् । अस्पतालमा पुगेर भिडियो एक्सरे गरिसकेपछि डाक्टरले रिपोर्ट हेरेर भने, ‘एकथरी रोग पालेर बस्नुभएको रहेछ, जँचाउन अर्को ठाउँमा आउनुभयो ।’ त्यसो भनेर डाक्टरले स्त्री तथा प्रसूतिरोग विशेषज्ञकहाँ पठाउनुभयो ।

त्यहाँ डाक्टरले ‘अण्डाशयमा ट्युमर रहेछ ठूलै भइसकेछ । शल्यक्रिया गरेर नै फाल्नुपर्छ’ भनेर सल्लाह दिए । तर डाक्टरले सल्लाह दिएको तीन महिनापछि मात्र उनले ट्युमरको शल्यक्रिया गरिन् । त्यो कस्तो ट्युमर हो भनेर पत्ता लगाउन रगत जाँच, भिडियो एक्सरे, सिटी स्क्यान ‘सीए १२५’  लगायत जाँच गरेर हेरिएको थियो, बायोप्सी चाहिं गरिएन ।

त्यो सबको रिपोर्ट दुई हप्तामै आइसकेको थियो । तर गाउँ गएर एक महिना पछाडि मात्र उनी  रिपोर्ट लिन पुगिन् । रिपोर्ट लिएर डाक्टरलाई भेट्न जाँदा डाक्टरले क्यान्सर विशेषज्ञ डा. सुदीप श्रेष्ठलाई भेट्न पठाए ।

क्यान्सर डाक्टरलाई भेट्न पठाउँदा नै केही नराम्रो छ भन्ने उनको मनमा लागिसकेको थियो । किनकि डा. श्रेष्ठले नै प्रमिलाकी हजुरआमाको पेटको क्यान्सरको उपचार गर्दै थिए ।

डा. श्रेष्ठलाई भेटेर उनले रिपोर्ट देखाइन् । रिपोर्ट हेरेर डाक्टरले भने छिटोभन्दा छिटो तिम्रो किमो सुरु गर्नुपर्छ । डाक्टरको कुरा सुनेर उनलाई छाँगाबाट खसेजस्तै भयो । किमो त क्यान्सरको उपचार हो । उनलाई पत्यार लागिरहेको थिएन ।

क्यान्सर जितेका साथीहरुसँग प्रमिला

उनी डाक्टरलाई भेट्न एक्लै गएकी थिइन् । आफूलाई क्यान्सर भएको कुरा साबित भएपछि उनी खुब रोइन् । अस्पतालको तल्लो तल्लामा उनी डाक्टरलाई भेट्दै थिइन् । माथिल्लो तल्लामा हजुरआमाको क्यान्सरकै उपचार हुँदै थियो ।

डाक्टरलाई आफ्नो रिपोर्ट देखाएर उनलाई हजुरआमाको लागि रगत लिन जानुपर्ने थियो । त्यो क्षणमा उनीसँग कोही थिएनन् । उनले आफूले आफूलाई सम्हालिन् र बुबालाई सुनाइन् । भोलिपल्ट बुबा अस्पताल आएर डाक्टरसँग सल्लाह गरे । तीन-चार दिनपछि नै किमो सुरु गर्नुपर्ने डाक्टरले सल्लाह दिए ।

किमो सुरु भएपछि उनको शरीरमा परिवर्तन देखिन थाल्यो । शरीर कमजोर हुँदै गयो, खाना रुच्न छाड्यो, कपाल झर्‍यो । उपचार त भइरहेको थियो, तर उपचारसँगै उनलाई एउटा चिन्ताले पिरोलिरहेको थियो ।

‘मेरो विवाह भएको छैन, विवाहपछि मैले बच्चा जन्माउन सक्छु कि सक्दिनँ ?’ उनले यो कुरा डाक्टरलाई पनि सोधिन् । उनको यो प्रश्नमा डाक्टरले भने, ‘पहिले आफू ठीक हुनुपर्‍यो त्यसपछि अरू कुरा आउँछ ।’

‘शल्यक्रिया गर्ने बेलामा पनि मैले गाइनोको डाक्टरलाई सोधेको थिएँ । मेरो एउटा ओभरी निकालेपछि मेरो विवाहपछि बच्चा हुन्छ कि हुँदैन भनेर,’ प्रमिला सुनाउँछिन् ।

ट्युमरको उपचार भएर राम्ररी निको हुन चार-पाँच महिना लाग्ला, त्यसपछि विवाह गर्नुपर्छ भन्ने योजना बन्दै थियो । जीवनको एउटा अध्याय सुरु गर्ने सोच बनाइरहेको बेला जीवनको अध्याय अर्कोतिर मोडियो । ‘म त अरू सामान्य व्यक्तिजस्तो भइनँ भन्ने लग्यो,’ प्रमिला भन्छिन्, ‘चार पटक किमो र पाँच महिनाको उपचार चल्यो । तर अब म आमा बन्न सक्छु कि सक्दिन भन्ने प्रश्न भने मनमा रहिनै रह्यो ।’ उनलाई पूरै निको हुन एक वर्ष लाग्यो ।

क्यान्सरको उपचारपछि सन्तान सम्भव छ

क्यान्सर निको भएको चार वर्षपछि पहिले जोसँग विवाह हुने कुरा भएको थियो, उही व्यक्तिसँग प्रमिलाको विवाह भयो । क्यान्सरको समस्याबाट गुज्रिएको व्यक्तिलाई नै आफ्नो श्रीमती बनाउँछु भन्ने हिम्मत उनले राखे ।

‘मेरो शरीरमा भएको क्यान्सरको उपचार डाक्टरले गर्नुभयो । तर क्यान्सर लागेको मान्छेलाई कसले विवाह गर्छ र ? भन्ने समाजको सोचको उपचार भने मलाई विवाह गरेर मेरो श्रीमानले गर्नुभयो,’ प्रमिला सुनाउँछिन् ।

‘सबैजना म जति भाग्यमानी पनि हुँदैनन् । हाम्रो समाजमा कतिपय अवस्थामा वैवाहिक जीवनमा बाँधिसकेपछि महिलालाई क्यान्सर भयो भने श्रीमतीको जीवन अब सकियो, कहिले मर्छिन् र म अर्को विवाह गर्छु भन्ने सोच राख्ने पुरुषहरू पनि छन्,’ उनी भन्छिन् ।

पतिसँग प्रमिला

विवाह त भयो । विवाहपछि बच्चा हुन्छ कि हुँदैन भन्ने चिन्ता त थियो नै, सबै कुरा भए पनि बच्चाबिना म पूर्ण हुँदिन भन्ने प्रमिलालाई लागिरहन्थ्यो । मेरो बच्चा नहुनुको कारण क्यान्सर हुनुहुँदैन भन्ने पनि थियो उनलाई । साथै ओभरीको क्यान्सर भएकाले गर्दा झन् समस्या हुन्छ कि भन्ने चिन्ता थियो ।

उनको एउटा ओभरीमा मात्र क्यान्सर भएको थियो । अर्को ओभरीमा समस्या नभएकाले र म बच्चा जन्माउन सक्छु भन्ने आत्मबलले गर्दा बच्चाको लागि सल्लाह गर्न उनले डाक्टरसँग भेटिन् । डाक्टर र श्रीमानको साथ र आफ्नो आत्मबलले गर्दा उनले विवाह भएको तीन वर्षपछि छोरीलाई जन्म दिइन् । अहिले छोरी तीन वर्षको भइसकेकी छन् ।

आत्मबल पनि औषधि

क्यान्सर देखापर्ने बित्तिकै अब जीवन सकियो भन्ने सोच धेरैको हुन्छ । शरीरमा रोग लागिरहँदा मेरो सपनाहरू मर्दै छ भन्ने सोच पनि आउँछ । उनलाई पनि त्यस्तै भएको थियो  । तर त्यो सपनाको लागि म बाँच्नुपर्छ, क्यान्सरलाई जितेर म अघि बढ्नुपर्छ भन्ने सोच  राख्दै आत्मबललाई बलियो बनायो भने क्यान्सरलाई जित्न सकिने प्रमिला बताउँछिन् ।

उपचारको क्रममा घण्टौं अस्पतालको बेडमा बस्दा उनलाई असाध्यै पीडा हुन्थ्यो । तर त्यो पीडाबाट बाहिर निस्कन उनको आत्मबलले एकदमै ठूलो काम गर्‍यो । ‘उपचारको क्रममा सधैं यो समय पनि बितेर जान्छ, सधैं समय एउटै रहँदैन भनेर सोच्ने गर्थें,’ प्रमिला सुनाउँछिन् ।

क्यान्सरमा डाक्टरको उपचारले ५० प्रतिशत काम गर्ने, २५ प्रतिशत समाज र परिवारको  साथ र सहयोगले र २५ प्रतिशत आफ्नो आत्मबलले काम गर्ने उनी बताउँछन् ।

प्रमिला भन्छिन्, ‘विवाहअघि क्यान्सर भएको वा विवाहपछि बच्चा नहुँदै क्यान्सर भएका महिलालाई मेरो उपचार भएपछि सन्तान हुन्छ कि हुँदैन होला भन्ने चिन्ता हुन्छ । क्यान्सरको सफल उपचारपछि बच्चा हुन्छ भन्ने म एउटा उदाहरण हुँ ।’

सचेतना जरुरी

आफू क्यान्सरको अवस्थासम्म पुग्नुमा आफ्नै लापरबाही कारण रहेको प्रमिलालाई लाग्छ । शरीरले त उनलाई बारम्बार लक्षणहरू दिइरहेको थियो तर उनी गम्भीर भएर जँचाउन नगएकाले क्यान्सरजस्तो रोगबाट गुज्रिनुपर्‍यो ।

‘मजस्तो पढेलेखेको मान्छे, सहरमा बसेको मान्छे पनि समयमा जँचाउन गइनँ भने अरुमा पनि त्यही समस्या होला भन्ने लाग्यो । यदि मैले स्कुल-कलेजमा क्यान्सरको बारेमा, क्यान्सरको लक्षणको बारेमा थाहा पाएको भए, त्यो कुरा सम्झिएर म चाँडै अस्पताल जान्थें होला,’ उनी भन्छिन् ।

अस्पतालमा उपचाररत हुँदै उनले प्रण गरेकी थिइन्, क्यान्सरका बिरामीको लागि केही गर्ने । उपचार सकेर फलोअपमा जाने क्रममा हाल नेपाल क्यान्सर सर्भाइभर सोसाइटीकी अध्यक्ष प्रमिता खनालसँग भेट भयो । ‘उहाँसँग र अन्य केही साथी मिलेर नेपाल क्यान्सर सर्भाइभर सोसाइटी संस्था दर्ता गरायौं,’ उनी भन्छिन्, ‘त्यही संस्थामार्फत अहिले क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम र क्यान्सरको बिरामीलाई काउन्सलिङको काम गर्दैछौं ।’

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?